१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
 डा. भोजराज अधिकारी   वरिष्ठ फिजिसियन एवं भरतपुर अस्पताल विकास समितिका अध्यक्ष
२०७८ माघ ७ शुक्रबार ०८:०८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अहिले देखिएका संक्रमण सबै ओमिक्रोन होइनन्

Read Time : > 1 मिनेट
२०७८ माघ ७ शुक्रबार ०८:०८:००

स्वास्थ्य सल्लाह

कोरोना संक्रमण पिसिआर परीक्षणबाट थाहा पाउन सकिन्छ । यसका लागि नाक तथा घाँटीबाट लिएको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ । पिसिआर विधिले मानिसमा कोरोना भाइरस संक्रमण छ कि छैन भनेर हेर्छ। 

कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोन पत्ता लगाउन भने ‘भेरियन्ट स्पेसिफिक पिसिआर’ परीक्षण गर्नुपर्छ । ओमिक्रोनका बारेमा नेपालमा सीमित अध्ययन मात्र भएका छन् । पिसिआर दिनहुँ हुन्छ, तर ओमिक्रोन भेरियन्टको परीक्षण भने दिनदिनै गरिँदैन । त्यसकारण अहिले देखिएका सबै संक्रमण ओमिक्रोन होइनन् । तर, छिटोभन्दा छिटो धेरैभन्दा धेरैमा सर्ने, तर शरीरमा गम्भीर असर नबनाउने लक्षण ‘ओमिक्रोन भेरियन्ट’ हुन्छ । अहिले देखिएको कोभिड ओमिक्रोन भेरियन्टसँग मिल्छ । संख्यात्मक हिसाबले एकदमै धेरैलाई हुने भने पनि लक्षण एकै प्रकृतिको छ । 

यस्ता लक्षण भए ओमिक्रोन
हुन त कोभिडका बारेमा जति धेरै लक्षण सुन्यो त्यति धेरै मानिस भ्रमित हुन्छ । ज्वरो आएर वा नआएर रातको समयमा अत्यधिक पसिना आउँछ, घाँटी खसखसाउँछ, सुख्खा खोकी लाग्ने, ज्यान बेस्सरी दुख्ने, थकान हुने हुन्छ भने त्यो ओमिक्रोन हुन सक्छ । पहिलाजस्तो सास फेर्न गाह्रो हुने र निमोनिया नै हुने लक्षण अहिले देखिएको छैन । बास्ना र स्वाद पनि गएको हामीले यसपालि पाएका छैनौँ ।

चिसो छ, मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चिसोले हुने रुघाखोकी) पनि हामीमा हुन सक्छ । मौसमी परिवर्तनले हुने लक्षणहरूमा ज्वरो आउँदैन भने नाकबाट पानी बगिरहने हुन्छ । तर, दुवैमा हेसियारी एउटै अपनाउनुपर्छ । 

संक्रमण भइहाले के गर्ने ?
इन्फ्लुएन्जा, फ्लु, कोभिड १९ डेल्टा वा रुघाखोकी लाग्दा जसरी होसियार हुन्थ्यौँ त्यसरी नै तातोपानी पिउने, बाफ लिने, न्यानो कपडा लगाउने, मास्कलाई उचित तरिकाले लगाउने, भौतिक दूरीको कायम गर्ने कुरा पालना गर्‍यौँ भने यसबाट बच्न वा निको पार्न सकिन्छ । अहिलेको भेरियन्ट सात दिनमा निष्क्रिय हुन्छ । सामान्यतया दिनको तीनपटकको दरले पाँच दिनसम्म सिटामोल खाँदा फरक पर्दैन, खकार निस्केको छैन भने एन्टिबाइटिक प्रयोग गर्न पर्दैन ।

यस्तो अवस्थामा चिकित्सकको परामर्श लिने
१०२ डिग्रीभन्दा बढी ज्वरो तारन्तार आयो, खोकीसँगै स्याँ स्याँ बढ्यो, अक्सिजन लेबल ९३ प्रतिशतभन्दा कम भयो र पहिल्यैदेखि भएका दीर्घरोग (निमोनिया, दम, बाथ, मधुमेह आदि) बिग्रियो भने चिकित्सको परामर्श लिनुपर्छ ।

अहिले चितवनको भरतपुर अस्पतालले गम्भीर प्रकृतिको बिरामीको उपचारका लागि एक सय १० बेड तयारी अवस्थामा राखेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज (चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल) तथा अक्सिजन सिलिन्डरको सुविधा भएका अन्य सामुदायिक आइसोलेसन केन्द्रमा समेत गरेर सात सय १७ बेड तयारी अवस्थामा छ  ।

कोही पनि अहिलेको अवस्थाबाट विचलित हुनुहुँदैन । जति धेरै जनसंख्यामा यो माइनर खालको भइरस फैलियो त्यति भाइरस निष्क्रिय हँुदै जान्छ । त्यसरी नै बिस्तारै हराउँदै पनि जान्छ । स्वास्थ्य मापदण्डको पालना गर्दै हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भिडभाड नगर्ने शंका लागेमा परीक्षण गर्ने र आइसोलेससमा बस्ने हो भने यसबाट जोगिन सकिन्छ । महत्वपूर्ण कुरा भ्याक्सिनले फेरि कोभिड हुनबाट नरोके पनि गम्भीर अवस्था आउनबाट बचाउँछ भन्ने प्रमाणित गरेको छ । त्यसैले भ्याक्सिन लगाएर सुरक्षित रहौँ ।

(विवेक पोख्रेलसँगको कुराकानीमा आधारित)