१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाशिवरात्रिमा गौशाला क्षेत्रमा यसरी गरिँदै छ ट्राफिक व्यवस्थापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन सहज पारिएको जनाएको छ। महाशाखाले ट्राफिक व्यवस्थापन योजनाबमोजिम ट्राफिक सहजीकरण गरेको हो।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले वैकल्पिक सडक प्रयोगसँगै सवारी व्यवस्थापन गरिएको बताए। उनका अनुसार दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ व्यवस्था गरिएको छ। यस क्षेत्रमा अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ।

भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने एसएसपी जोशीले बताए। उनका अनुसार दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सञ्चालन गरिनेछ। भक्तजनहरूका सवारीसाधनहरूलाई सिफलचौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाइएको छ।

यसैगरी, पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारीसाधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासबाहक सरकारी सवारीसाधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफलचौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ। 

तिनकुनेबाट सिनामंगल र तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरीघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारीसाधनहरूलाई सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइएको छ। शिवरात्रि अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन करिब नौ सय ट्राफिक प्रहरी परिचालन गरिने महाशाखाले जनाएको छ। पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक यस क्षेत्र हुँदै अन्यत्र जाने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ।

तस्बिर स्रोत : महानगरीय ट्राफिक प्रहरी महाशाखा