१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तागठबन्धनको बैठक । तस्बिर: रासस
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धन बैठकको लाइभ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:२o:oo

- बैठकको सुरुमा बोलेका प्रधानमन्त्री शेरबहादुर देउवा अरू दिनको तुलनामा आक्रामक रूपमा प्रस्तुत भए । उनले प्रस्ताव यसरी राखे, ‘शुक्रबारको संसद् बैठकमा एमसिसी टेबुल गरौँ । संसद्मा आ–आफ्ना धारणा राखौँ । १६ फागुनसम्म यसलाई हरहालतमा टुंग्याऊँ । भोलि (शुक्रबार) टेबुल गरेर  जसरी पनि निष्कर्षमा पुर्‍याऔँ । एमसिसीमा विगतमा हामी सबैको भूमिका छ नै ।’

- प्रधानमन्त्रीपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ बोले । ‘एमसिसीका केही बुँदामा हाम्रो असहमति छ  । सबै मिलेको भए अमेरिका एमसिसी परिमार्जन गर्न सहमत हुन सक्थ्यो, तर त्यसो हुन सकेन । हामी परिमार्जनसहित अनुमोदनको पक्षमा छौँ । एमसिसी संविधान वा कानुनको कुन प्रावधान टेकेर संसद् लैजाँदै छौँ भन्ने दलहरूबीच सहमति हुन बाँकी छ । सम्झौताको अन्तर्वस्तुमा घरेलु कानुनभन्दा माथि हुने भनेको छ, यो के हो स्पष्ट छैन । संसद् अवरोध हुँदा अत्यावश्यक अध्यादेश प्रतिस्थापन विधेयकबाहेक अगाडि बढेको परम्परा छैन, एमसिसीमा हामी किन हतार गर्दै छौँ ? भविष्यमा अरू दाताले यस्तै सर्त राखे के गर्ने र समग्र राष्ट्र विभाजित भएको विषय संसद् अवरोधकै वेला लगेर कसरी छलफल हुन्छ ?’ नेता श्रेष्ठको धारणा थियो ।

- त्यसपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्ना भनाइ राखे । यथास्थितिमै कुनै पनि हालतमा एमसिसी अगाडि बढाउनै नसक्ने उनको अडान थियो । ‘राष्ट्रियतासँग जोडिएका यति गम्भीर मुद्दा छन्, यही अवस्थामा एमसिसी कसरी टेबुल गर्न सम्भव हुन्छ ? यो हुँदैन, पहिला विवादित विषय टुंग्याऔँ, त्यसपछि मात्रै संसदमा लगौँ,’ खनालको भनाइ थियो ।

- खनालपछि बोलेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको स्थायी कमिटीको बैठक बस्न थालेको र त्यहाँ छलफल गरेर अन्तिम धारणा राख्ने बताए । त्यतिन्जेल टेबुल नगर्न प्रधानमन्त्री देउवासँग आग्रह गरे । ‘एमसिसी टेबुल गर्ने विषयमा अहिले नै निर्णय नलिऊँ । सहमतिमै गर्न पनि सकिन्छ । शनिबार हामीले स्थायी कमिटी बैठक बोलाएका छौँ । त्यहाँ छलफल गर्छौँ र एउटा निर्णय लिन्छौँ । त्यसैले एमसिसी टेबुल गर्ने विषय ८ फागुनसम्मका लागि रोकौँ ।’

- त्यसपछि जसपाका नेताहरू डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठले धारणा राखे । तर, उनीहरूबीच नै मतभेद देखियो । भट्टराईको भनाइ थियो, ‘एमसिसी अब अगाडि बढाउनुपर्छ । यसलाई धेरै गिजोल्नुहुँदैन । शुक्रबार नै संसद्मा लैजाऊँ । छलफल पनि गरौँ र अनुमोदन गरौँ ।’ लगत्तै भट्टराईकै धारणा काटिने गरी नेता राजेन्द्र श्रेष्ठले आफ्ना भनाइ राखे । ‘सत्तामा रहेका दलहरूबीच आधारभूत छलफल नगरी एमसिसी टेबुल गर्नु राम्रो हुँदैन । अन्तिमसम्म सहमतिकै प्रयास गरौँ । शुक्रबार टेबुल नगरौँ,’ उनले भने । 

- त्यसपछि प्रधानमन्त्री देउवा बोले । उनले माओवादी नेता श्रेष्ठलाई भने, ‘तपाईंले प्रचण्डजीलाई अप्ठ्यारो नपार्नुस् न । उहाँ त अगाडि बढ्न चाहनुभएकै छ ।’ श्रेष्ठले तत्काल प्रतिवाद गरे र भने, ‘हाम्रो पार्टीको अध्यक्ष यहीँ हुनुहुन्छ, उहाँलाई नै सोध्नुस् न पार्टीको निर्णय ।’

- त्यतिन्जेलसम्म नेताहरूका कुरा सुनेका प्रचण्ड बोले, ‘एमसिसीमा परिमार्जन हुनुपर्छ भन्ने नारायणकाजीजीको जे कुरा छ, पार्टीको निर्णय त्यही हो । गठबन्धनलाई सुरक्षित गर्दै अगाडि बढौँ भन्ने विकल्पमा खुला छलफल गरौँ ।’

- प्रचण्डको कुरा सुनिसकेपछि प्रधानमन्त्री देउवाले प्रस्ताव गरे, ‘माधवजीहरूको पनि कुरा आयो, एक–दुई दिन पर्खेर केही भएन । ८ फागुनमा टेबुल गर्छौँ भनेर यही बैठकमा सहमति गरौँ न त । अब ढिला नगरौँ, टुंग्याउनुपर्ने भयो ।’

- लगत्तै माओवादी नेता श्रेष्ठ बोले, ‘प्रधानमन्त्रीले शुक्रबार नै गरौँ भन्ने, हामीले संसद् खोल्नुपर्छ भनेका छौँ र माधवजीहरूले शनिबार बैठक बसेर निर्णय गर्छौँ भन्नुभएको छ । अहिले सहमति जुट्ने ठाउँ देखिएन । थप छलफलका लागि शुक्रबार बिहान बैठक बसौँ ।’ यससँगै बैठक सकियो ।

ad
ad