
नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा मोहम्मद महताव आलमले कारागारबाटै उम्मेदवारी दिने भएका छन्। महतावले कांग्रेस रौतहट जिल्ला सभापतिका उम्मेदवार हृदयनारायण यादवको प्यानलबाट उपसभापतिको उम्मेदवारी दिन लागेका हुन्। उनी पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ हुन्।
१३औँ जिल्ला अधिवेशनमा सभापतिको दाबेदार रहेका महतावले १४औँ महाधिवेसनमा जेलबाटै उपसभापतिमा उम्मेदवारी दिन लागेका हुन्। कांग्रेसको १४औँ जिल्ला अधिवेशन यही फागुन २० गते हुने भएको छ।
महताव पुर्पक्षका लागि जिल्ला कारागार गौरमा थुनामा छन्। ०६४ चैत २७ मा रौतहटमा भएको बम विस्फाेटको घटनाका आरोपी उनी फरार थिए । पछि उनलाई भारतीय प्रहरीको समन्वयमा मोतीहारीबाट पक्राउ गरिएको थियो। घटनाका मुख्य योजनाकार भनिएका कांग्रेस सांसद तथा पूर्वमन्त्री आफताव पुर्पक्षका लागि नख्खु कारागारमा छन्।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विस्फाेटका घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफतावका दाजुभाइको समूहले इँटाभट्टामा जिउँदै जलाएको आरोप छ।