निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ ३ शुक्रबार
  • Friday, 19 August, 2022
हदिश खुद्दार जनकपुरधाम
२०७८ फाल्गुण १ आइतबार १०:००:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

जनकपुर–जयनगर रेल सेवा सात वर्षपछि आजदेखि पुन: सञ्चालन हुँदै

Read Time : > 3 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ फाल्गुण १ आइतबार १०:००:००

८४ वर्षअघि निर्माण भएको जनकपुर–जयनगर रेल माघ ०७१ देखि पूर्ण रूपमा बन्द थियो, आइतबारदेखि यात्रु नबोकी आवतजावत गराउने गरी नियमित सञ्चालनमा ल्याउन लागिएको छ, केही दिनमै उद्घाटन गरी यात्रुसहित रेल सेवा सञ्चालनको तयारी छ  

लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आइतबारबाट सञ्चालन हुँदै छ । भारतको आठ अर्ब ७७ करोड सहयोगमा निर्माण हुने जयननर–बिजलपुर– बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । आइतबारदेखि नियमित रूपमा दैनिक एकपटक कुर्था–जयनगरसम्म रेल ओहोरदोहोर गर्ने बताए । रेल्वे सेवा नियमित सञ्चालनका लागि रेल ट्र्याकनजिक रहेका हाटबजारहरूसमेत खाली गराइसकेको छ ।

‘आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ, तर तत्काल हामी यात्रुविना (ड्राई रन) रेल सञ्चालन गर्छौँ, हप्ता–१० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीनपटक सेवा सञ्चालन गर्छौँ,’ उनले भने । रेल सेवा सुरु भएपछि अब बन्द नहुने उनको भनाइ छ । ‘हामीसँग रेल सञ्चालन गर्ने कर्मचारी छन्, ऐन छ, बजेटको अभाव छैन,’ महाप्रबन्धक झाले भने, ‘अब मात्रै दुई देशका प्रधानमन्त्रीज्यूले विधिवत् रूपमा उद्घाटन गर्न बाँकी छ ।’

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसिएल कम्पनीसँग दुईपक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको छ । 

विगतमा चोरी भएका रेल्वे ट्रयाकका क्लिपहरू लगाइसकेको र एलबी लेभवन गेटसमेत मर्मत भइसकेको महाप्रबन्धक झाले बताए । ५ कात्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्रयाक, हल्ट, स्टेसन, कर्मचारीका लागि आवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवारी लिन लगाएको थियो । तर, त्यसका केही काम रहेकाले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए । 

नेपाल सरकारले बोगीसहितका दुईवटा रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको इनर्वा स्टेसनमा त्रिपालमुनि छोपेर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरीलाई दिइएको छ । 

कुर्थादेखि जयनगरसम्म ७० रुपैयाँ भाडा
नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जनरल ७० र एसीमा तीन सय रुपैयाँ भाडा तोकेको छ । त्यस्तै, एक स्टेसनबाट अर्को स्टेसनसम्मको भाडादर १५ रुपैयाँ तोकिएको महाप्रबन्धक झाले बताए । कुर्थादेखि जयनगरसम्म पाँच स्टेसन र तीनवटा हल्ट रहेका छन् । जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदही र कुर्थालाई स्टेसन तोकिएको छ भने मैनाथपुर, देउरी परवहा र जनकपुरधामलाई हल्ट तोकिएको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए । 

फेरिँदै रेल्वेको स्वरूप 
भारतीय ब्रिटिस शासकले विसं १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । सोही रेल नेपाल सरकारमातहत आएपछि यात्रुका लागि सञ्चालन हुन थाल्यो । ०५९ सालमा महोत्तरीको विग्ही नदीमा आएको बाढीले पुल भत्किएपछि जनकपुर–जयनगर २९ किलोमिटरमा सीमित भयो । पटक–पटक लिक छोड्ने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नति गर्न भारत सरकारसँग आग्रह गरिएको थियो । तर, ०७१ माघदेखि उक्त सेवा पूर्ण रूपमा ठप्प गरी स्तरोन्नतिको काम हुँदै आएको छ । 

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–बिजलपुर–बर्दिवास रेल सेवा सञ्चालनका लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण काम जस्तै, ट्र्याक निर्माण, स्टेसन भवन, हल्ट, पुलपुलेसा, खानेपानी, विद्युतीयलगायतका सम्पूर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले पाएको छ ।

कुर्थादेखि बिजलपुरासम्मको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै इन्जिनियर विनोद ओझाले भने,‘ जयनगर–कुर्था रेल सेवा सञ्चालन भएपछि त्यसको केही महिनामै बिजलपुरासम्म पनि रेल चलाउन सकिन्छ । कारण कुर्थादेखि बिजलपुरासम्मको ट्र्याक निर्माण, स्टेसन, हल्ट निर्माण भइसकेको छ । स्टेसन भवनहरूको रङरोगन पनि भइरहेको छ, जयनगरदेखि कुर्थासम्म रेल चलेपछि बिजलपुरासम्म चलाउन खासै कुर्नुपर्दैन । उनले बिजलपुरादेखि बर्दिवाससम्मको जग्गा अधिग्रहणको काम पनि सुरु भइसकेको बताए । 

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भए पनि एक घन्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुँदा बढीमा एकपटकमा एक हजार यात्रु आवतजावत गर्न सकिन्थ्यो,’ उनले भने, ‘ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु अहिलेकै अवस्थामा र बोगी (डब्बा) थप गरेर त्यसभन्दा बढी यात्रुलाई चढाउन सकिन्छ ।’

नयाँ मोडलका आधुनिक रेल 
डिपिसी १९०१ र डिपिसी १९०२ नम्बरका दुवै रेल डिजेल र विद्युत् दुवैबाट चल्ने नयाँ मोडलका रेलका रूपमा तयार गरिएको निर्माण कम्पनीले दाबी गरेको छ । १६ सय हर्स पावरको प्रतिघन्टा एक सय १० किलोमिटर चल्न सक्ने रेलमा एकपटकमा १३ सयसम्म यात्रुले यात्रा गर्न सक्छन् । एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बोगीमा ७० वटा सिट रहेका छन् ।

२० मिटर लामो रेलमा एक एसी र दुई जेनेरल बोगी रहेका छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेलको एभरेज दिने रेलमा आवश्यकताअनुसार थप चारवटा बोगीसम्म जोड्न सकिने निर्माण कम्पनीको दाबी छ । नेपाललाई लक्षित गरी बनाएको रेल भारतमा सञ्चालनमा रहेका अन्य रेलभन्दा फरक रहेको निर्माण कम्पनीका मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले बताए । 
 
रेल सञ्चालनपछि आर्थिक क्षेत्रमा टेवा पुग्ने विश्वास 
रेल सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशको आर्थिक गतिविधि तथा धार्मिक पर्यटनमा ठूलै टेवा पुग्ने अपेक्षा गरिएको छ । जयनगर–जनकपुर रेल भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न सहरमा नेपालीको सहज पहुँच पुग्ने भएको छ । रेल सञ्चालन भएपछि जयनगर हुँदै भारतको राजधानी दिल्ली, पटना, बनारस, कोलकातालगायत विभिन्न सहरहरूमा सहज यात्रा गर्न सकिने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । ‘रेल बन्द भएदेखि जनकपुरको व्यापारमा व्यापक गिरावट आएको भन्दै अध्यक्ष महासेठले भने, ‘रेल सुचारु हुँदा दैनिक हजारौँ भारतीय श्रद्धालु भक्तजनहरू जनकपुरमा आउने गर्छन् । त्यसले पनि जनकपुरको व्यापारमा सुधार आउँछ ।’