
मधेस प्रदेशले मधेस आन्दोलनका ५९ सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । चौथो बलिदानी दिवसका अवसरमा सप्तरीको राजविराजमा बुधबार आयोजित कार्यक्रममा मधेस सरकारले सहिदका परिवारलाई आर्थिक सहायता प्रदान गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आर्थिक सहायतासहित ५९ सहिद परिवारलाई सम्मान गरे । सोही क्रममा उनले आन्दोलनका क्रममा घाइते भएका ८६ जनालाई २५ हजारदेखि तीन लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गरे । घाइतेको अवस्था हेरी प्रदेश सरकारले आर्थिक सहायता रकम निर्धारण गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सहिदहरूको बलिदानकै कारण पहिचानसहितको ‘मधेस प्रदेश’ प्राप्त भएको बताए । ‘हामीले सहिदहरूको बलिदानकै कारण संघीयता प्राप्त गरेका हौँ ।
त्यो संघीयताले वर्षौँदेखि पछाडि पारिएका समुदायलाई अधिकार प्राप्तितर्फ उन्मुख गराएको छ,’ उनले भने, ‘सोमबार मात्रै हामीले हाम्रो प्रदेशको नाम ‘मधेस’ राखेका छौँ । यो उपलब्धि त्यही बलिदानकै कारण सम्भव भएको हो ।’