निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १९ बुधबार
  • Wednesday, 05 October, 2022
मञ्जु टेलर काठमाडाैं
२०७८ फाल्गुण ९ सोमबार ०६:५२:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण

मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली आएको पाँच वर्षमा जम्मा ६ जनामा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौलाको प्रत्यारोपण

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ फाल्गुण ९ सोमबार ०६:५२:००

‘ब्रेन डेथ’ अर्थात् मस्तिष्कले काम गर्न छाडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्युनजिकको अवस्थालाई मेडिकल साइन्सले मृत्यु भएको मान्ने गर्छ । तर, सो अवधिमा समेत मानव शरीरका कतिपय अंगहरूले काम गरिरहेका हुन्छन् । जसलाई आवश्यकताअनुसार २४ घन्टाभित्र शल्यक्रियाको माध्यमबाट अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । अधिकांशजसो सडक दुर्घटनाबाट मस्तिष्क मृत्युका केस बढी हुने गर्छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वर्षअघि ‘मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ सार्वजनिक गरेको थियो । नियमावलीमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिन सकिने प्रावधान उल्लेख छ । तर, आजसम्म पनि जनचेतनाको कमीका कारण ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण न्यून मात्रामा भएको प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । ‘अधिकांश मानिसमा ब्रेन डेथबारे जानकारी नै छैन । यसबारे ज्ञान भएकासमेत अन्धविश्वासका कारण मस्तिष्क मृत्युपछि अंग दान दिन चाहँदैनन् । कतिसम्म भने प्रत्यारोपणका लागि अंग पाइहाले पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग लिनसमेत डराउने गरेको देखिएको छ,’ उनले भने ।

मानव अंग प्रत्यारोपणका अनुसार नेपालमा ०७३ देखि कोभिड महामारीको अवधि (पाँच वर्ष)मा २० जनाले मस्तिष्क मृत्यु भएको जनाएका थिए । जसमध्ये ‘ब्रेन डेथ’ भएका १५ जना व्यक्तिका आफन्तले अंग दान गर्न मानेनन् । एकजनाको शल्यक्रिया गर्नुपर्ने समय सकिएको र अर्को एकजनामा अंग प्राविधिक रूपमा म्याचिङ नभएका कारण अंग लिन नमिलेको केन्द्रले जनाएको छ । बाँकी तीनजनाबाट लिइएको मिर्गौला ६ जनामा सफल प्रत्यारोपण भएको थियो । 

नेपालमा ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण सुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख डा. श्रेष्ठले बताए । ‘एक हजारमध्ये कम्तीमा दुई सयले मात्र मिर्गौला दिन चाहे भने एक वर्षमा चार सयभन्दा बढीले नयाँ जीवन पाउँछन् । जुन हाल देशभरि भइरहेको मिर्गौला प्रत्यारोपणको झन्डै दोब्बर हो,’ उनले भने । 

प्रत्यारोपणमा समेत लैंगिक विभेद
कोरोना महामारीले अंग प्रत्यारोपण सेवा प्रभावित भए पनि देशभर बर्सेनि दुईदेखि साढे दुई सयजनामा मिर्गौला प्रत्यारोपण हुने गर्छ । जसमध्ये ग्रहणकर्ताहरू महिलाको तुलनामा पुरुष बढी भए पनि दाता महिला धेरै भएको तथ्यांकले देखाएको छ । प्रत्यारोपण केन्द्रको तथ्यांकअनुसार नेपालमा लगभग ८० प्रतिशत मिर्गौला दाता महिला छन् । तर, आवश्यक पर्दा महिलाले नै मिर्गौला नपाउने अवस्था रहेको चिकित्सकहरू बताउँछन् । ‘परिवारमै छोरीलाई भन्दा छोरा वा ज्वाइँलाई मिर्गौला दिन चाहने बढी देखिन्छन् । हेर्दा सामान्य देखिने भए पनि परिवारभित्रै महिला पुरुषबीचको विभेद यसले प्रस्ट देखाउँछ । सामान्यतया मिर्गौला फेल हुने दर लिंगअनुसार फरक हुँदैन, तर ग्रहणकर्ता पुरुष झन्डै ८४ प्रतिशत छन्,’ डा.कल्पना श्रेष्ठले भनिन् ।

महिलालाई आवश्यक पर्दा मिर्गौला नपाउने स्थितिलाई न्यून गर्न मृत्युपछि गरिने दानमा आउने मिर्गौलामा महिलालाई तीन गुणा बढी प्राथमिकता दिइने ऐनमा व्यवस्था गरिएको थियो । तर, ०७८ साउनमा संशोधन भएर आएको ऐनले महिलालाई प्राथमिकताबाट हटाएको छ । दुई वर्षदेखि ‘ब्रेन डेथ’ प्रत्यारोपण ठप्प भए पनि समन्वय नै नगरी ल्याइएको संशोधनले ब्लड गुप्र म्याचिङ, बालबालिकालाई मात्र प्राथमिकतामा राख्दा महिलाहरूले मिर्गौला नपाउने जोखिम बढेको डा. श्रेष्ठको भनाइ छ । ‘महिलाहरूले ब्रेन डेथबाट पाउने बाटो खुलेको थियो । पुरुषको तुलनामा सहजै अंग नपाउने भएकाले उपचारबाट वञ्चित हुने जोखिम बढेको छ,’ उनले भनिन् ।

अधिकांश मानिसमा ब्रेन डेथबारे जानकारी नै छैन
डा. पुकारचन्द्र श्रेष्ठ, कार्यकारी प्रमुख, मानव अंग प्रत्यारोपण केन्द्र

अधिकांश मानिसमा ब्रेन डेथबारे जानकारी नै छैन । यसबारे ज्ञान भएकासमेत अन्धविश्वासका कारण मस्तिष्क मृत्युपछि अंग दान दिन चाहँदैनन् । कतिसम्म भने प्रत्यारोपणका लागि अंग पाइहाले पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग लिनसमेत डराउने गरेको देखिएको छ ।

छोरीलाई भन्दा छोरा वा ज्वाइँलाई मिर्गौला दिन चाहने बढी देखिन्छन् 
डा. कल्पना श्रेष्ठ, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर

परिवारमै छोरीलाई भन्दा छोरा वा ज्वाइँलाई मिर्गौला दिन चाहने बढी देखिन्छन् । हेर्दा सामान्य देखिने भए पनि परिवारभित्रै महिला–पुरुषबीचको विभेद यसले प्रस्ट देखाउँछ । सामान्यतया मिर्गौला फेल हुने दर लिंगअनुसार फरक हुँदैन, तर ग्रहणकर्ता पुरुष झन्डै ८४ प्रतिशत छन् ।

मस्तिष्क मृत्यु भएको घोषणा गर्नै डराउँछन् चिकित्सक
नेपालमा मस्तिष्क मृत्यु भएका सरदर बर्सेनि एक हजार व्यक्तिबाट अंग लिन सकिन्छ । मिर्गौला, मुटु, कलेजो, फोक्सो, प्यांक्रियाज, आँखा, सानो आन्द्रा, अनुहार र बोनम्यारोजस्ता अंग प्रत्यारोपण गर्न सकिने भए पनि ‘ब्रेन डेथ’बाट अंग प्रत्यारोपण अझै सहज बन्न नसकेको चिकित्सकहरूको भनाइ छ । ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट ‘मानव अंग प्रत्यारोपण केन्द्र’ले मिर्गौला र कलेजो लिएर प्रत्यारोपणका लागि पालो कुरेर बसेका व्यक्तिमा प्रत्यारोपण गर्दै आइरहेको थियो । तर, अधिकांश ‘ब्रेन डेथ’ भएका व्यक्तिका आफन्तले अंग दिन नमान्ने भएका कारण बर्सेनि हजारौँ मिर्गौलाका बिरामी डायलाइसिस गर्न बाध्य छन् । अधिकांशजसो चिकित्सक नै ‘ब्रेन डेथ’ घोषणा गर्न डराउने प्रवृत्तिका कारण प्रत्यारोपणले गति लिन नसकेको पाइएको छ ।

बर्सेनि तीन हजार व्यक्तिमा मिर्गौला फेल हुने गर्छ
राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार बर्सेनि लगभग तीन हजार व्यक्तिमा विभिन्न कारण मिर्गौला फेल हुने गर्छ । हजारभन्दा बढीले बर्सेनि कलेजो गुमाउँछन् । जसमध्ये ६० देखि ७० प्रतिशतमा पूर्ण उपचारका लागि अंग प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अंग फेल भएर उपचारबाट वञ्चित हुन नदिन प्रत्यारोपणको दायरा बढाउँदै लगे पनि मिर्गौला र कलेजो प्रत्यारोपण सेवा अझै सहज बन्न सकेको छैन । नजिकको नाता पर्ने सबैबाट अंग लिन सकिने, प्रत्यारोपण गर्न सकिने अंग अर्कोसँग साट्न सकिने र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट समेत अंग लिएर प्रत्यारोपण गर्न सकिने व्यवस्था भए पनि अंग प्रत्यारोपणका लागि महिनौैँ डायलाइसिसको भर पर्नुपर्ने देखिन्छ । अंग प्रत्यारोपणका लागि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिएर गरिने प्रत्यारोपण विश्वभरि नै सहज बन्दै गएको छ । तर, अत्यधिक मस्तिष्क मृत्युका घटना भइरहे पनि नेपालमा प्रत्यारोपण निकै न्यून संख्यामा भएका छन् ।