मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी बाजुरा
२०७८ माघ ६ बिहीबार १४:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नियमित विद्युतको माग गर्दै तीन दिनदेखि बाजुरावासी आन्दोलनमा

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७८ माघ ६ बिहीबार १४:४१:००

नियमित विद्युतको माग गर्दै तीन दिनदेखि बाजुरावासी आन्दोलनरत छन्। नियमित विद्युत् आपूर्तिको माग गर्दै जिल्लावासीले प्राधिकरणको कार्यालयमा तालाबन्दी गरी मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन्।

जिल्ला प्रशासन कार्यालयलगायतका सरोकारवाला निकायहरूसँग पटकपटक नियमित विद्युतको माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयले बताएका छन्। माग पूरा नहुँदा त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बाजुरा साना विद्युत् केन्द्रको कार्यालयमा समेत तालाबन्दी  गर्नुपरेको नागरिक समाजका सदस्य सुरेन्द्र नाथले बताए।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको नागरिक समाजले विद्युत् नियमित गर्न प्रशासन र प्राधिकरणको ध्यान नगएको भन्दै चरणबद्ध आन्दोलन गरिरहेका छन्। केन्द्रीय प्रसारण लाइन मार्तडीमा जडान गर्ने ग्यारेन्टी नभएसम्म प्राधिकरण र जलविद्युत् केन्द्रका कार्यालयमा लगाइएको ताला नखोल्ने नागरिक समाजका अगुवाहरूले विज्ञप्तिमार्फत जनाएका छन्।

कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्नेबाहेक कुनै प्रगति नगरेको प्राधिकरणले ठोष कार्ययोजनासहित बिजुली बाल्ने ग्यारेन्टी नदिएसम्म ताला नखोल्ने नागरिक समाजका अगुवा गोपाल कार्कीले अडान लिए। सदरमुकाम मार्तडीवासी  दैनिक १० घण्टा लोडसेडिङको मारमा  परेका छन्। सदरमुकाम मार्तडीजस्तो ठाउँमा नियमित विद्युत् नहुँदा कार्यालयका कामहरूसमेत अवरुद्ध भएको छ।

प्राधिकरणको कार्यालय स्थापना गरिएको, लाइन विस्तार गरिएको, विस्तारित लाइनको परीक्षणसमेत सफल भएको डेढ वर्ष बितिसक्दा पनि विद्युत् जडानको ठोस योजना र प्रक्रिया थालनी नगरिएको आरोप नागरिक अगुवाहरूकोे छ।

यता जिल्ला प्राधिकरण कार्यालय बाजुराका प्रमुख ललितकुमार मण्डलले यस विषयमा विद्युत् प्राधिकरण केन्दीय कार्यालयलाई जानकारी गराइसके पनि कुनै सुनुवाइ नभएको बताए। उनले केन्द्रीय कार्यालयबाट कुनै जानकारी नआउँदासम्म आफूहरूले केही गर्न नसक्ने बताए।