मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ ८ शनिबार १५:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हराएका ३२२ महिला र बालबालिकाको अवस्था अज्ञात

Read Time : > 1 मिनेट
२०७८ माघ ८ शनिबार १५:०८:००

बाँकेमा हराएको भनी खोजतलासका लागि निवेदन दिइएका ५२५ मध्ये २०३ जना मात्र फेला परेका छन् । मानव बेचविखन तथा ओसार–पसारमा परेको भन्दै खोजतलासका लागि निवेदन दिएकामध्ये ३२२ जना महिला तथा बालबालिकाको अवस्था अज्ञात रहेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए । ‘खोजतलासका लागि निवेदन परेकामध्ये ३२२ जना कहाँ छन् भन्ने यकिन जानकारी छैन,’ उनले भने । 

कोइरालाका अनुसार सन् २०२१ मा श्रम तथा यौन शोषणमा परेका ११ जना महिला र बालबालिकाको भारतबाट उद्धार गरिएको थियो । भारतको विभिन्न सहरमा तीन पुरुष बन्धकका रूपमा रहेको बताउँदै उनले कानुनी जटिलताका कारण उद्धारमा समस्या आएको पनि बताए । ‘एकजना पुरुषलाई आफन्तले भेटेर आइसक्नुभयो, तर, धेरै प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले उद्धार गर्न सकिएको छैन,’ उनले भने, ‘प्रक्रिया पुर्‍याएर  छिट्टै उद्धार गर्ने योजना छ ।’

एक वर्षको अवधिमा नेपालगन्ज नाकाबाट चार सय ३४ जनाको उद्धार गरिएको कोइरालाले बताए । जोखिमपूर्ण यात्रामा रहेका उनीहरूलाई नेपालगन्ज नाकाबाट उद्धार गरी घर फिर्ता पठाएको पनि उनले बताए । उनले भने, ‘जोखिमपूर्ण यात्रामा रहेका चार सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।’

माइती नेपालका अनुसार, मानव बेचविखनको सवैभन्दा जोखिममा बाँके, सुर्खेत र दाङ रहेका छन् । कोइरालाले सन् २०२१ मा सुर्खेतका ६५, दाङका ६१, बाँकेका ५६ र बर्दियाका ४६ महिला र बालबालिकाको नेपालगन्ज नाकाबाट उद्धार गरिएको बताए ।

गर्भाशय भाडामा दिनेको संख्या बढ्दो 

माइती नेपाल नेपागन्जका प्रमुख कोइरालाले मानव अंग खरिद–विक्री गर्ने चलन पश्चिम नेपालमा नभए पनि गर्भाशय भाडामा दिने क्रम बढेको बताए । उनले गर्भाशय भाडामा दिने महिलाहरू खुल्न नचाहेका कारण यकिन तथ्यांक आउन नसकेको जिकिरसमेत गरे । गर्भाशय भाडामा दिएकामध्ये दुई–तीनजना सम्पर्कमा छन् । एकजनालाई ट्रायलका रूपमा लिएर अगाडि बढेका छौँ,’ उनले भने ।