मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण ११ बुधबार १०:३४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीको आँपचौर स्वास्थ्यचौकी नयाँ भवनमा

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण ११ बुधबार १०:३४:००

मुसिकोटका गाउँगाउँमा आधारभूत सेवा

मुसिकोट नगरपालिका– ५ को आँपचौर स्वास्थ्यचौकी उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्यचौकी भवनको एमाले सचिव तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरे । उनले गुल्मीमा स्वास्थ्यचौकीहरूको भवन निर्माणको सन्दर्भमा देशकै नमुना काम भइरहेको बताए । केही वर्षभित्र २ नम्बर निर्वाचन क्षेत्र भित्रका स्वास्थ्यचौकीहरू मापदण्डअनुसारकै भवनहरूमा सञ्चालन गर्ने गरेर योजना अगाडि बढाइएको विष्टले बताए । 

उनले कच्ची घर, स्कुल र साँघुरा भवनमा कष्टपूर्ण सेवाप्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरू आधुनिक भवनहरूमा देख्न पाउँदा अत्यन्तै खुसीको महसुस भएको बताए । आँपचौर स्वास्थ्यचौकी ०७५ सालमा सम्झौता भएर निर्माण थालिएको थियो । 

डेढ करोडको लागतमा स्वास्थ्यचौकी निर्माण

डेढ करोडको लागतमा स्वास्थ्यचौकी निर्माण गरिएको मुसिकोट नगरपालिका–  ५ का वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिए । उनले बर्थिङ सेन्टर र आवाससहितको आधुनिक स्वास्थ्यचौकी निर्माणले आँपचौरवासीमा नयाँ आशा पलाएको बताए । 

मुसिकोटका गाउँगाउँमा आधारभूत सेवा
मुसिकोट नगरपालिकाले विभिन्न माध्यमबाट आधारभूत सेवा गाउँगाउँमा पुर्‍याएको छ । मुसिकोट नगरपालिकामा बर्थिङ सेन्टर ६ वटा स्वास्थ्य संस्थाहरूमा रहेको छ । पौदाअमराई स्वास्थ्यचौकी, वडागाउँ स्वास्थ्यचौकी, आपचौर स्वास्थ्यचौकी, कुर्घा स्वास्थ्यचौकी, वामीटक्सार स्वास्थ्यचौकी र वामीमैदान आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रवाह भइरहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए । 

त्यस्तै, नगरपालिकाले वडा नम्बर ८ मा वामीमैदान आधारभूत स्वास्थ्य सेवा र वडा नम्बर ४ मा नेटाखर्क आधारभूत स्वास्थ्यकेन्द्र सञ्चालन गरेको जिसीले बताए । त्यस्तै वडा नम्बर ३ मा पेगा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर १ मा थामडाँडा सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर ४ मा बरदान सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा छिटोछरितो बनाइएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । मुसिकोट वडा नम्बर २ खस्थोक र वडा  नम्बर ४ दजाकोट सामुदायिक स्वास्थ्य केन्द्रमार्फत आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको छ । 

अझै ६ स्वास्थ्यचौकी निर्माण हुन बाँकी 
मुसिकोट नगरपालिकाका तीन स्वास्थ्यचौकी मात्रै आफ्नै मापदण्डअनुसार निर्माण भएका छन् । अहिलेसम्म आँपचौरसहित, वडागाउँ र कुर्घा स्वास्थ्यचौकीको मापदण्डअनुसारको आधुनिक भवन रहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए । अझै ६ वटा स्वास्थ्यचौकीका भवन निर्माण गर्नुपर्नेछ । केहीको प्रक्रिया अगाडि बढेकाले क्रमिक रूपमा सबै स्वास्थ्यचौकीका भवन निर्माण हुने मेयर सापकोटाले बताए । 

मुसिकोट नगरपालिका १ र ८ का स्वास्थ्यचौकी विद्यालयका कक्षाकोठाहरूबाट सञ्चालन भएका छन् भने केही सामान्य साँघुरो भवनबाट सञ्चालन भएको मुसिकोट नगरपालिकाले जनाएको छ । नगरपालिकामा रहेका सात एम्बुलेन्समध्ये चारवटा एम्बुलेन्स मात्रै सञ्चालनमा रहेका छन् । जसमध्ये एक भर्खरै जलेको र दुईवटा बिग्रेर बसेका छन् ।