१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भुक्तानी प्रणालीमा  अन्तरआबद्धताको औपचारिक सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२९:oo

क्युआर र एटिएमपछि मोबाइल बैंकिङ र वालेट सेवा पनि अन्तरआबद्ध गराउनैपर्ने

सानो परिमाणको भुक्तानीका लागि सर्वसाधारणले प्रयोग गर्ने प्रणालीहरूबीच अन्तरआबद्धता हुँनैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले फोन पे, एनसिएचएलजस्ता भुक्तानी प्रणाली सञ्चालक र यिनीहरूको प्रणाली प्रयोग गर्ने भुक्तानी सेवाप्रदायकले ६ महिनाभित्रमा यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । 

‘अहिले नेसनल क्लियरिङ हाउस र फोन पेमा धेरै भुक्तानी सेवाप्रदायक सदस्य छन्,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी व्यवस्थापन विभागका प्रमुख गुरुप्रसाद पौडेलले भने, ‘यी दुई प्रणालीबीच अन्तरआबद्धता भयो भने पनि लगभग अहिले भुक्तानीका लागि जति पनि माध्यमहरू प्रयोग भइरहेका छन्, ती अन्तरआबद्ध हुनेछन् ।’ यसको अर्थ इसेवाजस्ता भुक्तानी सेवाप्रदायकबाट अर्को सेवाप्रदायक खल्तीलगायतमा पनि भुक्तानी गर्न सकिनेछ । यस्ता मोबाइल वालेटबाट मात्र होइन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्युआर कोडहरूबाट हुने भुक्तानी पनि अन्तरआबद्ध हुनेछन् ।

‘जसले जुन माध्यमको प्रयोग गरेर पनि अर्को माध्यममा साना रकममा भुक्तानी गर्न यसले सजिलो हुनेछ,’ भुक्तानी विभागका निर्देशक निश्चल अधिकारीले स्पष्ट पारे । हाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट प्रतिदिन दुई लाख रुपैयाँ र इन्टरनेट बैंकिङबाट २० लाख रुपैयाँसम्म भुक्तानी दिन सकिने व्यवस्था गरेको छ । वालेटहरूबीच र बैंकबाट वालेट वा वालेटबाट बैंकमा प्रतिदिन एक लाख रुपैयाँको दरमा भुक्तानी दिन सकिन्छ । यही सीमासम्मको रकम कारोबारलाई साना रकमको भुक्तानी भनिएको छ । 

भुक्तानीका लागि प्रयोग हुने यस्ता माध्यमहरूले एक–अर्कालाई अन्तरआबद्धताका लागि सहभागिता जनाउन रोक लगाउन पाउनेछैनन् । तर, यसक्रममा प्रणालीको सुरक्षामा जोखिम हुने वा नकारात्मक प्रभाव पर्ने अवस्थामा भने अन्तरआबद्धता नगराउन पनि सक्नेछन् । यसको स्पष्ट आधार र कारण भने यस्ता संस्थाहरूले राष्ट्र बैंकलाई जानकारी गराउनुपर्छ । त्यस्तै, यस्तो सेवा दिँदा भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायकले ग्राहकबाट प्राप्त हुने तथ्यांकको सुरक्षा तथा गोपनीयतासमेत कायम गर्नुपर्नेछ । 

कार्डमार्फत हुने कारोबारमा भने यस्तो अन्तरआबद्धता अनिवार्य गरिएको छैन । हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय कम्पनीहरू भिजा इंक र मास्टर कार्ड इंकले बनाएका कार्ड ग्राहकलाई उपलब्ध गराउँदै आएका छन् । अन्तर्राष्ट्रिय कम्पनीहरू भएकाले पनि यीबीच तत्काल अन्तरआबद्धता गर्न नसकिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यसैले पस मेसिनको प्रयोग गरेर हुने भुक्तानीमा भने यस्तो अन्तरआबद्धता हुनेछैन । एटिएममा कार्डको प्रयोग गर्दा भने यसअघिदेखि नै अन्तरआबद्धता गरिएको छ । त्यसबाहेक ग्राहकले एक महिनामा दुईपटकसम्म अन्तरबैंक एटिएमको प्रयोग गर्दा शुल्क लाग्दैन । 

हाल मुलुकभित्र हुने सबै भुक्तानीलाई नेसनल पेमेन्ट स्विचका माध्यमबाट एउटै प्रणालीमा ल्याउने गरी यसको कार्यान्वयन भइरहेकाले पनि कार्डहरूको भुक्तानीका लागि प्रयोग हुने माध्यमबीच पनि कालान्तरमा अन्तरआबद्धता हुने राष्ट्र बैंकको भनाइ छ । 

ad
ad