मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रोङको आकाशमाथि प्याराग्लाइडिङ परीक्षण
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२०७८ माघ ७ शुक्रबार ०७:५४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

रोङको आकाशमा प्याराग्लाइडिङको फन्को 

Read Time : > 2 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
२०७८ माघ ७ शुक्रबार ०७:५४:००

इलामको रोङ गाउँपालिका–६ मा प्याराग्लाइडिङ उडानको परीक्षण सफल भएको छ । प्राकृतिक सुन्दरताले भरिएको रोङको आकाशमाथि प्याराग्लाइडिङले फन्को मारेको छ । परीक्षण उडान सफल भएसँगै अब रोङको पर्यटकीय सम्भावना थप बढेको छ । 

रोङ–६ स्थित झन्डीडाँडाबाट झापाको मेचीनगरस्थित तिरिङसम्म प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । परीक्षण उडानको मज्जा स्थानीयवासीदेखि जनप्रतिनिधिसम्मले लिएका थिए । पर्यटन व्यवसायी रणबहादुर अधिकारीको व्यक्तिगत पहलमा पोखराबाट तीन पाइलट ल्याएर परीक्षण उडान गरिएको हो । ३० पुसदेखि चार दिनसम्म १४ वटा परीक्षण उडान भएको थियो ।

‘पर्यटन प्रवर्द्धन गर्ने योजना गाउँपालिकाको पनि रहेछ । यहाँको सलकपुर सुन्तला उत्पादन हुने क्षेत्रका रूपले पनि चिनिन्छ । तर, वर्षैभरि त सुन्तला हुँदैन,’ उनी भन्छन्, ‘मैले यहाँ प्याराग्लाइडिङका लागि भनेर साढे सात रोपनी जग्गा पनि खरिद गरेको छु । नागरिक उड्डयन प्राधिकरणबाट व्यक्तिगत पहलमा स्वीकृति लिएर परीक्षण उडान गरेको हुँ ।’ परीक्षण उडानका लागि अधिकारीले १२ लाख खर्चिएको बताए । परीक्षण उडानको प्रक्रिया पूरा गर्न एक वर्ष लागेको उनको भनाइ छ।

परीक्षण उडानबाटै ऊर्जा
आगामी दसैँ, तिहारपछि नियमित उडान गर्ने व्यवसायी अधिकारीको लक्ष्य छ । ‘परीक्षण उडानले ऊर्जा थपिएको छ । अब संस्था दर्ता गरेर नियमित उडानका लागि स्वीकृति लिन्छु,’ अधिकारी भन्छन्, ‘परीक्षण उडान गर्न एक वर्ष लाग्यो । अब कोरोनाले के गर्छ । नभए त दसैँ, तिहारपछि सुरु गर्ने योजना छ ।’ परीक्षण उडानका लागि पोखराबाट पाइलट प्रेम क्षत्री, सागर नेपाली र हरि भण्डारी आएका थिए । उनीहरूले प्याराग्लाइडिङका लागि पोखरापछिको उपयुक्त गन्तव्य भएको बताएका छन् । ‘प्याराग्लाइडिङका लागि साराङकोटपछि दोस्रो उत्कृष्ट ठाउँ हो । 

पोखरा विमानस्थल निर्माणका कारण साराङकोटमा व्यावसायिक उडान संकटमा पर्दै गएका वेला यसले राम्रो सम्भावना दिएको छ,’ पाइलट क्षत्रीले भने, ‘यहाँ इलामको झन्डीडाँडाबाट उडेर झापाको मेचीनगरस्थित तिरिङसम्म पुगिने रहेछ । पहाडबाट तराई पुगिन्छ । मेची नदी अत्यन्तै सुन्दर देखिने रहेछ । साइडसिनका रूपमा भारत र भुटानको पहाड देखिने रहेछ । त्यसकारण पनि यो उत्कृष्ट छ ।’

रोङ गाउँपालिकामा बढ्दै छन् पर्यटकीय गन्तव्य
रोङ गाउँपालिकाले यी क्षेत्रलाई पर्यटकीय हिसाबले अघि बढाउँदै छ । पर्यटनको माध्यमबाट जनताको जीवनस्तर अघि बढाउन उद्यत छ, गाउँपालिका । गाउँपालिकाले हाँसपोखरीदेखि पाटापुरसम्म २९ किलोमिटरको करसोङ पदमार्ग निर्माण गरेको छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमसहित ४५ लाख बजेटमा पदमार्ग तयार भएको हो । 

पदमार्गसँगै गाउँपालिकाको सहयोगमा ६ स्थानमा होमस्टे प्रवद्र्धन गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोले बताए । आहिले सलकपुर र रम्भ्याङमा २२ वटा होमस्टे छन् । ६ स्थानमा बन्ने होमस्टेमा कारितास नेपालको सहयोग रहेको स्याङ्बोले बताए । उनले भने, ‘होमस्टेमा स्थानीय उत्पादन नै प्रयोग हुन्छ । जसले गर्दा स्थानीय उत्पादनको बजारीकरणमा पनि समस्या भएन ।’ 

प्याराग्लाइडिङको सफल परीक्षणले स्थानीयमा उत्साह थपेको वडाध्यक्ष स्याङ्बोले बताए । ‘हामी पर्यटक भित्र्याउन तम्तयार छौँ । यसमा प्याराग्लाइडिङले थप मद्दत गरेको छ । म आफैँ उडेर पनि हेरेँ । १५ सय मिटरको उचाइमा उड्दा पर्यटन प्रवद्र्धनका लागि ठूलो सपना देखेको छु,’ उनले भने, ‘इलामको पहाड र झापाका फाँटहरू सुन्दर देखिन्छन् । भारत र भुटानको दृश्य अवलोकन गर्न सकिन्छ । म उड्दै गर्दा पर्यटन प्रवर्द्धनका लागि हाम्रा डाँडाकाँडा नै भ्युटावर हुन् भन्ने निष्कर्षमा पुगेँ । पहिला डाँडाकाँडामा पर्यटकीय विकास गरौँ । त्यसपछि भ्युटावर बनाऔँ । कन्याम र झापाको पर्यटनलाई जोड्न करसोङ पदमार्ग निर्माण गर्‍यौँ । यो आफैँमा एउटा आकर्षण हो । प्याराग्लाइडिङले थप आकर्षण थपेको छ ।’