निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १९ बुधबार
  • Wednesday, 05 October, 2022
प्रेम परियार
२०७८ फाल्गुण ३ मंगलबार ०८:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फराकिलो हुँदै छ जातीय विभेदविरुद्ध हाम्रो संघर्ष

देश/परदेश

Read Time : > 2 मिनेट
प्रेम परियार
२०७८ फाल्गुण ३ मंगलबार ०८:०६:००

सन् २०१५ मा वुडल्यान्डको योलो काउन्टीमा मलाई एकजना दक्षिण एसियालीका घरमा खानाको निम्तो आयो । नेपालबाट भर्खर–भर्खर अमेरिका आएकाले मलाई यहाँका मानिसबारे धेरै थाहा थिएन र म यहाँ नयाँ–नयाँ सम्बन्ध निर्माण गर्न चाहन्थेँ । खाना झिक्न बफेनजिक जाँदै गर्दा मैले खानालाई ‘बिटुल्याइदिने’ डरले मलाई रोकियो । मेरा लागि अरू कसैले खाना पस्किदिए ।  यस्तो किन गरियो ? किनभने म दलित हुँ ।

अधिकांश दलित हिन्दू व्यवस्था र दक्षिण एसियासँग जोडिए पनि जात व्यवस्था सबै धर्म र महादेशमा फैलिएको छ । किनभने, जातीय विभेदबाट मुक्ति पाउन मैले नेपाल छाडेको थिएँ । तर, उल्लिखित निम्तो र त्यस्तै प्रकृतिका असंख्य अनुभवले मलाई दक्षिण एसियाली डायस्पोरा अझै पनि जातीय विभेदबाट ग्रस्त छ भन्ने सिकायो । अमेरिकी–दक्षिण एसियाली समुदायमा सन् २०१८ को इक्वेलिटी ल्याब्सले गरेको एक सर्वेक्षणअनुसार २५ प्रतिशत दलितले आफ्नो जातमा आधारित पहिचानकै कारण आफूमाथि मौखिक एवं भौतिक हमला भएको बताएका छन् ।

जब म सन् २०१९ मा क्यलिफोर्निया स्टेट युनिभर्सिटी इस्ट बेमा स्नातकोत्तरमा भर्ना भएँ, तब मलाई विविधता र समावेशिता अंगिकार गरिने प्राज्ञिक स्थलमा जातीय विभेदबाट छुटकारा पाउँछु भन्ने लागेको थियो । तर, मेरो यो अपेक्षा गलत साबित भयो । नियमित रूपमा मैले उत्पीडक जातका विद्यार्थीबाट कक्षाकोठा, चमेनागृह र आवासगृहमा विभेद भोगेँ । उत्पीडक जातका विद्यार्थी खुलमखुल्ला आवासगृहका अपार्टमेन्ट साझा गर्न र चमेनागृहमा सँगै भोजन गर्न अस्वीकार गर्थे । हामीले जातिसूचक गालीगलोज, अपमानजनक अलगाव र कहिलेकाहीँ जातका आधारमा हुने यौनिक हमला र दुव्र्यवहार पनि भोगेका थियाैँ । जात पत्ता लाग्दा हुने दुव्र्यवहारबाट जोगिन आफ्नो पहिचान लुकाउने थुप्रै दलित विद्यार्थी भेटिन्थे । शोध–अनुसन्धानहरू हेर्ने हो भने क्यलिफोर्निया स्टेट युनिभर्सिटी इस्ट बेमा हामीले भोगेको अनुभव नौलो होइन । इक्वेलिटी ल्याब्सका अनुसार तीनमध्ये एक दलित विद्यार्थीले शैक्षिक विभेद भोगेका छन् भने तीनमध्ये दुई दलित श्रमिकले कार्यस्थलमा दुव्र्यवहार झेल्नुपरेको छ । ल्याब्सको प्रतिवेदनमा ‘जहाँ–जहाँ दक्षिण एसियाली पुग्छन्, उनीहरू त्यहाँ जात व्यवस्थालाई पनि सँगै लग्छन्’ भनिएको छ । 

डायस्पोरामा हुने दलितद्वेषी विभेद अधिकांश समय परोक्ष ढंगले हुने गर्छ र डायस्पोराबाहिरका मानिसले यी विभेद देख्न पाउँदैनन् । म र मेरा दलित साथीका अनुभवका कारण यस युनिभर्सिटीमा जातलाई संरक्षित वर्गमा सूचीकृत गराउन र जातीय विभेद अन्त्यका लागि मैले अभियान नै चलाएँ । सुरुवाती चरणमा हामीले विद्यार्थी र शिक्षक–प्राध्यापकलाई क्याम्पसमा रहेको जातीय विभेदबारे सचेत गराएका थियौँ, जहाँ शोधका नतिजा र आँकडाहरू साझा गरिएका थिए । त्यति मात्रै नभई हामीले भोगिरहेको तिरस्कार र विभेदबारे पनि जानकारी गराइएको थियो । र, सन् २०१९ को अप्रिलमा विश्वविद्यालयको विद्यार्थी संघले जातमा आधारित विभेद  रहेको स्वीकार गर्‍यो र क्यालिफोर्निया स्टेट युनिभर्सिटी प्रशासनलाई जातीय समता प्रत्याभूति गराउने गरी सम्बोधन गर्न आह्वान गर्‍यो । यो घटना हाम्रो विजयको पहिलो खुड्किलो बन्न पुग्यो ।

स्नातकोत्तरमा भर्ना हुँदा मलाई विविधता र समावेशिता अंगीकार गरिने प्राज्ञिक स्थलमा जातीय विभेदबाट छुटकारा पाउँछु भन्ने लागेको थियो । तर, मेरो यो अपेक्षा गलत साबित भयो ।         

विद्यार्थी संघको स्वीकार्यताले हाम्रो अभियानले एकाएक राज्यस्तरमा आफ्नो प्रभाव देखाउन थाल्यो । अन्ततः दुई वर्षभन्दा लामो निरन्तर अभियान र पैरवीपछि हामीले आफ्नो लक्ष्य प्राप्त गर्‍याैँ । गत नोभेम्बरमा युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिसले जातलाई आफ्नो विभेदविरोधी नीतिमा समावेश गर्‍यो । र, यस्तो सम्भवतः अमेरिकी उच्च शिक्षण संस्थानमा पहिलोपटक भएको हो । त्यसैगरी जनवरीमा क्यलिफोर्निया स्टेट युनिभर्सिटीले पनि जातलाई विभेदविरोधी नीतिमा समावेश गर्ने निर्णय गरेको छ । जातलाई विभेदका रूपमा स्विकार्ने क्रम अमेरिकी शैक्षिक/प्राज्ञिक संस्थामा बढ्दै गइरहेको छ । क्यलिफोर्निया स्टेट युनिभर्सिटी इस्ट बेबाट दीक्षित विद्यार्थीका नाताले यो ऐतिहासिक नागरिक विजयलाई मैले व्यक्तिगत सफलताका रूपमा लिएको छु । अमेरिकाको सबैभन्दा ठूलो चारवर्षे सार्वजनिक विश्वविद्यालय क्यलिफोर्निया स्टेट युनिभर्सिटीमा जात संरक्षित वर्गमा सूचीकृत हुनुले विश्वविद्यालयका दसौँ लाख विद्यार्थी, कर्मचारी र शिक्षक–प्राध्यापकलाई लाभ पुर्‍याउनेछ । 

सन् २०२० मा क्यालिफोर्निया डिपार्टमेन्ट अफ फेयर इम्प्लोइमेन्ट एन्ड हाउजिङले नेटवर्किङ कम्पनी सिस्को सिस्टम्सविरुद्ध जातीय विभेद गर्‍यो भनेर मुद्दा दायर गरेको थियो र गत मेमा एफबिआईले दलित श्रमिकलाई शोषण गरेको भनेर न्यु जर्सीको मन्दिरमा छापा मारेको थियो । अहिले दलित अभियन्ता र सहयोगीले जातीय विभेदका मामिलामा सार्वजनिक र निजी संस्थालाई जवाफदेही बनाइरहेका छन् । यो जवाफदेहिता माग्ने काम विशेषतः दलित विद्यार्थीले समृद्ध जीवनका आशामा उच्च शिक्षा लिन गएका विश्वविद्यालय र कलेजहरूमा बढिरहेको छ । 

जातीय विभेद एक यस्तो वास्तविकता हो, जसलाई अब उपेक्षा गर्न सकिँदैन । हामी दक्षिण एसियाली अमेरिकीले हाम्रो इतिहास मात्र होइन, विद्यमान सीमान्तीकरणको सामनासमेत गर्नुपर्ने देखिन्छ । बृहत् अमेरिकाले दक्षिण एसियाली संस्कृतिलाई एकांगी ढंगले नहेरी त्यहाँ रहेका विविधतालाई बुझ्ने प्रयास गर्नुपर्छ । र, विविधतापूर्ण र समावेशी समाजलाई थप सुदृढ गर्ने दलित अभियन्तालाई प्रोत्साहन गर्नुपर्छ । 

(क्यालिफोर्निया युनिभर्सिटीका पूर्वविद्यार्थी एवं दलित अभियन्ता प्रेम परियारको यो लेख सानफ्रान्सिस्को क्रोनिकलबाट अनुवाद र सम्पादन गरिएको हो)