मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
शिक्षामन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजको अनुगमनका क्रममा
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:११:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शिक्षामन्त्रीकै अगाडि केएमसीका प्रिन्सिपलले विद्यार्थीलाई हप्काए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:११:oo

कलेज अनुगमनमा पुगेका शिक्षामन्त्रीसँग गुनासा राख्न खोजेका विद्यार्थीलाई प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले बीचमै रोकेर प्रमाण देखाउन भन्दै दुर्व्यवहार गरे

अतिरिक्त शुल्क उठाएर ठगी गरेको विरोधमा उत्रिएका एमबिबिएसका विद्यार्थीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले शिक्षमन्त्री देवेन्द्र पौडेलकै अगाडि हपारेका छन् । बिहीबार अनुगमनका लागि कलेज पुगेका शिक्षामन्त्री पौडेललाई विद्यार्थीले समस्या सुनाउने क्रममा प्रिन्सिपल श्रेष्ठले बीचमै रोकेर हपारेका हुन् । 

मन्त्रीले कुनै त्रासविना समस्या राख्न आग्रह गरेपछि विद्यार्थी बोल्न थालेका थिए । कलेजले अतिरिक्त शुल्क मागेको, होस्टेलको शुल्क धेरै मागेकोलगायत गुनासा सुनाउँदै गर्दा श्रेष्ठले बीचैमा रोकेर प्रमाण देखाउन चुनौती दिँदै धेरै नबोल्न चेतावनी दिएका थिए । केही दिनअघि पहिलोपटक केएमसी अनुगमनमा पुग्दा कलेज पदाधिकारीले बढी शुल्क लिएको पुष्टि गर्न मन्त्री पौडेललाई नै चुनौती दिएका थिए । 

केएमसी र नोबेलका विद्यार्थी झन्डै महिना दिनदेखि आन्दोलनमा छन् । अतिरिक्त शुल्क तथा चर्को होस्टेल शुुल्क तिर्न नमान्ने विद्यार्थीलाई कलेजले पढाइबाट नै वञ्चित बनाएका छन् । 

बढी शुल्क माग्ने मेडिकल कलेजको सम्बन्धन नै खारेज गर्न सात विद्यार्थी संगठनको माग
चिकित्सा शिक्षाका विद्यार्थीबाट चर्को शुल्क माग्ने मेडिकल कलेजको सम्बन्धन नै खारेज गर्न सात विद्यार्थी संगठनले माग गरेका छन् । चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको प्रचलित कानुन र सहमतिको उल्लंघन गर्दै ‘माफियागिरी’ प्रदर्शन गर्ने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गर्दै विद्यार्थी संगठनले बिहीबार शिक्षामन्त्री पौडेललाई ध्यानाकर्षणपत्र बुझाएका छन् । 

ध्यानकर्षणपत्र बुझ्दै शिक्षामन्त्री पौडेलले शुक्रबारसम्ममा आफ्नो धारणा निर्माण गरी सरोकारवालासँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए । पौडेलले शुक्रबार विवादित कलेज प्रशासन, विद्यार्थी, चिकित्सा शिक्षा आयोग तथा विश्वविद्यालयका पदाधिकारीलाई मन्त्रालय बोलाएका छन् । 

विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क र चर्को होस्टेल शुल्क मागेपछि पीडित विद्यार्थीसहित अन्य विद्यार्थी संगठन आन्दोलनमा छन् । शिक्षाजस्तो अत्यावश्यक सेवा आफ्नो चंगुलमा राख्ने तथा विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त हुने सफलतामाथि अंकुश लगाउन खोज्ने नोबेल मेडिकल कलेजले गैरकानुनी गतिविधि सञ्चालन गरिरहेकाले तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन् । विद्यार्थी संगठनले नोबेल, केएमसी र मणिपालले विद्यार्थीलाई गरेको ठगीविरुद्ध कानुनबमोजिम कडाभन्दा कडा कारबाहीको प्रक्रिया अघि बढाएर विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरेका छन् । पीडित विद्यार्थीसँगै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौँले केही दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । 

आयोगबाट गठित छानबिन टोलीले सुरु गर्‍यो काम
विवादित कलेजका विषयमा सत्यतत्य पत्ता लगाउन चिकित्सा शिक्षा आयोगले गठन गरेको पाँच सदस्यीय छानबिन टोलीले काम सुरु गरेको छ । टोलीले विद्यार्थीका उजुरीमाथि अध्ययनको काम सुरु गरेको आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले बताए । काम सुरु भएको १५ दिनभित्र प्रतिवेदन दिने गरी टोली गठन भएको उनले बताए । प्रतिवेदन आएपछि त्यसै आधारमा कारबाही अघि बढाउने काफ्लेको भनाइ छ ।