
जेन–जी आन्दोनलका क्रममा कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीको खोजी र पक्राउका लागि प्रहरीले ‘सर्च एण्ड अरेष्ट अभियान’ चलाउने भएको छ । फरारमध्ये कारागार नआएका बाँकी कैदीबन्दीहरूलाई पीडित पक्षबाट समेत प्रतिवाद हुने भएको त्यस्ता फरार कैदीबन्दीको जीवन सुरक्षाका लागि पनि ‘सर्च एण्ड अरेष्ट’ अभियान सञ्चालन गरिएको हो ।
फरार कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्य गर्ने र सशस्त्र प्रहरी बल नेपालले आवश्यक सहयोग, समन्वय गर्ने, जिल्ला बाहिर स्थायी ठेगाना भएका कैदीबन्दीको हकमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने गरिने भएको छ ।
कन्चनपुर कारागारमा रहेका ४७९ कैदीबन्दीमध्ये २० जनाबाहेक सबै फरार भएका थिए । हालसम्म पक्राउ तथा आफै २९३ जना फर्किएका छन् ।
बिहीबार जिल्ला सुरक्षा समितिको बैठकले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी पक्राउदेखि दशैँ, तिहार सुरक्षा व्यवस्थाका विषयमा विभिन्न निर्णय भएको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जेन–जी आन्दोलनपछि मुलुकमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दैै नागरिक सुरक्षाका लागि फरार कैदी नियन्त्रणमा लिनेदेखिका विभिन्न निर्णय भएको बताए । प्रजिअ ढकालका अनुसार आसन्न दशैं, तिहार, छठ जस्ता पर्व नजिकिँदै गर्दा जिल्लाको समग्र शान्ति सुरक्षा तथा सर्वसाधारणको जनजीवन अमनचयन कायम राख्न तयार पारिएको चाडपर्व लक्षित सुरक्षा योजना ०८२ स्वीकृत गरिएको छ ।
बैठकले सीमा नाका क्षेत्रमा हुने लुटपाटको अवस्था आउन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले मित्रराष्ट्र भारतका समकक्षीसँग आवश्यक समन्वय गरी आवागमनमा सहजीकरण गर्ने, सीमा नाका क्षेत्र गड्डाचौकी तथा महेन्द्रनगर बसपार्कमा प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा संयुक्त यात्रु सहायता कक्ष स्थापना गर्ने र यात्रुको अभिलेखन तथा यात्रा सहजीकरण गर्ने लगायत निर्णय गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले जिल्लाका अन्य बजार तथा सीमाक्षेत्रमा समेत नागरिक सहायता कक्षा संचालनमा ल्याइने भएको छ ।
आसन्न चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरीले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरी सूचना सम्प्रेषण गरी पूर्वसूचना संयन्त्रद्वारा पूर्वसावधानी अपनाउने व्यवस्था प्रभावकारी बनाउने जनाइएको छ ।
जिल्लाका सबै स्थानीय तहले आसन्न चाडपर्वलाई मध्यनजर गरी स्थानीय प्रहरी समेतको सहभागितामा बजार अनुगमन गर्न जिल्लाका नौवटै पालिकालाई लेखी पठाउनुका साथै राजमार्ग (सडक) मा हुने अवरोध हटाउन तयार गरिएको कञ्चनपुरको समूह÷रोष्टर तथा कार्ययोजना ०८२ स्वीकृत गरिएको छ ।
जिल्ला सुरक्षा समितिबाट पारित निर्णय कार्यान्वयनका लागि प्रजिअ ढकालले सम्बन्धित सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।