१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

घरघरमै रुघाखोकी र ज्वरोका बिरामी, लक्षण मिले पनि गर्दैनन् कोरोना परीक्षण 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:१३:oo

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर त्रास बढाइरहेका वेला नेपाल पनि अछुतो छैन । रसुवामा शून्यमा झरेको कोरोना संक्रमण पुनः उकालो लागिरहेको छ । रसुवामा १९ देखि २६ पुससम्म कोरोनाका सक्रिय संक्रमित शून्य थियो । 

सक्रिय संक्रमितको संख्या शून्यमा झरेपछि ‘ग्रिनजोन’मा रहेको रसुवामा अहिले दैनिकजसो कोरोना संक्रमित भेटिएपछि रेडजोनतर्फ फर्किन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन् । पछिल्लो दुई सातादेखि जिल्लामा दैनिक २० देखि ३० जनासम्ममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरू अहिले घरघरमै भेटिन्छन् । तर, सबैले कोरोना परीक्षण भने गरेको पाइँदैन । सबैको कोरोना परीक्षण गर्ने हो भने अहिलेभन्दा अझै बढी संक्रमित भेटिने स्वास्थ्यकर्मीहरू बताउँछन् । 

पछिल्लो दुई सातायता रुघाखोकी, ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सुक्खाखोकीलगायतका समस्या देखिएका बिरामीहरू अस्पतालमा आउने गरेको जिबजिबे ग्रामीण अस्पतालका स्वास्थ्य सहायक उत्सव पौडेलले बताए । पछिल्लो समय दैनिक ५० जनासम्म यस्ता समस्या भएका बिरामी अस्पतालमा आउने गरेको उनले बताए । ‘गाउँगाउँमा सबैलाई रुघाखोकी, ज्वरो, शरीर दुख्ने समस्या रहेको छ, हरेक घरघरमा यस्ता समस्याका बिरामी भेटिन्छन्,’ उनले भने । 
रसुवा अस्पताल धुन्चेमा पनि रुघा, सुक्खाखोकी, ज्वरो, टाउको दुख्ने, शरीर दुख्नेलगायतका समस्या लिएर दैनिक करिब २० जनाभन्दा बढी आइरहेको अस्पतालका सूचना अधिकारी भुवन केसीले बताए । तीन दिनदेखि पाँँच दिनसम्म यस्तो समस्या देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कतिपयले अस्पताल नआई घरेलु उपचार गराउने गरेको पाइएको छ । 

अस्पताल आउने अधिकांश बिरामीमा कोरोना पजिटिभ पाइएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । जिबजिबे ग्रामीण अस्पतालमा २५ जनामा गरिएको कोरोना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको पौडेलले बताए । ‘अस्पताल आएकाहरूमध्ये एन्टिजेनबाट गरिएको कोरोना परीक्षणमा दिनमा १५ जनासम्ममा कोरोना पजिटिभ आएको छ, ६ माघदेखि कोरोना संक्रमित हुने दर दैनिक बढेको छ,’ पौडेलले भने, ‘कोरोनासँग मिल्दोजुल्दो समस्या लिएर आएकालाई शंका लागेर हामीले एन्टिजेनमार्फत कोरोना भए नभएको जाँच गर्ने गरेका छौँ ।’ 

स्वास्थ्य समस्या लिएर आएका बिरामीहरूमा कोरोनाको पहिलो र दोस्रो लहरको जस्तो जटिल समस्या अहिले नदेखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । भाइरल सिजनल प्mलु हुँदा उपचार गर्ने तरिकाले नै उपचार भइरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अहिले अक्सिजन दिनुपर्ने अवस्था नरहेकोसमेत उनीहरूले बताएका छन् । 

कोरोनाको लक्षण मिल्दाजुल्दा केही बिरामीले कोरोना परीक्षण गर्न नमान्ने गरेको स्वास्थ्य कार्यालय रसुवामा सूचना अधिकारी भुवन केसी बताउँछन् । ‘कतिपय कोरोनासँग मिल्दाजुल्दा बिरामीहरू अस्पतालमै आएका हुन्छन्, कोरोना परीक्षण गर्नुपर्यो भन्दा मान्दैनन्,  आइसोलेसन बस्नुपर्छ कतै जान पाइँदैन भन्दै त्यसै फर्किन्छन्,’ उनले भने, ‘केही दिनअघि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका केही बिरामी जाँच गर्न नमानी फर्कनुभयो ।’ 

स्वास्थ्यकर्मीमा पनि बढ्दो संक्रमण
पछिल्लो समय स्वास्थ्यकर्मीहरूमा पनि कोरोना संक्रिमत हुने क्रम बढेको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै जिबजिबे ग्रामीण अस्पतालका २३ जना स्वास्थ्यकर्मीमध्ये १५ जनामा कोरोना पुष्टि भइसकेको छ । रसुवा अस्पताल धुन्चे र जिलाका अन्य स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूमा पनि कोरोना संक्रमण भएको पाइएको छ । 

कोरोनाको पहिलो र दोस्रो लहरको समयमा पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने गरिएको थियो । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नुवाकोट जानुपर्ने बाध्यता थियो । 

पछिल्लो समय जिल्लामा एन्टिजेनमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । एन्टिजेनमार्फत कोरोना परीक्षण गर्नका लागि केही दिनअघि बागमती प्रदेशबाट ९ सय एन्टिजेन किट जिल्लामा आएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । प्राप्त किटहरू जिल्लाका पाँचवटै स्थानीय तहको मागबमोजिम स्थानीयस्तरमै पठाइएको उनले बताए । 

जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा भने ल्याबमा काम गर्ने जनशक्ति नहुँदा परीक्षण हुन नसकेको उनले बताए । ‘स्थानीय तहको मागबमोजिम कोरोना परीक्षणका लागि एन्टिजेन पठाएका छौँ, तर आमाछोदिङ्मो गाउँपालिकामा भने जनशक्ति नहुँदा समस्या छ,’ उनले भने । पछिल्लो समय जिल्लामा कोरोना परीक्षणको दायरा बढ्दै गएको उनले दाबी गरेका छन् । 

ad
ad