मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राष्ट्रिय सभा सदस्यमा निर्वाचित बाँयाबाट क्रमशः मिश्र, पार्की र शाह ।
२०७८ माघ १२ बुधबार १९:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट गठबन्धनका सबै उम्मेदवार विजयी

Read Time : > 1 मिनेट
२०७८ माघ १२ बुधबार १९:२०:००

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा नेकपा (एकीकृत समाजवादी) की गरिमा शाह, दलितमा नेकपा (माओवादी केन्द्र)का जगतबहादुर पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका हुन् ।
    
महिला सदस्यमा निर्वाचित शाहले प्रदेश सभा सदस्यको ३९ र स्थानीय तहका जनप्रतिनिधिको एक सय नौ मत गरी कुल तीन हजार ८३४ मतभार प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमारी शर्माले प्रदेश सभातर्फ १२ र स्थानीय तहतर्फ ६४ मतसहित एक हजार ७२८ मतभार प्राप्त गरिन् । प्रदेश सभाको एक र स्थानीय तहको दुई मत बदर भए ।

दलित सदस्यका उम्मेदवार पार्की प्रदेश सभातर्फ ३९ र स्थानीय तहतर्फ एक सय पाँच मतसहित कुल तीन हजार ७६२ मतभारसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका नरेशकुमार विश्वकर्माले प्रदेश सभाको १२ र स्थानीय तहको ६७ मत गरी एक हजार ७८२ मतभार प्राप्त गरे । दलित सदस्यमा प्रदेश सभाको एक र स्थानीय तहको तीन मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

अन्य समूहतर्फ सदस्यमा विजयी मिश्रले प्रदेश सभाको ३९ र स्थानीय तहको एक सय चार मतसहित तीन हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भट्टले प्रदेश सभाको १३ र स्थानीय तहको ६९ मतसहित एक हजार ८६६ मतभार प्राप्त गरे । स्थानीय तहका दुई मत बदर भए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिममा प्रदेश सभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख–उपप्रमुखसहित एक सय ७५ जना गरी कुल दुई सय २७ जना मतदाता रहेका थिए । शतप्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । 

५२ सदस्यीय प्रदेश सभामा नेकपा समाजवादीका १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका एकजना सदस्य गरी सत्ता गठबन्धनका ४० मत छन् । तर गठबन्धनका तीनै उम्मेदवारले प्रदेश सभातर्फको ३९ मत मात्र पाए । महिला र दलित सदस्यतर्फ प्रदेश सभा सदस्यको एक एक मत खाली भएपछि बदर भएको हो।   

प्रदेश सभामा एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य छन् । प्रदेश सभातर्फ एमालेका दुईजना उम्मेदवारले १२ मत पाउँदा एकजनाले भने १३ मत पाए ।

८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ७५ मतदाता रहेकामा एमालेका ७१ मतदाता थिए । तर केही जनप्रतिनिधि कानुनी रूपमा एमाले रहे पनि समाजवादी पार्टीमा लागेका छन् । अहिले एमालेमा रहेका प्रमुख र उपप्रमुखको संख्या ६६ रहेको उक्त पार्टीले जनाएको छ । स्थानीय तहमा एमाले मतदाता संख्याअनुसार एमाले उम्मेदवार थापाले दुई मत कम पाउँदा भट्टले तीन मत बढी पाए।