मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण १३ शुक्रबार १६:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले आगामी निर्वाचन एक्लै लड्छ : अध्यक्ष ओली 

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण १३ शुक्रबार १६:४५:००

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले पाँचदलीय गठबन्धनसँग नै आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिस्पर्धा गर्न चाहेको बताएका छन् । शुक्रबार पोखरामा एमालेले आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने क्रममा मञ्चबाटै मोबाइलमा सत्तागठबन्धन जोगिने र एमसिसी पास गर्ने समाचार आएको जानकारी गराइएसँगै ओलीले थप आक्रोशित हुँदै  भने, ‘सिंगल–सिंगल भन्छन् नि,  त्यो होइन, सामूहिक रूपमै आउन् हामीसँग लड्न । यहाँ साथीहरूले गठबन्धन जोगाउने र एमसिसी पास गर्ने निर्णय भएको समाचार भर्खर देखाउनुभयो । यसै गर्छन् भन्ने मलाई थाहा थियो । मैले चाहेको पनि त्यही हो । उनीहरू मिलुन् । नत्र धुलोपिठो हुन्छन् । उनीहरूको ताकत नै छैन हामीसँग सिंगल–सिंगल लड्ने, के गरून् ?’ सम्बोधनका क्रममा अधिकांश समय गठबन्धन र त्यसमा पनि माओवादीतर्फ आक्रोश पोखेका उनले ‘धक्का, क्रमभंग, महाविपत्ति, छलाङ के–के भन्छन् । दुईतिहाइको कम्युनिस्ट सरकार ढालेर, त्यही ढंगको विशाल पार्टी ढालेर, प्रतिक्रियावादीको नेतृत्वमा सरकार बनाउने अनि त्यही हो क्रमभंग र छलाङ ? भन्दै प्रश्न गरे । 

अध्यक्ष ओलीले वैशाख ३० गते गठबन्धन सात बल्ड्याङ खाने ठोकुवा गरे । कुनै एजेन्डासमेत नभएका दलहरूले निर्वाचन नजित्ने र आफ्नो पार्टीलाई मत दिन जनता आतुर रहेको उनको ठोकुवा थियो । 

‘सरकारको सयदिने उपलब्धिको बुकलेटमा ‘बुच्चे’ नक्सा राखियो’
पूर्वप्रधानमन्त्री ओलीले सरकारले निकालेको सयदिने उपलब्धि उल्लेख गरिएको बुकलेटमा नेपालको चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको बताए । ‘गठबन्धन सरकारले देखाएको सयदिने उपलब्धिमा चुच्चे नक्सा राखिएन । बिर्सेर नराखिएको भए गुमेको भूमि समावेश गरेर निकालिएको नक्सा बिर्सनेले राष्ट्रियतालाई कसरी सम्झन्छन् र राष्ट्रवादी हुन्छन् । सम्झी–सम्झी नराखेका हुन् भने योभन्दा ठूलो अपराध के हुन्छ,’ उनले भने ।  
 
ओलीको प्रश्न– झलनाथ हिँड्दा ताली र म हिँड्दा ढुंगा किन ?

अध्यक्ष ओलीले सरकारमा बस्नेहरूले कार्यकर्तालाई सडकमा भौतिक संरचना भत्काउन र ढुंगा हान्न लगाएको आरोप लगाए । उनले एमसिसी भित्र्याउनका लागि विभिन्न कालखण्डमा भूमिका खेलेका प्रदर्शनकारीहरूले हाइहाई गर्ने गरेको, तर आफूप्रति आक्रोश पोख्ने गरिएको टिप्पणी गरे । ‘एमसिसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन्,’ उनले भने, ‘एमसिसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसिसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबुल गरेका छन् सभामुखले, उनलाई ढुंगा हानिँदैन ।’ एमसिसी कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारका वेला कृष्णबहादुर महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै अध्यक्ष ओलीले भने, ‘ती सम्झौता गर्नेहरूलाई कसैले हेर्दैनन्, म बाटोबाट हिँड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’

जसपाका प्रदेश इन्चार्ज गुरुङ एमाले प्रवेश
जनता समाजवादीका गण्डकी प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य गणेशमान गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार एमालेले आयोजना गरेको पार्टी प्रवेश एवं कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनलाई पार्टी अध्यक्ष केपी ओलीले एमालेमा प्रवेश गराएका हुन् । 

एमालेमा प्रवेश गरेका गुरुङ पहिलो संविधानसभा विघटन भएपछि १४ जेठ ०६९ सालमा एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै एमालेबाट विद्रोह गरेर बनेको पार्टी संघीय समाजवादीमा लागेका थिए ।