Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ माघ ५ बुधबार ०९:३४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मिरगन्ज पुल भासिँदा रानी भन्सारमा दैनिक ३० करोड राजस्व प्रभावित

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ माघ ५ बुधबार ०९:३४:००

उद्योगी–व्यवसायीलाई रिरुटको आर्थिक भार थपियो  

विराटनगर जोगबनी नाकाअन्तर्गत पर्ने भारतको परमान नदीमा रहेको मिरगन्ज पुल भासिएपछि आयात–निर्यात प्रभावित भएको छ । मर्मत–सम्भार गरेर सञ्चालन भइरहेको पुल पुनः भासिएपछि २३ पुसदेखि भारतले पुलमा बेरियर लगाएर आयात–निर्यातमा रोक लगाएको छ । विराटनगर–जोगबनी नाकाअन्तर्गत रहेको मिरगन्ज पुलबाट दैनिक तीन सयभन्दा बढी मालबाहक सवारीसाधन आवतजावत हुने गर्छन् ।

भासिएको पुल दुई दिनभित्र सञ्चालनमा नआए विराटनगर भन्सारको राजस्व असुलीमा प्रत्यक्ष प्रभाव पर्ने विराटनगर भन्सार प्रमुख नारायण सापकोटाले बताए । उनका अनुसार दुई दिनभित्र पुलबाट मालबाहक सवारी आवतजावत हुन नसकेमा सुनसरीको भन्टाबारीस्थित सेतुबन्ध भन्सार नाकाबाट रिरुट गरिनेछ । पुरानो र जीर्ण फलामे मिरगन्ज पुलकै समस्याका कारण नेपाली उद्योगी–व्यापारीहरूले पटक–पटक सास्ती खेप्दै आएका छन् । 

नेपाल सरकारको आग्रहमा भारतले परवान नदीमा नयाँ पुल बनाउन सुरु गरे पनि अझै निर्माण सम्पन्न भएको छैन । आगामी मार्चसम्म पुल निर्माण सम्पन्न हुन सक्ने भारतीय पक्षले बताएको छ । पुल निर्माणमा ढिलाइ हुँदा नेपालमा औद्योगिक कच्चा पदार्थ ल्याउन र उत्पादित वस्तुहरू पठाउन खर्चिलो हुने उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

उनका अनुसार भासिएको पुल सुचारु नभए भारतको वथनाह हुँदै नेपालको भन्टाबारी अनि त्यहाँदेखि विराटनगरसम्मको थप सय किलोमिटरको यात्रा गर्नुपर्नेछ । जसले आयात–निर्यातमा थप झन्झट र आर्थिक भार थप्नेछ । मीरगन्ज पुल मर्मतले गर्दा मालबाहक सवारीको आवागमन बन्द हुँदा विराटनगर भन्सार कार्यालयको दैनिक ३० करोडबराबर राजस्व असुली प्रभावित भएको छ ।

मिरगन्ज पुलकै कारण आयात–निर्यातमा समस्या हुँदा उद्योगी–व्यापारीहरूले डिटेन्सन र डेमरेज चार्ज मात्र दैनिक एक करोडभन्दा बढी भार व्यहोर्नुपर्ने हुन्छ । अर्कोतिर कच्चा पदार्थको अभावमा उद्योगको उत्पादन कम भएर अर्बौंको नोक्सानी हुने जोखिम उच्च रहन्छ । उत्पादन बढाउनुपर्ने समयमा उद्योगीलाई मिरगन्ज पुलको सधैँ पिर हुँदा उद्यमशीलता ह्रास हुने उद्योगी–व्यापारीहरू बताउँछन् ।