१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूपू गोर्खा  सैनिकलाई न्याय दिलाउँछु  : राजदूत आचार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका फातिमा बानु
२o८१ बैशाख २३ आइतबार १६:२३:oo

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा भूपू सैनिकमाथि वर्षौँदेखि हुँदै आइरहेको अन्याय र असमानता अन्त्य गर्ने बताएका छन्। आइतबार बेलायतस्थित अल्डसर्टमा आयोजित एक कार्यक्रममा राजदूत आचार्यले यस्तो बताएका हुन्।

गैरआवासीय नेपाली संघ युकेको आयोजनामा भएको कार्यक्रममा उनले गोर्खा भूपू सैनिकको विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। ‘भूपू गोर्खा ब्रिटिसको पेन्सन, क्षतिपूर्ति र कल्याणकारीमाथि हुँदै आइरहेको असमानता हटाउन पहल गर्छु,’ उनले भने, ‘यसबारे मैले अध्ययन गरिसकेको छु,यो विषयमा नेपाल र बेलायत दुवै सरकारसँग छलफल गरेर चाँडै नै समस्या समाधान गर्ने कोसिस गर्छु।’ नेपाल र बेलायतको  ऐतिहासिक सम्बन्ध  वर्तमान परिस्थितमा अपेक्षित नभएको भन्दै उनले यो सम्बन्ध सुढृड बनाउन दत्तचित्त भएर लाग्ने बताए। 

‘नेपाल र बेलायतको राजनीतिक, कूटनीतिक, सामाजिक, व्यापार र पर्यटकीय सम्बन्धसमेत विस्तार गर्ने योजनासहित सरकारले मलाई पठाएको छ,’ उनले भने, ‘भइरहेको सम्बन्ध अझै गहिरो र सार्थक बनाउनमा जोड दिनेछु ।’ नेपालको आर्थिक रूपान्तरणका लागि बेलायत सरकारसँग गर्नुपर्ने सम्पूर्ण पहल गर्ने बेलायतवासी नेपाली समुदायसमक्ष उनले प्रतिबद्धता जनाएका छन्।

भूपू गोर्खा सैनिकको हकअधिकारका लागि लामो समयदेखि आन्दोलन हुँदै आए पनि कुनै राजदूतले यो समस्या समाधान गर्न नसकेको गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले बताए। ‘नेपाल र बेलायतको दुई सय सात वर्ष पुरानो सम्बन्ध रहिरहँदा ८८ वर्षमा २२ राजदूत फेरिए, तर भूपू गोर्खा सैनिकमाथि हुँदै आइरहेको असमानता फेरिएन,’ उनले भने, ‘कूटनीतिक सम्बन्ध बुझेका नयाँ राजदूतबाट हामीले न्यायको आशा गरेका छौँ।’ 

बेलायतले नेपालका १० हजार नर्सलाई रोजगारी दिने भनिएको योजना कार्यान्वयन गर्नसमेत उनले  राजदूत आचार्यसमक्ष आग्रह गरे।

सय वर्षदेखि बेलायत सरकारले गोर्खा भूपू सैनिकमाथि  अन्याय–अत्याचार गरेको यस विषयमा नेपाल सरकारले समेत चासो नदिएको गोर्खा अभियन्ता धनबहादुर गुरुङले  बताए। ‘न्याय माग्न हामी सडक, सदन र अदालतसम्म धायौँ,आमरण अनशन बस्यौँ,’ उनले भने, ‘कहीँ–कतैबाट हामी गोर्खालीले न्याय पाएनौँ, बेलायत र नेपाल दुवैले हामीलाई हेपिरहेका छन्।’ नयाँ राजदूतबाट पनि यो समस्या पहल नभए आफूहरू फेरि भोकहडताल आन्दोलनमा उत्रिने गुरुङले चेतावनी दिए।

 

ad
ad