मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
२o८२ भदौ २९ आइतबार १२:o४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यावसायिक तरकारी खेतीमा रमाउँदै जुम्लाका रावल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १२:o४:oo

स्वदेशमा रोजगारीको अभाव रहेको भन्दै वैदेशिक रोजगारीमा जाने युवाको संख्या दिनानुदिन बढ्दो छ । संघीयता कार्यान्वयनपछि स्थानीय सरकारले उपयुक्त रोजगारी सिर्जना गर्न नसकेपछि कर्णालीबाट कालापहाड (भारत) र खाडी मुलुक जाने युवाको संख्या बढ्दै गएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णाली प्रदेशबाट मात्रै ९४ हजार युवा बिदेसिएका छन्, जसमा भारत जानेको ठोस तथ्यांक सरकारसँग छैन ।

यस्तो अवस्थामा पनि जुम्लाका एक युवाले भने सुविधासम्पन्न मुलुक जापानको भिसा नै त्यागेर व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । चन्दननाथ नगरपालिका– ६, छिना गाउँका युवा सुशील रावल स्वदेशमा सम्भावना छैन भन्ने तमाम युवाबिच उदाहरण बन्दै गाउँमै व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

रावलले ०७७ सालमा जापान जाने तयारी गरेका थिए । भाषा सिकेर सबै प्रक्रिया पूरा गरिसकेपछि भिसा प्रक्रियासमेत अघि बढेको थियो । तर, एकाएक उनले जापान जाने सोच नै त्यागेर गाउँ फर्किए । त्यसपछि उनले आफ्नो अध्ययनको सीप र दक्षता सबै व्यावसायिक तरकारी खेतीमा लगाए ।

चन्दननाथ– ६, छिना ज्युलोको १२ रोपनी जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गरेको सुशीलले आफू मात्र आत्मनिर्भर भएका छैनन्, गाउँका थप १० जना युवालाई रोजगारीसमेत प्रदान गरेका छन् । उनले मौसमी तथा बेमौसमी रूपमा कुरिलो, ब्रोकाउली, स्कुस, भेडे खुर्सानी, अकबरे खुर्सानी, डेजिरे, काँख्रा, खुमल सेतो र लोक जातको आलु र टमाटरलगायतका अर्गानिक तरकारी उत्पादन गरिरहेका छन् । त्यस्तै, ओखर र स्याउका ग्राफ्टिङ बिरुवा पनि उत्पादन गर्दै आएका छन् । रावलले सुरुमा १० हजार रुपैयाँ लगानी गरी ओखरका बिरुवा उत्पादन सुरु गरेका थिए । अहिले वार्षिक १५ लाखभन्दा बढीको कारोबार गर्दै आएका छन् । 

‘जापान जाने अन्तिम तयारी थियो । तर, अर्काको देशमा श्रम र सिप खर्चिनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएँ,’ रावल भन्छन्, ‘१२ रोपनी जग्गा लिजमा लिएर स्याउ, ओखरका ग्राफ्टिङ बिरुवा उत्पादन सुरु गर्‍यौँ । पछि व्यावसायिक तरकारी खेती थाल्यौँ । अहिले आम्दानी राम्रै छ । उत्पादनले बजार लिइरहेको छ ।’

नेपाललाई कृषिप्रधान देश भनिने, तर कृषि पेसाप्रति समर्पित व्यक्तिलाई सम्मान नगर्ने चलन गरेको रावलको गुनासो छ । ‘अरूले पनि अनुसरण गरून् भन्ने उद्देश्यका साथ कृषि पेसामा हामी आबद्ध भएका हौँ,’ उनले भने । तरकारी उत्पादन गर्न सके बजार व्यवस्थापनको समस्या नहुने उनको बुझाइ छ ।

रावलकोे फार्ममा उत्पादित तरकारी जुम्लाका सबै होटेलदेखि मन्डीमा तरकारी जाने गरेको छ । हिउँदमा टनेलभित्र सबै प्रकारका तरकारी फलाउने गरेको उनले बताए । ‘मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने भएकाले हाम्रो उत्पादनलाई अहिले बजारको समस्या छैन । सिजनमा राम्रै उत्पादन गरेर मागअनुसारको पूर्ति गर्दै आएका छौँ । यद्यपि, बेमौसमी सिजनमा भने मागनुसारको तरकारी पुर्‍याउन मुस्किल हुन्छ,’ उनले भने ।

रावलले कृषि विकास कार्यालय जुम्लाको एक लाख अनुदान र आफ्नो एक लाख गरी दुई लाख लगानीमा तरकारी क्षेत्र विस्तार गरेका हुन् । त्यस्तै, कृषि प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाबाट स्याउका नर्सरी रुट स्टक बिरुवा उत्पादनका लागि एक लाख ७५ हजार अनुदान प्राप्त गरेको बताए । 

गाउँमै व्यावसायिक तरकारी खेती गरिरहेका सुशीलको लोभलाग्दो कृषिकर्मप्रति जुम्लाका सरकारी निकायदेखि सबै उत्साहित छन् । युवालाई गाउँमै आकर्षित गर्न र उत्पादनसँग युवालाई जोड्न सुशीलले गरेको प्रयास सराहनीय रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । उनको व्यावसायिक तरकारी खेतीको विस्तार, उत्पादित तरकारीको बजारीकरणमा सरोकारवालाले सहयोग गर्नुपर्ने उल्लेख गरे ।