१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ५ बुधबार १८:४१:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

वर्ल्ड इकोनोमिक फोरममा मोदीको सम्बोधन : भारतमा लगानी गर्न आह्वान

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ५ बुधबार १८:४१:००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले विभिन्न सुधारका उपाय अपनाइरहेको भन्दै अहिले भारतमा लगानीको उपयुक्त गन्तव्य भएको र अहिले लगानीको उपयुक्त समयसमेत भएको बताएका छन् । वर्ल्ड इकोनोमिक फोरमको डाभोस एजेन्डा २०२२ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मोदीले भारत विश्वव्यापी आपूर्ति शृंखलामा भरपर्दो साझेदार हुन तथा धेरै देशहरूमा औषधि र कोभिडविरुद्ध खोप पठाएर लाखौँको जीवन बचाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । 

मोदीले भारतको बहुभाषिक र बहुसांस्कृतिक वातावरण भारतको मात्र नभई सम्पूर्ण विश्वको ठूलो शक्तिको स्रोत भएको बताए । भारतमा लगानी गर्नका लागि विश्वलाई स्वागत गर्दै मोदीले भने, ‘भारतमा विश्वमा तेस्रो ठूलो संख्यामा युनिकर्न छन्। पछिल्लो ६ महिनामा १० हजारभन्दा बढी स्टार्टअप दर्ता भएका छन् । भारतले सरकारी हस्तक्षेपलाई न्यूनीकरण गर्दै इज अफ डुइङ बिजनेसलाई बढावा दिइरहेको छ। ’ भारतले आफ्नो कर्पोरेट कर दरलाई सरल बनाएर, घटाएर संसारकै सबैभन्दा प्रतिस्पर्धी वातावरण बनाएको पनि उनको जिकिर थियो । गत वर्ष मात्रै २५ हजारभन्दा बढी कम्प्लायन्स हटाएको, भारतीयहरूमा नयाँ प्रविधि अपनाउन सक्ने क्षमता भएको समेत उल्लेख गरेका छन् । 

मोदीले जलवायु परिवर्तन, मुद्रास्फीति र आपूर्ति शृंखला अवरुद्धजस्ता समस्यासँग जुध्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिए । उनले क्रिप्टोकरेन्सीविरुद्ध ठोस कारबाही र उदीयमान चुनौतीहरूको सामना गर्न बहुपक्षीय एजेन्सीहरूको क्षमता अभिवृद्धिबारे छलफल गर्नुपर्ने पनि बताए । ‘हामीले सामना गरिरहेका चुनौतीहरू पनि बढ्दै गएका छन् । त्यसविरुद्ध लड्न, हरेक देश, हरेक विश्वव्यापी एजेन्सीहरूले सामूहिक र ठोस कार्य गर्नुपर्ने आवश्यकता छ । एउटै देशले लिएका निर्णयहरू त्यसका चुनौतीसँग जुध्न अपर्याप्त हुनेछन् ।’  मोदीले यस्ता उदीयमान मुद्दाहरूको सामना गर्न बहुपक्षीय एजेन्सीहरूको भूमिकामा छलफल गर्नसमेत आह्वान गरेका छन् । 

‘आजको विश्वव्यापी परिदृश्यलाई हेर्दा, प्रश्न यो छ कि बहुपक्षीय संगठनहरू नयाँ विश्व व्यवस्था र नयाँ चुनौतीहरूको सामना गर्न तयार छन् ? के त्यो सम्भावना बाँकी छ?’ मोदीले भने, ‘यी संस्थाहरू गठन भएको समयमा परिस्थिति फरक थियो । आज परिस्थिति फरक छ । त्यसैले यी संस्थाहरूलाई वर्तमान र भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउनका लागि सुधारमा जोड दिनु हरेक लोकतान्त्रिक देशको दायित्व हो।’ 

अर्को प्रसंगमा मोदीले होसियारी र सतर्कताका साथ भारतले कोरोनाको अर्को लहरको सामना गरिरहेको बताए । उनले भने, ‘एकै समयमा, भारत आर्थिक क्षेत्रमा पनि धेरै आशाजनक परिणामहरूसँग अगाडि बढिरहेको छ। भारत पनि आफ्नो स्वतन्त्रताको ७५ वर्ष मनाउन पाउँदा उत्साहित छ र भारत एक वर्षमा १ सय ६० करोड कोरोना भ्याक्सिनको डोज दिनेमा विश्वस्त छ ।’ भारतले ‘एक पृथ्वी, एक स्वास्थ्य’ को परिकल्पनाका आधारमा धेरै देशलाई आवश्यक औषधि, खोप दिएर करोडौँको ज्यान जोगाएको उनको भनाइ थियो ।  ‘आज, भारत विश्वको तेस्रो ठूलो औषधि उत्पादक, विश्वको फार्मेसी हो। आज, भारत विश्वका ती देशहरूमध्ये एक हो जहाँ स्वास्थ्य पेसेबरहरू, डाक्टरहरूले आफ्नो संवेदनशीलता र विशेषज्ञताका साथ सबैको विश्वास जितिरहेका छन्,’ मोदीले थपे ।