
नागरिक अगुवाहरूले व्यक्तिहत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न आग्रह गरेका छन्। नागरिक अगुवाहरूले एक विज्ञप्ति जारी गर्दै मन्त्री यादवले माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति गम्भीर आपत्ति व्यक्त गर्दै पदमुक्त गर्न माग गरेका हुन्।
मन्त्री यादवले माघ ५ गते गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्।
डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले विज्ञप्ति जारी गर्दै मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रस्ट पार्ने, पुरानो अपराधसमेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको यसबाट स्वत: स्पष्ट हुने बताएका छन्।
बहालवाला मन्त्रीले व्यक्तिहत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल भएको विज्ञप्तिमा उल्लेख छ।