मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १३ बिहीबार ०६:१०:००
Read Time : > 11 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभामा सत्तागठबन्धनको वर्चश्व

Read Time : > 11 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १३ बिहीबार ०६:१०:००

१९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट बच्यो

राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा पाँचदलीय सत्तागठबन्धनका १८ उम्मेदवार विजयी भएका छन् । आगामी २० फागुनमा समयावधि सकिन लागेका सिटका लागि भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेका एकजना विजयी भएका हुन् । प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट बचेको छ । 

निर्वाचन आयोगका अनुसार सातै प्रदेशका गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित भएका छन् । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन भएको हो । 

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता छन् । स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेश सभाका पाँच सय ३२ मतदाता थिए । तर, १८ जना मतदाता अनुपस्थित रहे । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ । 

पाँचदलीय सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सिट बाँडेर संयुक्त उम्मेदवारी दिएका थिए । निर्वाचनमा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि थिए । मधेस प्रदेशमा एमाले र लोसपाबीच तालमेल भएको थियो ।

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने आठ सिटमा भागबन्डा गरेका थिए । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदै छ । गठबन्धनले एमालेलाई आफ्ना आठ सिट जोगाउन कठिन बनाइदिएको थियो । 

रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने गठबन्धनबीच सहमतिअनुसार उम्मेदवारी परेको थियो । एमालेसँग भएका आठ सिटमा भने कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिएका थिए। 

त्यसमध्ये जसपाले पाएको प्रदेश १ को एउटा सिटमा गठबन्धनले जित निकाल्न सकेन । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सातै प्रदेश मुकामको निर्वाचन केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए ।

प्रदेश १ मा गठबन्धनका दुई र एमालेका एक विजयी
प्रदेश १ मा गठबन्धनका दुई र एमालेका एकजना उम्मेदवार विजयी भएका छन् । कुल तीन पदका लागि विभिन्न दल र गठबन्धनका तर्फबाट आठजनाले उम्मेदवारी दिएका थिए । मतपरिणामअनुसार महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई र खुलातर्फ कांग्रेसका गोपाल बस्नेत विजयी भएका हुन् । त्यस्तै, अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए । 

खुलातर्फ एमालेका गुरु बराल र कांग्रेसका गोपाल बस्नेतले बराबरी चार हजार चार सय ८८ मतभार प्राप्त गरे । मत बराबरी भएपछि गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी भए । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐन, २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी भोजपुरकी जयन्तीले प्रदेश सभाको ५२ र स्थानीय तहको एक सय २२ जना जनप्रतिनिधिको मतबाट चार हजार ६ सय ९२ मतभार प्राप्त गरिन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका एक सय ४१ जनप्रतिनिधिको चार हजार तीन सय ६२ मत प्राप्त गरिन् । राप्रपाकी उम्मेदवार रञ्जु प्याकुरेलले प्रदेशमा एक र स्थानीय तहमा चार जनप्रतिनिधिको मत मात्र प्राप्त गरिन् । 

अल्पसंख्यकतर्फ सोलुखुम्बुका एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पाले पालिकातर्फ एक सय ५२ र प्रदेश सांसदतर्फ ४२ मतबाट चार हजार सात सय ५२ मतभार प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादीका भोजपुरका उम्मेदवार हेमराज राईले चार हजार तीन सय ६८ मतभार प्राप्त गरे । 

प्रदेश १ मा कुल ९२ जना प्रदेश सांसद र दुई सय ७२ जना पालिका प्रमुख र उपप्रमुख मतदातामध्ये एक सांसद र दुई जनप्रतिनिधिले मतदान गरेनन् । मतदान नगर्नेमा पालिकातर्फ विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की र झापा गौरीगन्ज नगरपालिका प्रमुख बाबुराजा श्रेष्ठ रहे । उपप्रमुख कार्की गम्भीर बिरामी भएर उपचारका लागि काठमाडौंमा रहेकाले र प्रमुख श्रेष्ठ पनि बिरामी रहेको कारण देखाउँदै मतदान गर्न आएनन् । 

प्रदेश १ सांसद एमालेकी गुलेफन मियाँ सरकारी कागजात किर्ते कसुरमा जिल्ला र उच्च अदालतले जरिवनासहित एक वर्ष कैद सजाय तोकेको हुँदा प्रहरीले पक्राउ गर्ने भयले मतदानमा सहभागी भइनन् । यता एक मात्र प्रदेश सांसद भए पनि राप्रपाका खुलातर्फका उम्मेदवार अम्बरबहादुर विष्टले प्रदेश सांसदतर्फ दुई मत प्राप्त गरे । जसको कारण एमालेका गुरु बरालले हार व्ष्होर्नुपर्‍यो । 

प्रदेश १ मा खुला, महिला र अल्पसंख्यक/अपांगतातर्फ एक–एक गरी जम्मा तीन सदस्यका लागि निर्वाचन सम्पन्न भएको हो । एमालेबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्य नैनकला ओझा, अगमप्रसाद बान्तवा राई र परशुराम मेघी गुरुङको पदावधि आगामी २० फागुनदेखि समाप्त हुँदै छ ।

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी 
राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेशमा दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण प्रतिष्ठानमा भएको मतदानमा अन्य तर्फबाट जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् । 

सिद्दिकीले स्थानीयत तहतर्फ एक सय ७१ मत अर्थात् तीन हजार ७८ मतभार प्राप्त गरेका छन् । अर्यालले स्थानीय तहतर्फ एक सय ५८ मत अर्थात् दुई हजार आठ सय ४४ मतभारत प्राप्त गरेकी थिइन् । प्रदेश सभातर्फ ६९ मत अर्थात् तीन हजार तीन सय १२ मतभार र सिद्दिकीले ७५ मत अर्थात् अर्थात् तीन हजार ६ सय मत प्राप्त गरेका छन् । यसरी स्थानीय तह र प्रदेश गरी सिद्दिकीले ६ हजार ६ सय ७८ मतभार र अर्यालले ६ हजार एक सय ५६ मत पाएका छन् । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार अर्यालका प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्थानीय तह ८१ मत अर्थात् एक हजार चार सय ५८ र प्रदेशतर्फ २७ मत अर्थात् एक हजार दुई सय ९६ मत गरी कुल मतभार दुई हजार सात सय ५४ पाएकी थिइन् । त्यसैगरी, एमालेकी उम्मेदवार विनादेवी यादवले स्थानीय तहतर्फ नौ अर्थात् एक सय ६२ मतभार र प्रदेशतर्फ तीन अर्थात् एक सय ४४ गरी तीन सय सय ६ मतभार पाएकी हुन् । 

त्यसैगरी, सिद्दिकीका प्रतिद्वन्द्वी तथा एमाले र लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीले स्थानीय तहतर्फ ८७ मत अर्थात् एक हजार पाँच सय ६६ र प्रदेशतर्फ २५ अर्थात् एक हजार दुई सय गरी कुल दुई हजार सात सय ६६ मतभार प्राप्त गरेका छन् । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार अन्य कोटामा प्रदेशतर्फ दुई र स्थानीय तहतर्फ ६ गरी आठ मत बदर भएको थियो भने महिला कोटामा प्रदेशतर्फ तीन र स्थानीय तहतर्फ १६ गरी १९ मत बदर भएको थियो ।

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि तीन सय ७२ मतदाता रहेकोमा तीन सय ६६ जनाले मात्रै मतदान गरेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदानमा प्रदेश सभाका दुई सांसद र स्थानीय तहका चार गरी ६ जना प्रतिनिधि अनुपस्थित रहेका थिए । एकीकृत समाजवादीका प्रदेश सांसद गोविन्द न्यौपाने र जसपाकी सांसद रागिनीदेवी वरनवाल मतदानमा अनुपस्थित रहेका थिए । सप्तरीनिवासी न्यौपाने अमेरिका भ्रमणमा गएको र पर्सा निवासी वरनवाल पनि देशबाहिर रहेकाले मतदानमा सहभागी नभएको बताइएको छ । 

त्यसैगरी, स्थानीय तहतर्फ धनुषा जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेष, बारा विश्रामपुर गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा देवी, रौतहट राजपुर नगरपालिकी उपमेयर जसिना खातुन र रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाहा मतदानमा अनुपस्थित रहेका थिए । जनकनन्दनी गाउँपालिकाका अध्यक्ष शेष क्यान्सरको उपचारको क्रममा भारत दिल्लीमा रहेका छन् । 

 बागमतीमा पौडेल र तिमल्सिना विजयी
राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार हेटौँडा– ८ औद्योगिक क्षेत्रमा भएको मतदान प्रक्रियाबाट अन्यतर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका हुन् । 

तिमल्सिनाले स्थानीय तहतर्फ एक सय १६ मत अर्थात् दुई हजार ८८ मतभार र प्रदेशतर्फ ५७ मत अर्थात् दुई हजार सात सय ३६ मतभार गरी कुल चार हजार आठ सय २४ मतभार प्राप्त गरिन् । त्यस्तै, पौडेलले स्थानीय तहतर्फ एक सय १७ मत अर्थात् दुई हजार एक सय ६ मतभार र प्रदेशतर्फ ५६ मत अर्थात् दुई हजार ६ सय ८८ मतभार गरी कुल चार हजार सात सय ९४ मतभार प्राप्त गरे । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ एक सय १७ मत अर्थात् दुई हजार एक सय ६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात दुई हजार दुई सय ५६ मतभार प्राप्त गरिन् । उनले कुल चार हजार तीन सय ६२ मतभार प्राप्त गरेकी थिइन् । एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ एक सय १६ मत अर्थात् दुई हजार ८८ मतभार प्राप्त गरे । उनले प्रदेशतर्फ ४७ मत अर्थात् दुई हजार दुई सय ५६ मतभार गरी कुल चार हजार तीन सय ४४ मतभार प्राप्त गरे ।

नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ दुई मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ दुई मत अर्थात् ४८ मतभार प्राप्त गरिन् । काफ्लेले कुल ८४ मतभार प्राप्त गरिन् । नेमकिपाका अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ दुई मत अर्थात ३६ मतभार र प्रदेशतर्फ दुई मत अर्थात् ४८ मतभार प्राप्त गरेका थिए । उनले पनि कुल ८४ मतभार प्राप्त गरे ।

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा तीन सय ४६ मतदाता रहेका थिए । प्रदेश सभा सदस्यको एक सय नौमध्ये एक सय ६ मत खसेको थियो । स्थानीय तहतर्फ शतप्रतिशत अर्थात् दुर्ई सय ३७ मत नै खसेको थियो । दुई मत बदर भएको थियो ।

निर्वाचनमा स्थानीयतर्फ एक मतको मतभार १८ र प्रदेशतर्फ एक मतको मतभार ४८ रहने व्यवस्था छ । मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले भने सहभागिता जनाएन । विवेकशीलको प्रदेशतर्फ तीन मत रहेको थियो ।

राप्रपाका दुईजना बागमती प्रदेश सांसदले राष्ट्रिय सभाको निर्वाचनमा मतदान गरेका छन् । प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्नो उम्मेदवार नभएकाले आफ्नो पार्टीले मतदान नगर्न राप्रपाले निर्णय गरे पनि राप्रपाका बागमती प्रदेश सभा सांसद रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन् । मतदानमा सहभागी रिता माझीले पार्टीले अन्तिम समयमा मतदान गर्न निर्देशन दिएकाले राष्ट्रिय सभामा मतदान गरेको बताइन् । राप्रपाको स्थानीय तहमा पनि दुईजना जनप्रतिनिधि छन् । उनीहरू पनि मतदान प्रक्रियामा सहभागी भएका छन् ।

गण्डकीमा गठबन्धनका तीनैजना निर्वाचित 
राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा गण्डकीमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनका केही मत एमाले उम्मेदवारले पाएका छन् । तीनजना सदस्यका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ गठबन्धनकी उम्मेदवार कांग्रेसकी कमला पन्त, अन्यमा माओवादीका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका छन् । पन्त तीन हजार ४८ मतभार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतले दुई हजार सात सय २७ मतभार ल्याइन् ।

अन्य समूहमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादीका आलेमगर तीन हजार ९६ मतभार ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले दुई हजार ६ सय ९४ मतभार पाए । दलिततर्फ माओवादी केन्द्रका भुवन सुनार तीन हजार ४८ मतभार ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले दुई हजार सात सय २४ मतभार ल्याए । 

गठबन्धनका दुई सांसद र पाँच प्रमुख–उपप्रमुखको मत क्रस 
गण्डकीमा पाँच हजार सात सय ६८ मतभार रहेकामा एमालेको दुई हजार पाँच सय ३८ र गठबन्धनको तीन हजार तीन सय ३६ मतभार थियो । गठबन्धनका दुईजना सांसदले एमाले उम्मेदवारलाई मत दिएका छन् । एमालेसँग २७ सांसद रहेकोमा एमालेका दुई उम्मेदवारले २९–२९ सांसदको मत पाएका छन् । एक उम्मेदवारले भने २८ सांसदको मत पाएका छन् । गठबन्धनका एक सांसदले कुनै पनि उम्मेदवारलाई मत नदिएको पाइएको छ । 

संसद्मा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जसपाका दुई, जनमोर्चाका दुई र एक स्वतन्त्र सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ मन्त्रिपरिषद्कै सदस्य छन् । ६० सदस्यीय प्रदेश सभामा जनमोर्चाका एक सांसद निलम्बनमा परेसँगै अहिले ५९ सदस्यीय छ । 

८५ स्थानीय तहको एक सय ७० सिटमध्ये अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयर गरी ७० जना एमाले जनप्रतिनिधि छन् । दुइजना उपप्रमुख राप्रपाले जितेको हो भने बाँकी गठबन्धनका प्रमुख–उपप्रमुख हुन् । त्यसमध्ये पनि एमालेका लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट अमेरिका छन् । उनको संख्या घटाउँदा एमालेसँग ६९ पदाधिकारी रहन्छन् । तर, राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेदवारलाई ७४ जनाले मत दिएका छन् ।

दुईजना उम्मेदवारलाई दुईजना स्थानीय तहका उम्मेदवारले मत दिएका छैनन् भने एमाले उम्मेदवार पौडेललाई ७५ जना स्थानीय तहका प्रमुख–उपप्रमुखले मत दिएका छन् । गठबन्धन दलका दुई सांसद र पाँचजना प्रमुख–उपप्रमुखले आफूहरूलाई मत दिएको एमाले सांसद धनञ्जय दवाडीले बताए । उनले राजनीतिक रूपमा आफूहरूको विजयी भएको बताए । गठबन्धनका दुई सांसदले एमाले उम्मेदवारलाई मत मत दिएको कांग्रेस सांसद प्रकाशचन्द्र दवाडीले स्विकारे । एक सांसद तटस्थ बसेको र यी विषयमा समीक्षा हुने उनले बताए । गठबन्धनका पाँचदेखि आठजना स्थानीय तहका प्रमुख–उपप्रमुखले पनि एमाले उम्मेदवारलाई मतदान गरेको उनले बताए । 

लुम्बिनीमा गठबन्धनका तीन उम्मेदवार विजयी 
लुम्बिनीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणामअनुसार गठबन्धनअन्तर्गत कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राजमोका तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन् ।

महिलातर्फका उम्मेदवार गैरेले प्रदेशतर्फ २,१६० र स्थानीय तहतर्फ १,५८४ गरी ४,३७४ मत प्राप्त गरेकी थिइन् । अन्य समुदायका शर्माले प्रदेशतर्फ २,११२ र स्थानीय तहतर्फ २,२३२ गरी जम्मा ४,३४४ प्राप्त गरे । यस्तै, दलित समुदायका विश्वकर्माले प्रदेशतर्फ २,१६० र स्थानीयतर्फ २,१९६ गरी जम्मा ४,३५३ मत प्राप्त गरेर विजयी भएका हुन् ।

त्यस्तै, एमालेको तर्फबाट अन्य समुदायका दाङका रामदयाल गुप्ताले प्रदेशतर्फ १,७७६ र स्थानीयतर्फ १,६०२ गरी ३,३७८ मत प्राप्त गरे । महिलातर्फका बाँकेकी भारती खनाल उपाध्यायले प्रदेशतर्फ १,७२८ र स्थानीयतर्फ १,५८४ गरी ३,३१२ प्राप्त गरिन् । गुल्मीका कृष्ण सुनारले प्रदेशतर्फ १,७२८ र स्थानीय तहतर्फ १,६२० गरी जम्मा ३,३४८ मत प्राप्त गरेका थिए । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चारवर्षे कार्यकाल आगामी २० फागुनमा सकिँदै छ । 

कर्णालीमा गठबन्धनका तीन उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा पनि गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेसकी दुर्गा गुरुङ, एकीकृत समाजवादीका उदयबहादुर बोहरा र माओवादीका नरबहादुर विष्ट निर्वाचित भएका हुन् । कांग्रेसकी गुरुङले दुई हजार नौ सय ७०, एकीकृत समाजवादीका बोहराले तीन हजार ६ र नेकपा माओवादीका विष्टले तीन हजार ६ मतभार ल्याए ।

त्यस्तै, एमालेका तीनैजना उम्मेदवारले समान १,४१६ मतभार प्राप्त गरे । एमालेबाट चूडामणि शर्मा (सुर्खेत) अपांग, पदबहादुर माझी अन्य र गंगा थापा महत महिलाबाट राष्ट्रिय सभा पदका लागि उम्मेदवार रहेका थिए । 

तीन सिटका लागि कर्णालीमा भएको मतदानमा एक सय ९१ मतदातामध्ये एक ८९ जनाले मतदान गरे । प्रदेश सभा सदस्य एकजना र पालिकाका उपप्रमुख एकजना मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् । राप्रपाबाट निर्वाचित प्रदेश सभा सदस्य सोसिला शाही र कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली मतदानमा अनुपस्थित भए । 

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा एकीकृत समाजवादीका गरिमा शाह, दलितमा माओवादीका जगतबहादुर पार्की र अन्य समूहतर्फ सदस्यमा कांग्रेसका नारायणदत्त मिश्र निर्वाचित भएका हुन् ।

महिला सदस्यमा निर्वाचित शाहले प्रदेश सभा सदस्यको ३९ र स्थानीय तहका जनप्रतिनिधिको एक सय नौ मत गरी कुल तीन हजार आठ सय ३४ मतभार प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमारी शर्माले प्रदेश सभातर्फ १२ र स्थानीय तहतर्फ ६४ मतसहित एक हजार सात सय २८ मतभार प्राप्त गरिन् । प्रदेश सभाको एक र स्थानीय तहको दुई मत बदर भए । 

दलित सदस्यका उम्मेदवार पार्की प्रदेश सभातर्फ ३९ र स्थानीय तहतर्फ एक सय पाँच मतसहित कुल तीन हजार सात सय ६२ मतभारसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका नरेशकुमार विश्वकर्माले प्रदेश सभाको १२ र स्थानीय तहको ६७ मत गरी एक हजार सात सय ८२ मतभार प्राप्त गरे । दलित सदस्यमा प्रदेश सभाको एक र स्थानीय तहको तीन मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, अन्य समूहतर्फ सदस्यमा विजयी मिश्रले प्रदेश सभाको ३९ र स्थानीय तहको एक सय चार मतसहित तीन हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भट्टले प्रदेश सभाको १३ र स्थानीय तहको ६९ मतसहित एक हजार आठ सय ६६ मतभार प्राप्त गरे । स्थानीय तहका दुई मत बदर भए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिममा प्रदेश सभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख–उपप्रमुखसहित एक सय ७५ जना गरी कुल दुई सय २७ जना मतदाता रहेका थिए । शतप्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । 

५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादीका १३, कांग्रेसका १२ र जसपाका एकजना सदस्य गरी सत्तागठबन्धनका ४० मत छन् । तर, गठबन्धनका तीनै उम्मेदवारले प्रदेश सभातर्फको ३९ मत मात्र पाए । महिला र दलित सदस्यतर्फ प्रदेश सभा सदस्यको एक–एक मत खाली भएपछि बदर भएको हो । प्रदेश सभामा एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य छन् । प्रदेश सभातर्फ एमालेका दुईजना उम्मेदवारले १२ मत पाउँदा एकजनाले भने १३ मत पाए ।

८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ७५ मतदाता रहेकोमा एमालेका ७१ मतदाता थिए । तर, केही जनप्रतिनिधि कानुनी रूपमा एमाले रहे पनि एकीकृत समाजवादीमा लागेका छन् । अहिले एमालेमा रहेका प्रमुख र उपप्रमुखको संख्या ६६ रहेको उक्त पार्टीले जनाएको छ । स्थानीय तहमा एमाले मतदाता संख्याअनुसार एमाले उम्मेदवार थापाले दुई मत कम पाउँदा भट्टले तीन मत बढी पाए ।

राष्ट्रिय सभा : ३१ बाट १७ सिटमा खुम्चियो एमाले

१५ सदस्यसहित माओवादी दोस्रो र १० सदस्यसहित कांग्रेस तेस्रो शक्ति

भदौयता एमालेले राष्ट्रिय सभामा १४ सिट गुमाएको छ । लगातार सदस्य गुमाए पनि एमाले राष्ट्रिय सभामा १७ सदस्यसहित अझै पहिलो शक्तिमा कायमै रहनेछ । गत ८ भदौसम्म राष्ट्रिय सभामा एमालेका ३१ सांसद थिए । तर, ९ भदौमा एमाले विभाजन हुँदा सात सांसद माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए । 

अहिले राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका २४ जना सांसद छन् । तर, आगामी २० फागुनबाट एमालेका सात सांसद घट्नेछन् । बुधबार १९ सिटका लागि भएको निर्वाचनमा एमालेले सात सिट गुमाएको छ । निर्वाचनमा एमालेले एक सिट मात्र जितेको छ, जब कि उसका आठ सांसद चारवर्षे कार्यकाल सकिएर २० फागुनबाट बिदा हुँदै छन् । ०७४ मा भएको निर्वाचनपछि राष्ट्रिय सभामा एमालेका सांसद २७ थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा त्यसवेला एमाले सबैभन्दा ठूलो शक्ति बनेको थियो । 

३ जेठ ०७५ मा १२ सिट भएको माओवादी र २७ सिट भएको एमालेबीच एकता भएपछि राष्ट्रिय सभामा नेकपाका ३९ सांसद बनेका थिए । ०७६ मा दुईवर्षे कार्यकाल सकिएर १९ जना सांसद बिदा भए । 

दुईवर्षे कार्यकाल सकिनेमध्ये एकजना मनोनीत थिए, बाँकी १८ सिटका लागि ०७६ माघमा निर्वाचन हुँदा नेकपालाई फाइदा र कांग्रेसलाई धक्का भयो । निर्वाचनमा नेकपाले १६ सिट जित्यो । अर्कातिर, एमालेका आठ सांसद दुईवर्षे कार्यकाल पूरा गरी बिदा भए । त्यसपछि पनि राष्ट्रिय सभामा नेकपाका ४७ सांसद थिए । 

२३ फागुन ०७७ मा सर्वोच्च अदालतको आदेशले एमाले र माओवादीबीचको एकता भंग भयो । एमाले र माओवादी पार्टी एकतापूर्वकै अवस्थामा फर्किए । त्यसवेला राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका ३१ र उपाध्यक्षसहित माओवादीका १६ सांसद थिए । 

२० फागुनपछि राष्ट्रिय सभामा १५ सांसदसहित माओवादी दोस्रो शक्ति हुनेछ । यसबाहेक १० सांसदसहित कांग्रेस तेस्रो र आठ सांसदसहित एकीकृत समाजवादी राष्ट्रिय सभाको चौथो शक्ति रहनेछ । यसबाहेक राष्ट्रिय सभामा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनीत तीनजना रहनेछन् ।

मनोनीतमध्ये एक रामनारायण बिडारीको कार्यकाल २० फागुनबाट सकिँदै छ । उनी माओवादीनिकट छन् । उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे गठबन्धनले केही बताएको छैन ।