१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
हिमालयन शेर्पाविरुद्ध बल अगाडि बढाउने प्रयास गर्दै एपिएफका सनिश श्रेष्ठ । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मनाङमाथि सातदोबाटोको सनसनीपूर्ण जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o१:oo

नवप्रवेशी सातदोबाटो क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सनसनी नतिजा निकालेको छ । दशरथ रंगशालामा सातदोबाटोले सर्वाधिक आठपटकको लिग विजेता मनाङ मस्र्याङ्दीमाथि २–१ को जित हात पारेको हो । चालू लिगमा मनाङको यो दोस्रो हार हो । लिगको छैटौँ चरणमा मनाङ साविक विजेता मच्छिन्द्र क्लबसँग १–० ले स्तब्ध भएको थियो । सातदोबाटोले ए डिभिजन लिगमा मनाङसँगको पहिलो भेटमै जित हात पार्दै इतिहास रच्न सफल भयो ।

सातदोबाटोको जितमा मार्टिन एडिल्फे सिलो र मार्टिन्स अजयीले एक–एक गोल गरेका थिए । मनाङका आफिज ओलावाले एक गोल फर्काए पनि टोलीलाई हारबाट रक्षा गर्न सकेनन् । सातदोबाटोसँग हार सामना गरेको मनाङलाई शीर्ष उक्लिने अवसरमा धक्का लागेको छ । मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा कायमै छ । शीर्ष स्थानमा मच्छिन्द्रले आठ खेलबाट २० अंक जोडेको छ ।

मार्टिनले ११औँ मिनेटमा सातदोबाटोलाई १–० को अग्रता दिलाए । उनले सुदीप गुरुङले उपलब्ध गराएको हेडिङ पासमा गोल गरेका थिए । खेलको ३८औँ मिनेटमा मार्टिन्स अजयीले सातदोबाटोलाई पहिलो हाफमै २–० गोलको अग्रता दिलाए । प्रशान्तको क्रसमा डिबक्सभित्र अनमार्क रहेका मार्टिन्सले हेडिङ गोल गरेका हुन् । खेलको ५७औँ मिनेटमा ओलावाले अफिजले गोल गर्दै मनाङलाई २–१ को स्थितिमा ल्याए । उनले पुजन उपरकोटीको कर्नरमा गोल गरेका थिए । 

मनाङका मुख्य प्रशिक्षक प्रशिक्षक फुजा तोपेले खेलाडीमा कोभिड– १९ को संक्रमण भएपछि टोलीमा समस्या आएको बताए । प्रशिक्षक फुजाले आफ्ना ६ खेलाडीमा कोभिड– १९ को संक्रमण देखिएको जानकारी दिएका छन् । ‘हामी यस हप्तामा ठूलो दबाबमा छौँ, हाम्रा ६ जना खेलाडीमा कोभिड–१९ संक्रमण देखियो,’ फुजाले भने, ‘लिगको यात्रा अझै बाँकी छ, हामीसँग पर्याप्त समय छ र हामी बाँकी खेलहरूमा राम्रो गर्नेछौँ ।’

एपिएफलाई राहत
विभागीय टोली एपिएफले शुक्रबार हिमालयन शेर्पा क्लबमाथि १–० को कठिन जित निकालेको छ । एपिएफलाई जित दिलाउन आवास लामिछानेले निर्णायक गोल गरेका थिए । यस जितपछि एपिएफको रेलिगेसनको सम्भावना केही टरेको छ । एपिएफका प्रशिक्षक कुमार थापाले रेलिगेसनको डर केही समयका लागि टरेको बताए । ‘हामीले सास फेर्ने मौका पाएका छौँ,’ थापाले भने, ‘हिमालयनविरुद्धको खेल महत्वपूर्ण थियो, हारेको भए हामी सात अंकमै सीमित हुन्थ्यौँ भने हिमालयनले जित निकाल्दा १४ अंक पुग्थ्यो ।’ 

खेलाडीले जितका लागि निकै मिहिनेत गरेको थापाले बताए । ‘खेलाडीले अन्तिमसम्म मिहिनेत गरेका थिए, हामीले जुन सोचेको थियौँ । हामीलाई जित्नैपर्ने थियो,’ उनले भने, ‘हार्दा हामीलाई गाह्रो थियो ।’ हिमालयनका मुख्य प्रशिक्षक युगलकिशोर राईले विपक्षीको रणनीतिमा चुक्दा पराजित भएको बताए ।

‘खेल्न गाह्रो भयो, लिगमा ९ खेलसम्म पुग्दा आजको खेल सबैभन्दा खराब थियो,’ राईले भने, ‘लिग एकदम टेक्निकल्ली भएकाले खेल्न गाह्रो भएको हो ।’ प्रशिक्षक राईले एपिएफविरुद्ध खेलाडीले सामान्य गल्तीहरू गरेको बताए । ‘मानसिक रूपमा खेलाडीलाई गाह्रो भयो कि ? तर टेक्निकल रूपमा गाह्रो थिएन ।’

लिग हेर्न खोपकार्ड अनिवार्य 
सहिद स्मारक ए डिभिजन फुटबल लिगका खेल हेर्न जाने दर्शकले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीले ए डिभिजनका खेलहरू मैदानमा हेर्न जाने दर्शकले खोपकार्ड देखाउनुपर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यस्तो निर्णय लिइएको कमिटीले जनाएको छ । खोपकार्ड भए पनि खेल हेर्न मैदानमा जानुअघि दर्शकहरूको तापक्रमसमेत नापिनेछ ।