मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७८ माघ ६ बिहीबार १०:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनकपुर स्थायी राजधानी तोकिएपछि वीरगन्जमा दिनहुँ प्रदर्शन

Read Time : > 1 मिनेट
२०७८ माघ ६ बिहीबार १०:००:००

अन्दोलनकै बलमा वीरगन्जलाई राजधानी बनाइछाड्ने प्रमुख चार राजनीतिक दलको चेतावनी

मधेस प्रदेशको राजधानी जनकपुर तोकिएको विरोधमा वीरगन्जमा लगातार प्रदर्शन भइरहेको छ । बुधबार तेस्रो दिन पनि घण्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्दै प्रदर्शन भयो । 

चार वर्ष बित्न लाग्दा पनि प्रदेशको नाम र स्थायी राजधानी तय गर्न नसकेको भनी आलोचित भइरहेको प्रदेश २ सभाले गत सोमबार दुवै कार्यभार पूरा ग¥यो । प्रदेशका आठमध्ये अधिकांश जिल्लाबासीले खुसीयाली मनाए । प्रदेशको नाम ‘मधेस’ राखिँदा गौरव महसुस गरेका वीरगन्जबासी स्थायी राजधानी जनकपुरधाम हुने निर्णयमा भने प्रसन्न हुन सकेनन् । जसका कारण वीरगन्जमा दिनहुँ प्रदर्शन भइरहेको छ । प्रदर्शनमा जिल्लाका प्रमुख राजनीतिक दलकै युवा र विद्यार्थी संगठनका नेता–कार्यकर्ता सहभागी हुँदै आएका छन् । बुधबारको प्रदर्शनमा पनि प्रमुख राजनीतिक दलका नेता–कार्यकर्ता उपस्थित थिए । 

बुधबारै साँझ प्रमुख राजनीतिक दलका नेता र वीरगन्जका उपलब्ध प्रदेश सांसदहरूको बैठकले प्रदर्शनलाई सशक्त आन्दोलनमा बदल्ने निर्णय गरेको छ । आन्दोलनकै बलमा वीरगन्जलाई प्रदेशको राजधानी बनाउने उनीहरूले दाबी गरेका छन् । बुधबार साँझको बैठकले आन्दोलनलाई सशक्त बनाउन संघर्ष समितिसमेत गठन गरेको छ । बैठकमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, कांग्रेस, एमालेलगायतका नेता सहभागी थिए । 

जसपाबाट प्रदेश सभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, भीमा यादव, राघिनी वरनवाल, मन्जुर अन्सारी, पारस साह तेली, कांग्रेसबाट राजेश्वर साह तेली, शंकर चौधरी, लोसपाबाट प्रदेश सभा सदस्य प्रह्लाद गिरी, रमेश कुर्मीलगायत सहभागी रहेको एमाले वीरगन्ज महानगरका सचिव सुन्दर कुर्मीले जानकारी दिए । बैठकले वीरगन्ज राजधानी भोजपुरीया प्रदेश संघर्ष समिति मार्फत वीरगन्ज राजधानी बनाउन संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको उनको भनाइ छ । 

त्यसअघि, बुधबार बिहान पनि चार दलका महानगरपालिका कमिटीका नेताको बैठक बसेको थियो । बैठकले वीरगन्जलाई राजधानी बनाउन लगातार संघर्ष गर्ने निर्णय गरेको थियो । 

बैठकमा एमाले वीरगन्ज महानगर सचिव सुन्दर कुर्मी, कांग्रेस महानगर अध्यक्ष भोला कलवार, एकीकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी, सचिव वृजलाल पासवान, लोसपा नेता राजेशमान सिंह, मुकेश द्विवेदी, सुजित गिरीलगायत सहभागी थिए ।

सोही बैठकको निर्णयअनुसार बुधबार साँझ ५ बजे घन्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरिएको थियो । सोमबार प्रदेश सभाले जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित गरेसँगै पर्सा गृहजिल्ला भएका मुख्यमन्त्री राउतको लगातार पुत्ला दहन हुँदै आएको छ । बुधबारको कार्यक्रममा राजनीतिक दलका युवा संगठनका नेता–कार्यकर्ता सहभागी थिए । यसअघि, मंगलबार कांग्रेस वीरगन्ज महानगरको अगुवाइमा निस्केको जुलुसका सहभागीले मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट राउतको घरको सिसा फुटेको थियो । प्रहरीले आक्रमणको अभियोगमा नेविसंघका जिल्ला सदस्य २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको थियो । प्रहरीले उनलाई बुधबार नै छाडिदिएको छ । 

भोजपुरिया प्रदेश संघर्ष समिति गठन

मधेस प्रदेशको राजधानी वीरगन्जलाई नै बनाउने उद्देश्यसहित भोजपुरिया प्रदेश संघर्ष समिति गठन भएको छ । वीरगन्जका अधिवक्ता ओमप्रकाश गुप्ताको अध्यक्षतामा बुधबार वीरगन्ज राजधानी भोजपुरिया प्रदेश संघर्ष समिति गठन भएको हो । बुधबार साँझ बसेको राजनीतिक दलको संयुक्त बैठकले संघर्ष समिति बनाएको एमाले वीरगन्ज महानगरका सचिव सुन्दर कुर्मीले जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेस, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीका प्रदेश सभा सदस्यलगायत जिल्ला नेताहरू सहभागी थिए ।