मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २२ शनिबार ११:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जहाज थप्दै श्री एयरलाइन्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २२ शनिबार ११:०२:००

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्द्धनको काम अघि बढाएको हो । कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लोपटक ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठवटा जहाज भएका छन् ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार एयरलाइन्सले पाँचवटा जहाज भित्र्याउने योजना अन्तर्गत ८० सिट क्षमताका समान तीन जहाजमध्ये दुईवटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ । तत्पश्चात् अन्य दुई जहाजको पनि खरिद प्रक्रिया अघि बढाइनेछ । ‘हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजनाअनुरूप पाँचवटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौँ, अनुमति मागेकोमध्ये तीनवटा जहाज खरिद भइसकेका छन्, दुई थान आइसके, बाँकी एक जहाज पनि छिट्टै नेपाल ल्याउँदै छौँ,’ प्रबन्धक मानन्धरले
बताए । 

हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ । परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ ।

सुरुमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरू सिमरा र जनकपुरमा उडान थपिनेछ । त्यसपछि नेपाजगन्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा उडान थपिने एयरलाइन्सले जनाएको छ । श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुईवटा तथा सिआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे)दुई थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।