Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
म्याथ्यु विल्स
२०७८ माघ ९ आइतबार ०७:१६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

डार्बिनको खोजमा लिंगभेदको गन्ध 

देश/परदेश

Read Time : > 2 मिनेट
म्याथ्यु विल्स
२०७८ माघ ९ आइतबार ०७:१६:००

उपलब्ध प्रमाणअनुसार डार्बिनले अधिकांश पोथीहरूमा हुने भिन्नता, रणनीति र यहाँसम्म कि कामुकताको महत्वलाई पनि कम आँकेका थिए

जीवविज्ञानका कोणबाट हेर्ने हो भने यौनसम्बन्ध अत्यधिक लागत लाग्ने कार्य हो । उपयुक्त सहवास साथीका लागि धेरै धन र ऊर्जाको आवश्यकता पर्छ । सन्तति भनेको स्रोतहरूको लगानी पनि हो । तर, यौनसम्बन्धले पुरस्कारयोग्य सम्भावना पनि देखाउँछ अर्थात् वंशाणुको नयाँ र ‘अब्बल’ सम्मिश्रणका कारण आमाबुबाभन्दा सन्तति बढी स्वस्थ हुने सम्भावना हुन्छ । यही दलिलका आधारमा चाल्र्स डार्बिनले थुप्रै जनावर प्रजाति आफ्नो सहवास साथीको छनोट गर्दा चनाखो हुन्छन् भन्ने जानकारी दिएका थिए । स्वाभाविक रूपमा जैविक असमानता विद्यमान छन् । शुक्रकीटका तुलनामा डिम्बको संख्या निकै कम हुन्छ । त्यसैगरी भ्रूणका लागि शरीर वा शरीरबाहिर बढी लगानी आवश्यक रहन्छ । यो लगानीका लागि पोथी बढी जिम्मेवार हुन्छन् र पोथीहरू यौनसम्बन्धको छनोटमा अगाडि हुन्छन् भने भाले छानिने प्रतिस्पर्धामा रहन्छ ।  

तर, हालै ‘साइन्स’मा प्रकाशित एक नयाँ शोधपत्रअनुसार चाल्र्स डार्बिनको पितृसत्तात्मक विश्वदृष्टिकोणले मानव प्रजातिमा हुने महिलाको स्वायत्तता र यौनिक छनोटलाई खारेज गरेको थियो भन्ने तर्क गरिएको छ । डार्बिनले अन्य जीव प्रजातिका पोथीहरूमा एकरूपता हुने र निर्णय पनि समान किसिमका हुने भन्दै पोथीहरूको विविधतालाई पनि बेवास्ता गरेका थिए । डार्बिनियन मतअनुसार पोथीहरूलाई देखाउन भालेहरूमा सीप र सुन्दरताको अत्यधिक विविधता हुने गरेको छ । तर, के डार्बिनको यौनिक छनोटसम्बन्धी विचार सान्दर्भिक छ ? 

यौनिक छनोट प्रक्रिया सोचेभन्दा बढी जटिल छ । जब सहवास साथी छानिन्छ, भाले सहवास साथीको उपस्थिति, आवाज र गन्धजस्ता गुण हेरिन्छ । यी गुण सम्भावित बाँच्न सक्ने क्षमता (सर्भाइभल) का लागि उपयुक्त मार्गदर्शन बन्न पुग्छ । उदाहरण हरिणका ठूला सिङहरू लड्ने क्षमता, प्रभुत्व र समग्रमा शारीरिक तन्दुरुस्तीका राम्रा सूचक हुन् । तर, धेरै यस्ता लक्षणको पनि छनोट हुन्छ, जुन आकर्षक भए पनि आनुवंशिक गुणवत्ताका लागि उपयुक्त नहुन सक्छन् । 

पर्याप्त सन्तति रहेका वेला पोथीहरूले सन्ततिको बाँच्ने सम्भावना कम हुने गरी सहवास साथीको छनोट पनि गर्न सक्छन् । उदाहरणका लागि पोसिलिड माछाका केही प्रजातिमा आफ्नो अस्तित्व नै कम गर्ने गरी भालेप्रति वंशाणुगत आकर्षण हुन्छ । तसर्थ, पोथीहरू बढी आकर्षक भालेलाई सहवास साथी बनाएर कमजोर सन्तति वा कमसल भालेलाई सहवास साथी बनाएर बलियो सन्तति छनोट गर्ने द्विविधाको सामना गर्छन् । यसकारण पोथीहरू भालेहरूमा ती लक्षणको छनोट गर्न सक्छन्, जसका स्वाभाविक रूपमा प्रजातिकै जीवित रहने क्षमतासँग कुनै सरोकार नहुन सक्छ । मयूरको प्वाँख मयूरका लागि धेरै अर्थले अपांगता हो अर्थात् ती प्वाँखले उडानमा बाधा निम्त्याउँछ र सम्भावित सिकार हुनबाट जोगिन मद्दत गर्दैन । पोथीलाई आकर्षित गर्नेबाहेक प्वाँखको कुनै उपादेयता छैन । तथापि प्वाँखको भार व्यवस्थापन गर्ने भालेको क्षमता आफैँमा समग्र आनुवंशिक गुणस्तर र कठोरताको संकेत पनि हुन सक्छ ।

पोथीहरू सधैँ छनोट गर्दैनन् । पाइपफिसहरू (एक प्रजातिको माछा) मा भालेहरूले निषेचित अन्डाहरू कोरल्ने काम गर्छन् भने पोथीहरू भालेको ध्यान आकर्षित गर्न एकअर्कासँग प्रतिस्पर्धा गर्छन् । उत्कृष्ट सहवास साथीको छनोट प्रजातिका सबै प्राणीका लागि वा प्रजातिका विकास क्रममा सधैँ एकनासको हुँदैन । डार्बिनपछिका अनुसन्धानअनुसार सहवास साथीको छनोट डार्बिनले परिकल्पना गरेभन्दा धेरै जटिल प्रक्रिया हो । र, डार्बिनका अवधारणाविरुद्ध दुबै लिंगमा भिन्नता देख्न सकिन्छ । 

के त्यसो भए डार्बिनलाई लगाइएको लिंगभेदको आरोपमा सत्यता छ ? हो भने यो लिंगभेदले उनको वैज्ञानिक उपलब्धिलाई कमजोर बनाएको हो ? उपलब्ध प्रमाणका अनुसार डार्बिनले अधिकांश पोथीहरूमा हुने भिन्नता, रणनीति र यहाँसम्म कि कामुकताको महत्वलाई पनि कम आँकेका थिए । उदाहरण तत्कालीन मान्यताले पनि होला डार्बिनले सहवासपछिको यौनिक छनोटमा कम ध्यान दिएका थिए । पोथी चरा र स्तनधारीहरूले धेरै भालेलाई सहवासका लागि छनोट गर्न सक्छन् र यी भालेहरूका शुक्रकीटले प्रजनन पथभित्र एक वा धेरै डिम्ब÷अन्डाहरूका लागि प्रतिस्पर्धा गर्न सक्छन् ।

बिराला, कुकुर र अन्य जनावरमा धेरै बुबा भएको स्थिति पनि हुन सक्छ, जसलाई वैज्ञानिक भाषामा ‘हेट्रोपेटर्नल सुपरफेकुन्डेसन’ पनि भनिन्छ । पोथी ब्लु टिट्स (युरोपतिरको भँगेराजस्तो देखिने चरा) प्रायः आफ्नो सुरक्षा र सामथ्र्य सुनिश्चित गर्न धेरै भालेसँग सहवास गर्छ । नतिजा सम्भावित बाबुहरूका लागि पितृत्व अनिश्चित हुन्छ । यी उदाहरणले पोथीहरू अपेक्षाकृत रूपमा निष्क्रिय र गैररणनीतिक हुन्छन् भन्ने डार्बिनको धारणालाई चुनौती दिन्छन् ।

मूलतः डार्बिनको विश्व दृष्टिकोणलाई उनको समयको संस्कृतिले निर्माण गरेको थियो । सन् १८८२ को एक पत्रमा उनले पुरुषभन्दा महिलामा उच्च नैतिक गुणहरू रहे तापनि महिलाहरू बौद्धिक रूपमा पुरुषका बराबरी छैनन् भनेर लेखेका थिए ।

यी त्रुटिका बाबजुद तत्कालीन समयमा डार्बिनको बुझाइ सबैभन्दा प्रगतिशील थिए । आनुवंशिकी र वंशानुक्रमको पछिल्लो बुझाइ एक ठाउँमा ल्याउँदा डार्बिनका अवधारणा अझै पनि सबै आधुनिक विकासवादी जीवविज्ञानको आधार हुन् भन्ने देखिन्छ ।

द कन्भर्सेसनबाट (विल्स बाथ विश्वविद्यालयका प्राध्यापक हुन्)