१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ९ सोमबार ०८:४४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ९ सोमबार ०८:४४:००

न्युरोड टिम (एनआरटी)ले आइतबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दीमाथि १–० को रोमाञ्चक जित दर्ता गरेको छ । १२ वर्षपछि मनाङलाई हराएको एनआरटी लिगको दोस्रो स्थानमा उक्लेको छ । एनआरटीको जितमा एक मात्र निर्णायक गोल मेसुके ओलुमाउले खेलको २६औँ मिनेटमा गरेका थिए । मेसुकेले एरिक विष्टको फ्रिकिकमा गोल गरेका हुन् । 

जारी लिगमा एनआरटीको यो पाँचौँ जित हो भने मनाङको लगातार दोस्रो तथा समग्रमा चौथो हार हो । लिगको ११औँ चरणमा मनाङ एपिएफसँग ३–१ ले स्तब्ध भएको थियो । मनाङ लिग च्याम्पियन मच्छिन्द्र तथा सातदोबाटोसँग पनि पराजित भएको थियो । दोस्रो स्थान रक्षा गर्दा एनआरटीले १२ खेलबाट २० अंक जोडेको छ । समान २० अंक नै रहे पनि मनाङ ‘हेड टु हेड’मा तेस्रो स्थानमा झरेको छ । 

एक खेल कम खेलेको त्रिभुवन आर्मीको १९ अंकका साथ चौथो स्थान र १८ अंक बटुलेको थ्री स्टार पाँचौँ स्थानमा छ । मनाङमाथि जित निकालेको एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले लिगमा तीन अंक महत्वपूर्ण रहेको बताएका छन् । ‘हामीलाई तीन अंक चाहिएको थियो, खेलाडीले आवश्यक अंक पूरा गरेका छन्,’ शाक्यले भने । मनाङका नाइजेरियन प्रशिक्षक फुजा तोपेले मुख्य खेलाडीहरू शतप्रतिशत फिट नहुँदा नै लगातार खेलमा पराजित भएको प्रतिक्रिया दिएका छन् । ‘हामी लगातार दुई खेलमा पराजित हुनुपछाडि नै मुख्य खेलाडीहरू फिट नहुनु हो,’ फुजाले भने, ‘मध्यान्तरपछि खेल राम्रो भए पनि खेलाडीले प्राप्त अवसरमा गोल गर्न सकेनन् ।’ 

१२ वर्षअघि मनाङ लगातार तीन खेलमा पराजित भएको थियो । २०६६/०६७ को लिगमा मनाङले एनआरटी, नेपाल पुलिस र आर्मीसँग लगातार खेलमा हार व्यहोरेको थियो । दशरथ रंगशालामा मनाङले ९०औँ मिनेटमा बराबरी अवसर गुमाएको थियो । स्ट्राइकर आफिज ओलावाले डिबक्सभित्रबाट प्रहार गरेको बल क्रसबारमा लागेको थियो । यसअघि खेलको १५औँ मिनेटमा एनआरटीका सनम सोडेम्बाको प्रहारलाई मनाङका गोलरक्षक अशोक बरालले मुस्किलले बल नियन्त्रणमा लिए । पहिलो हाफको इन्जुरी समयमा मनाङका एडेलाजा सोमिडेले प्रहार गरेको बल दोस्रो बार नजिक हुँदै बाहिरिएको थियो । ५३औँ मिनेटमा एनआरटीका राजेश परियारले मनाङका गोलरक्षक अशोकविरुद्ध वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

जावलाखेलले हिमालयनलाई हरायो
जावलाखेल युथ क्लबले आइतबार हिमालयन शेर्पामाथि २–१ को कठिन जित निकालेको छ । जितसँगै जावलाखेल १०औँ स्थानमा उक्लेको छ । जावलाखेले १२औँ चरणसम्म १३ अंक जोडेको छ । प्रतिस्पर्धामा अंगुना जुनियर निर्णायक गोल गरेपछि जावलाखेलले हिमालयनलाई हराएको हो । जितसँगै जावलाखेलको रेलिगेसन खतरा लगभग टरेको छ । जावलाखेलको जितपछि नेपाल पुलिस क्लब ११औँ स्थानमा झरेको छ । पुलिसको १० अंक छ । जावलाखेलको जितले ब्रिगेड ब्वाइज, पुलिस र फ्रेन्ड्स क्लबमाथि रेलिगेसन दबाब बढेको छ ।

 फ्रेन्ड्सको १० अंक र ब्रिगेडको सात अंक छ । लिगको १२औँ चरणसम्म ६ अंक मात्र जोडेको च्यासल युथ क्लब यो सिजनकै पहिलो टोलीका रूपमा रेलिगेसनमा परेको छ । जुनियरले ८८औँ मिनेटमा जावलाखेललाई जित दिलाउन निर्णायक गोल गरेका थिए । खेलको १५औँ मिनेटमा रूपबहादुर लामाले जावलाखेललाई १–० को अग्रता दिलाए । खेलको ७१औँ मिनेटमा हिमालयनले १–१ को बराबरी गोल फर्काएको थियो ।

हिमालयनलाई अमृत श्रेष्ठले बराबरी गोल फर्काएका हुन् । जितपछि जावलाखेलका मुख्य प्रशिक्षक किशोरकुमार केसी खुसी देखिएका छन् । प्रशिक्षक केसीले जावलाखेल यो सिजन ए डिभिजनमै रहने जनाएका छन् । ‘१२ खेलमा आएर रेलिगेसनको डर लगभग हटेको छ,’ केसीले भने, ‘अझै पनि हामीले सुधार गर्नुपर्नेछ ।’ हिमालयनका प्रशिक्षक युगल किशोर राईले गोल गर्न नसक्दा पराजित भएको बताए । हिमालयनको हारमा गोलरक्षकको गल्ती भएको भनाइ छ । ‘प्रतिस्पर्धामा गोलरक्षकै कारण अन्तिम समयमा गोल खान पुग्यो,’ उनले भने ।