१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
जनार्दन बराल काठमाडाैं
अजित अधिकारी काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:o२:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

युक्रेनमाथि रुसको आक्रमणले अल्पकालमा मूल्यवृद्धि र वित्तीय संकट, दीर्घकालमा विश्व अर्थ व्यवस्थामै विभाजनको खतरा

Read Time : > 4 मिनेट
जनार्दन बराल, काठमाडाैं
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:o२:oo
  • रुसको हमलापछि विश्वभरको सेयर बजार घटेको छ भने तेलको मूल्य अकासिएको छ । बिहीबार रुसको सेयर बजार मस्को स्टक एक्सचेन्जमा सबैभन्दा बढी ६० प्रतिशत, अमेरिकाको सेयर सूचक एसएन्डपी फाइभ हन्ड्रेड १ दशमलव ७ प्रतिशत र डाउजोन्स इन्डस्ट्रियल एभरेज २ दशमलव १ प्रतिशतले घटेको छ ।
  • रुस युरोपको सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता तथा संसारकै ठूलोमध्येको तेल उत्पादक राष्ट्र पनि हो । यसका साथै निकेल आल्मुनियम, पालाडियमलगायत धातुहरूको मुख्य आपूर्तिकर्ता हो । यी वस्तुको मूल्य विगतदेखि नै बढिरहेको छ र भविष्यमा झनै धेरै बढ्ने आकलन गरिएको छ ।
  • यसले दीर्घकालमा विश्व अर्थतन्त्रलाई पुनः दुई ब्लकमा विभाजन गर्ने जोखिम पनि छ । द इकोनोमिस्ट भन्छ— आउने केही दशकमा विश्व अर्थतन्त्रको सञ्चालनको नियमलाई नै बदलिन सक्छ ।

रुसले युक्रेनमाथि भयानक हमला गरेपछि त्यसले विश्वको अर्थतन्त्र तरंगित भएको छ । यो हमलाले अल्पकालमा संसारभर नै मूल्यवृद्धि हुने, आर्थिक वृद्धि कम हुने तथा वित्तीय प्रणालीमा संकटको सामना गर्नुपर्ने देखिएको छ । त्यस्तै, दीर्घकालमा विश्वको अर्थ प्रणाली नै दुई ध्रुवमा विभाजन हुन सक्ने आकलन अर्थशास्त्रीहरूले गरेका छन् ।

रुस विश्वको ११औँ ठूलो अर्थतन्त्र हुनुका साथै सबैभन्दा ठूलोमध्येको वस्तु उत्पादक मुलुक पनि हो । रुसको कदमपछि पश्चिमा मुलुकहरूले उसलाई तत्काल नाकाबन्दी लगाउन सुरु गरेका छन् । नाकाबन्दीको स्तर थप कडा पार्दै जाने निश्चित छ । जसले संसारभर मूल्यवृद्धि हुने, आर्थिक वृद्धि कम हुने तथा वित्तीय बजार नराम्रोसँग प्रभावित हुने आकलन अर्थशास्त्रीहरूले गरेका छन् । यसले दीर्घकालमा विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुनेछ ।

रुसको हमला थालेपछि विश्वभरको सेयर बजार घटेको छ भने तेलको मूल्य अकासिएको छ । बिहीबार रुसको सेयर बजार मस्को स्टक एक्सचेन्जमा सबैभन्दा बढी ६० प्रतिशतसम्मले गिरावट आएको थियो । अमेरिकाको सेयर सूचक एसएन्डपी फाइभ हन्ड्रेड १ दशमलव ७ प्रतिशतले घटेको छ भने डाउजोन्स इन्डस्ट्रियल एभरेज २ दशमलव १ प्रतिशतले घटेको छ । स्टक्स सिक्स हन्ड्रेड सूचक ३ दशमलव २ प्रतिशतले घटेको छ । ‘लगानीकर्ताको अपेक्षाविपरीत रुसले युक्रेनमाथि ठूलो मात्रामा हमला गरेको छ, जसले उनीहरूले नकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन्,’ ट्रइस्ट एडभाइजरी सर्भिसेजका प्रमुख बजार रणनीतिकार केइथ लर्नरले भने । 

कच्चा तेलतर्फ ब्रेन्ट क्रुडको मूल्य एकै दिन १० डलरले बढेर प्रतिब्यारेल एक सय पाँच डलरसम्म पुगेको छ भने वेस्ट टेक्सार इन्टरमेडियट (डब्लुटिआई)को मूल्य प्रतिब्यारेल एक सय डलर नाघेको छ । रुसको आक्रमणपछि अमेरिकी डलर र जापानी येनको मूल्य उच्च रूपमा बढेको छ भने युरो तथा वस्तुसँग जोडिएका मुद्राको मूल्य भने घटेको छ । अमेरिकी डलरको तुलनामा रुसी रुबलको मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको थियो । पछि त्यो बिस्तारै रिकभर हुँदै छ । क्रिप्टोकरेन्सीको मूल्य पनि घटेको छ । बिटक्वाइनको मूल्य ३४ हजार डलरसम्म पुग्यो भने इथेरियमको मूल्य २७ सयबाट २३ सय अमेरिकी डलरसम्म घटेको थियो । 

रुस युरोपको सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता हो । त्यस्तै, यो संसारको सबैभन्दा ठूलोमध्येको तेल उत्पादक राष्ट्र पनि हो । यसका साथै निकेल आल्मुनियम, पालाडियमलगायत औद्योगिक धातुहरूको मुख्य आपूर्तिकर्ता हो । रुस र युक्रेन दुवै सबैभन्दा ठूलामध्येका गहुँ निर्यातकर्ता हुन् । रुस र बेलारुस पोटास निर्यातमा प्रमुख खेलाडी हुन् । यी वस्तुको मूल्य विगतदेखि नै बढिरहेको छ र भविष्यमा झनै धेरै बढ्ने आकलन गरिएको छ । ‘तेल र ग्यासको मूल्य तत्काल घट्ने सम्भावना छैन,’ जेफरिज स्ट्राटेजिजका सिन डार्बीलगायतलाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेका छन्, ‘भविष्यमा मूल्यवृद्धिको दबाब थप बढ्नेछ, जसले विश्वका केन्द्रीय बैंकहरूलाई कसिलो मौद्रिक नीति ल्याउन बाध्य बनाउनेछ ।’ आक्रमणको जानकारी लगत्तै ब्रेन्ट क्रुडको मूल्य एक सय पाँच डलर पुगेको थियो भने युरोपेली ग्यासको मूल्य ४२ प्रतिशतले बढेको थियो । ‘यी वस्तुको आपूर्ति दुई तरिकाले बिग्रन सक्छ, पाइपलाइन, बन्दरगाहहरूलगायत पूर्वाधारहरू नष्ट हुँदा ढुवानीमा समस्या हुन्छ, रसियामा नाकाबन्दी लाग्दा अन्य मुलुकका उपभोक्ताले रुसका उत्पादन किन्न नपाउन सक्छन्,’ द इकोनोमिस्टले लेखेको छ । 

त्यस्तै, रुसमाथि अमेरिकालगायतले कडा खालको आर्थिक प्रतिबन्ध लगाउँदै छन्, जसले ती देशमा रहेका रसियन लगानीका ठूला कम्पनीहरू प्रभावित हुनेछन् । बैंकहरूले एक मुलुकबाट अर्को मुलुकमा रकम प्रयोग गर्न हुने स्विफ्ट म्यासेजिङ सिस्टमबाट रसियालाई बाहिर लग्यो भने त्यसले जनजीवनमै ठूलो प्रभाव पार्नेछ ।

यसले दीर्घकालमा विश्व अर्थतन्त्रलाई पुनः दुई ब्लकमा विभाजन गर्ने जोखिम पनि छ । रुस चीनलगायत पूर्वी विश्वका मुलुकहरूतर्फ ढल्किन बाध्य हुनेछ । विशेष गरी चीनसँग यसको व्यापार तथा वित्तीय सम्बन्धमाथि उसको निर्भरता बढ्दै जानेछ । ‘रुसमा पश्चिमा विश्वले लगाउने आर्थिक नाकाबन्दीलाई चीनले पनि निश्चित रूपमा गम्भीरताका साथ हेर्नेछ र आत्मनिर्भरताको आफ्नो अभियानलाई अझै तीव्र बनाउनेछ,’ द इकोनोमिस्टले लेखेको छ, ‘युक्रेनमा रुसको आक्रमणले तत्काल विश्वव्यापी आर्थिक संकट नल्याउन सक्छ, तर आउने केही दशकमा विश्व अर्थतन्त्रको सञ्चालनको नियमलाई नै बदलिदिनेछ ।’

नेपालका लागि रुसभन्दा युक्रेन ठूलो व्यापारिक साझेदार
नेपालका लागि रुसभन्दा युक्रेन ठूलो व्यापारिक साझेदार हो । गत आर्थिक वर्ष ०७७÷७८ मा नेपालले युक्रेनबाट १७ अर्ब १७ करोडबराबरको आयात गरेको थियो भने २२ लाख ८७ हजारको निर्यात गरेको थियो । सो वर्ष रुसबाट नेपालले दुई अर्ब ४० करोडको आयात गरेको थियो भने १५ करोड ७६ लाखको निर्यात गरेको थियो । चालू आर्थिक वर्षको सात महिनामा नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड रुपैयाँबराबरको सामान आयात गरेको छ । जबकि, रुसबाट चार अर्ब ३१ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा नेपालले युक्रेनमा १५ लाख ७८ हजारका मात्रै सामान निर्यात गरेको छ भने रुसमा १५ करोड ११ लाखको निर्यात गरेको छ । युक्रेन तथा रुस दुवै मुलुकबाट नेपालले केराउ, पाम आयल, सोयाबिन, सनफ्लावर तथा तोरीको तेल, कोइलालगायत वस्तु आयात गर्छ । खासगरी रुसमा नेपालले चिया, कार्पेटलगायत वस्तु निर्यात गर्ने गर्छ । 

युद्धले खासगरी युक्रेनबाट आयात हुने वस्तु प्रभावित हुने देखिएको छ । त्यसो हुँदा नेपालमा खानेतेलको मूल्य अझै बढ्न सक्ने सम्भावना पनि छ । त्यसका अतिरिक्त नेपालले युक्रेनबाट कच्चा तेल आयात गरी प्रशोधनपश्चात् भारततर्फ निर्यात गर्दै आएको छ । यसमा पनि युद्धको प्रभाव पर्नेछ । 

कच्चा तेलको भाउ एकै दिन ११ अंक बढेर १०५ डलर पुग्यो

रुस–युक्रेनबीच जारी द्वन्द्वको असर नेपालमा पनि देखिने निश्चित भएको छ । दुई देशबीच केही समयदेखि जारी तनावलाई द्वन्द्वमा परिणत गर्ने गरी युक्रेनमाथि रुसले हमला गरेको पहिलो दिन (बिहीबार) अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ११ अंकले वृद्धि भई एक सय पाँच डलर प्रतिब्यारेल पुगेको छ ।

बुधबार भने कच्चा तेलको भाउ ९४.१२ डलर प्रतिब्यारेल थियो । युक्रेन–रुसबीच द्वन्द्व झनै चर्किने देखिएकाले आगामी दिनमा कच्चा तेलको भाउ अझै वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै बढेको कच्चा तेलको भाउ बिस्तारै मात्र ओरालो लाग्ने हुँदा विश्वभर इन्धनको भाउ ठूलो दरले वृद्धि हुने अनुमान छ ।

बिहीबार साँझ १०४.१२ डलर प्रतिब्यारेलमा भएको कच्चा तेलको कारोबार आठ वर्षयताको उच्च मूल्य हो । यसअघि सन् २०१४ मा कच्चा तेलको भाउ एक सय डलर प्रतिब्यारेल पार गरेको थियो । त्यतिखेर ४ अगस्ट ०१४ मा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य एक सय पाँच डलर प्रतिब्यारेल थियो ।

रुस विश्वमा सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश हो । युक्रेनसँगको द्वन्द्वले रुसबाट विश्वभर हुने कच्चा तेलको आपूर्ति तालिकामा असर पर्न थालेको छ । रुसले नियमित तालिकाअनुसार तेल आपूर्ति नगर्दा मागमा असर पर्न गई मूल्य बढेको विश्लेषण गरिएको छ ।

अमेरिकाको टेक्सासस्थित एक तेल कम्पनीका प्रतिनिधिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कच्चा तेलको भाउ एक सय १० देखि एक सय २० डलरसम्म चाँडै पुग्ने बताएका छन् । 

नेपालमा भारतको सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट सबै प्रकारका पेट्रोलियम पदार्थ आयात हुने गरेको छ ।  कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ एक डलरले वृद्धि हुँदा आइओसीले घरेलु बजारमा ४० पैसा प्रतिलिटरले मूल्य बढाउने गरेको छ । यसको सोझो असर नेपालमा पनि पर्ने देखिन्छ । किनभने, आइओसीले प्रत्येक १५–१५ दिनमा नेपालमा तेल बिक्रीको नयाँ खरिद दर पठाउने गरेको छ ।
 

ad
ad