१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ७ शुक्रबार १७:१४:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

भारत-जापान सम्बन्धका ७० वर्ष, सहकार्य सुदृढ हुने जापानी विश्वास

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ७ शुक्रबार १७:१४:००

यो वर्ष भारत र जापानबीच कूटनीतिक स्थापनाको ७० वर्ष भएको छ । यो वर्ष भारत स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव र जापान–भारत कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव परेको छ । भारतका लागि जापानी राजदूत सतोषी सुजुकीले जापान–भारत साझेदारीप्रति सन्तोष व्यक्त गर्दै भविष्यमा साझेदारी र सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । 

जापान र भारतबीचको औपचारिक सम्बन्ध सन् १९५२ मा सुरु भएको थियो । दोस्रो विश्वयुद्धपछि बहुपक्षीय सान फ्रान्सिस्को शान्ति सन्धिमा हस्ताक्षर गर्नुको सट्टा भारतले जापानसँग द्विपक्षीय शान्ति सन्धि गर्ने निर्णय गरेको थियो । भारत र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुअघि नै व्यापार, शैक्षिक र सांस्कृतिक आदानप्रदान भएको राजदूत सुजुकीले इन्डियन एक्सप्रेसमा उल्लेख गरेका छन् ।

सन् १९५१ मा भारतले नयाँदिल्लीमा पहिलो एसियाली खेलकुद आयोजना गर्दा जापानी खेलाडीहरूलाई निम्तो दिएको थियो। भारतमा जापानी झन्डा फहराइएको त्यो पहिलो अवसर थियो । ‘७० वर्षको बहुआयामिक सहकार्यपछि, हाम्रा दुई देशबीचको सम्बन्ध विशेष रणनीतिक र विश्वव्यापी साझेदारीको स्तरमा माथि उठेको छ। हाम्रो साझेदारी एसिया र बाहिर शान्ति, स्थिरता र विकास प्रवर्धन गर्न एकअर्काको योगदानको गहिरो सम्मानमा आधारित छ,’ राजदूत सुजुकीले भनेका छन्। हाल भारत र जापानबीच स्वतन्त्र र खुला इन्डो–प्यासिफिक (एफओआइपी) तथा अन्य विभिन्न विश्वव्यापी मुद्दाहरूमा सहकार्य गर्ने समझदारी भएको छ । जापानले भारतलाई प्राकृतिक साझेदार भनेको छ । 

भारत र  जापानले एसियाका प्रजातान्त्रिक राष्ट्रहरूको हैसियतमा विश्व शान्ति र समृद्धिका लागि योगदान दिन सक्ने राजदूत सुजुकीको विश्वास छ। उनले नियममा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्था निर्माणको प्रयास दुवै देशले जारी राखेको उल्लेख गर्दै  साइबर सुरक्षा, बाह्य अन्तरिक्ष र आर्थिक सुरक्षालगायतका सुरक्षा मामिलाहरूमा सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । 

लामो समयदेखि, जापान भारतलाई सबैभन्दा धेरै विकास सहायता दिने मुलुक भएको टिप्पणी गर्दै राजदूतले निर्माणाधीन मुम्बई–अहमदाबाद हाई–स्पिड रेल परियोजना दुई देशबीच मजबुत सहकार्यको उदाहरण भएको उल्लेख गरेका छन्।