Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ माघ ३ सोमबार ०७:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटेन

Read Time : > 1 मिनेट
२०७८ माघ ३ सोमबार ०७:४१:००

प्रदेश २ को नाम र स्थायी राजधानीको टुंगो लगाउन प्रदेश सभामा दोस्रोपटक मतदानको सम्भावना बढेको छ । दलहरू आ–आफ्नै अडानमा रहेपछि सहमतिको सम्भावना टरेको हो । दलहरूबीच सहमति जुटाउन सभामुखको नेतृत्वमा गठन गरिएको विशेष समितिले पटकपटक गरेको प्रयास असफल भएको छ । समितिले आइतबारको प्रदेश सभा बैठकमा प्रदेशको नाम र स्थायी राजधानी निर्वाचन प्रक्रियाबाट टुंगो लगाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन पेस गर्‍यो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेशर साहले प्रतिवेदन पेस गरेका थिए । 

करिब चार वर्षदेखि निर्णय हुन नसकेको नाम र राजधानीमा दलीय सहमतिको प्रयास गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले १५ दिनमा विभिन्न दलका सांसदहरूसँग छलफल गरेको थियो । तर, आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न सकेको छैन ।

प्रतिवेदनमा माघको पहिलो साताभित्रै मतदानमा जान प्रदेश सभालाई अनुरोध गरिएको छ । यस्तै, गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत–साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्धलगायतको व्यवस्थापन मिलाउन भनिएको हो । मतदान प्रक्रिया प्रदेश सभाको सभाकक्षसँगै टाँसिएको कक्षमा गर्न भनिएको छ ।

विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा र मध्यमधेसमा मतदान गर्न सुझाव दिइएको छ । यस्तै, समितिले स्थायी राजधानीका लागि आएका ६ प्रस्तावलाई तीनवटामा झार्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरू सहमतनजिक रहेको उल्लेख छ । 

त्यसैगरी, वीरगन्जलाई राजधानी बनाउन पेस भएका दुईवटा प्रस्तावलाई पनि मतदानमा लैजान भनिएको छ । पहिलो प्रस्तावमा महानगरपालिका, पोखरिया नगरपालिका, सखुवा–प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर–सिमरा निजगढ हुँदै सिम्रौनगढसम्म र दोस्रोमा वीरगन्ज महानगरपालिकाभरिलाई राजधानीको रूपमा प्रस्ताव गरिएको छ । आइतबारदेखि सभामा सुरु भएको प्रदेश नाम र राजधानीको विषयको बहस सोमबार पनि जारी रहने सभामुख यादवले बताए । सोमबार पनि सहमतिको वातावरण नबने निर्वाचन प्रक्रियाको तयारीमा लाग्ने प्रदेश सभा सचिवालयले जनाएको छ । 

यस्ता छन् दलहरूका अडान

नाम र राजधानी सम्बन्धमा प्रदेश सभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरू पुरानै अडानमा देखिएका छन् । आइतबारदेखि सुरु भएको छलफलमा जसपा, लोसपा र माओवादीले प्रदेशको नाम मधेस राख्नुपर्ने अडान दोहोर्‍याए । कांग्रेसले मिथिला–भोजपुरा, एमालेले जानकी प्रदेश राख्नुपर्ने पुरानै अडान दोहोर्‍याएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । राजधानीका विषयमा दलहरू विभाजित नै छन् । 

दलहरू पुरानै अडानमा देखिए पनि प्रदेशको नामकरणका लागि भएको दोस्रो प्रयास पनि असफल हुने सम्भावना देखिएको छ । प्रस्ताव पारित हुन दुईतिहाइ बहुमत आवश्यक छ । तर, कुनै पनि प्रस्तावमा दुईतिहाइ पुग्ने सम्भावना कम देखिएको छ । प्रदेश सभामा अहिले सभामुखसहित एक सय चार सांसद छन् । दुईतिहाइ पुर्‍याउन कम्तीमा ७० प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । मधेस नाम राख्ने पक्षमा जसपाका ३९, लोसपाका १६ र माओवादी केन्द्रका आठ गरी ६३ सांसद खुलेका छन् । रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादीले सोही प्रस्तावको पक्षमा मतदान गरे पनि दुईतिहाइ पुग्न अझै ६ सांसद कम हुनेछन् । 

आइतबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहभागी थिएनन् । तर, उनले सकेसम्म सहमति जुटाउन प्रयास हुने र सम्भव नभए मतदानको प्रक्रियाबाट भए पनि यसपटक प्रदेशले नाम र स्थायी राजधानी पाउने दाबी गर्दै आएका छन् । तर, यथास्थितिमा उनको दाब कमजोर देखिएको छ । उनकै नेतृत्वमा रहेको सरकारमा सहभागी दलहरू कांग्रेस र एकीकृत समाजवादीसम्म पनि नाम र राजधानीमा एकठाउँमा छैनन् ।