मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ४ मंगलबार ०९:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राजस्व संकलन र चालू खर्च गत वर्षको भन्दा बढी, पुँजीगत खर्च कम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ४ मंगलबार ०९:१७:००

चालू आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न सकेको छैन । पुस मसान्तसम्ममा सरकारको पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो । अर्थ मन्त्रालयले राजनीतिक कारणले पुँजीगत खर्च कम भएको जनाएको छ ।

मन्त्रालयले प्रतिस्थापन बजेट ल्याउनुपरेको, सरकार बजेटविहीन भएको तथा बजेट कार्यान्वयन मध्यअसोजपछि मात्र सुरु भएका कारण पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताएको हो । ‘प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्यअसोजपछि मात्र बजेट कार्यान्वयनमा आएका कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो,’ मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि अर्थमन्त्री जनार्दन शर्माले पनि संरचनागत समस्या र राजनीतिक कारण यस वर्ष पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताउँदै आएका छन् । 

मन्त्रालयले पछिल्ला तीन वर्षको तथ्यांक विश्लेषण गर्दै चालू वर्षमा आम्दानी धनात्मक र खर्चमा उतारचढाव देखिएको उल्लेख गरेको छ । ‘सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांक हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतारचढाव देखिएको छ,’ मन्त्रालयले उल्लेख गरेको छ ।

आर्थिक वर्ष ०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५  प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । यस्तै, चालू आर्थिक वर्ष ०७८/८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो ।      

अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० प्रतिशत भएको थियो । यस्तै, चालू आर्थिक वर्ष ०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो । 

समीक्षा अवधिको चालू र वित्तीय खर्चमा भने केही उतारचढाव देखिएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ को पुस मसान्तसम्म चालू खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आर्थिक वर्ष ०७७/७८ को सोही अवधिमा चालू खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो ।

यस्तै, चालू आर्थिक वर्ष ०७८/८९ को पुस मसान्तसम्म चालू खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।