निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १३ सोमबार
  • Monday, 27 June, 2022
२०७८ पौष २७ मंगलबार २१:२२:००
Read Time : > 5 मिनेट
फिचर डिजिटल संस्करण

बाढीपहिरोको अवशेषले झस्किन्छन् भेरीखोलावासी

Read Time : > 5 मिनेट
२०७८ पौष २७ मंगलबार २१:२२:००

जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ भेरीखोला विकट गाउँबस्ती हो । यहाँ सिञ्चित खेतीयोग्य जमिन न्यून छ । अकासे पानीको भरमा यहाँका नागरिकले खेतीपाती गर्दै आएका छन् । यो भेगसँग जाजरकोटको सीमा जोडिएको छ । यहाँका बासिन्दा बढी मात्रामा पशु चौपाया, खच्चरपालन गर्छन् । वर्षमा बढीमा दुई बाली मात्रै उत्पादन हुन्छ । उत्पादित अन्नबालीले यहाँका बासिन्दालाई वर्षभर खाना पुग्दैन ।

भेरीखोलामा विभिन्न थरीका जडीबुटी पाइन्छन् । पाटन क्षेत्र पनि भएकाले जडीबुटीसहित भेडाबाख्रा, पशु चौपायाको ऊर्वरभूमि पनि हो । यो क्षेत्रमा आलु, मकै, कोदो, जौ, गहुँ, फापर, सिमी खेती बढी हुने गर्छ । तिला गाउँपालिका वडा नम्बर ४ त्रिवेणीमा पक्की पुल निर्माण भएर भेरीखोला राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि यहाँका कतिपय गाउँबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएका छैनन् ।

सडक जोडिएका ठाउँमा पनि नियमित सवारीसाधन गुड्ने गरेका छैनन् । यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन् । गत कात्तिक पहिलो साता आएको बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको भेरीखोलामा अवशेष अहिले पनि उस्तै छन् । आँखैअगाडि देखिने अवशेषले अहिले पनि स्थानीयलाई झस्काइरहन्छ ।

विपद्ले पुर्‍याएको क्षतिका अवशेष देखेर अहिले पनि स्थानीयको मन पिरोलिने गरेको छ । बाढीले भेरीखोला तातोपानी र तिला क्षेत्रका मार्सीधानका फाँट, पाखो जमिन बगाएपछि खोला किनारको क्षेत्र बिरानो देखिएको छ । विद्युत्, विद्यालय, सिँचाइ कुलोमा पुगेको क्षतिदेखि जंगल नै उप्काएर ल्याएका रुख अहिले पनि नदी छेउछाउमा प्रशस्तै देखिन्छन् ।

भेरीखोलामा बगर बनेका खेत तथा गह्रामा स्थानीयले रुख काटेर दाउरा चिर्दै गरेका दृश्य जताततै देखिन्छन् । स्थानीय सरकारले त्यहाँको सम्पूर्ण क्षति अनुगमन गरी पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिलाई पेस गरेको छ । तर, अहिलेसम्म बाढीपहिरोपीडितको पीडामा मल्हम लगाउने काम भएको छैन ।तातोपानी गाउँपालिका वडा नम्बर ७ का मुनबहादुर कुँवर क्षति हेर्दा अहिले पनि त्रसित छन् । तिला क्षेत्रमा धानका खेत नामोनिसान मेटिने गरी बगाएको छ भने माथिल्लो क्षेत्रमा कृषियोग्य जमिनसहित पशु चौपायामा क्षति पुगेको छ । 

तर, अहिलेसम्म उचित सम्बोधन नहुँदा बाढीपहिरोपीडितमा निराशा छाएको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरोले सिमी तथा मकैमा समेत क्षति पुर्‍याएको थियो । भेरीखोलाको तिलामा ठूलो क्षति पुर्‍याएको थियो । विपद् व्यवस्थापन समितिमा पेस भएको क्षतिको प्रतिवेदनमा अविरल वर्षाले भेरीखोला तिलाको १३ हेक्टर जमिनसहित १४१ मेट्रिक टन मार्सी धान, तातोपानी वडा नम्बर ८ मा २२९ मेट्रिक टन मार्सी धानमा क्षति पुर्‍याएको उल्लेख छ ।

यसैगरी, ११७ वटा भेडाको बथान बाढीले बगाएको विवरण तथ्यांकमा समेटिएको छ । विपद्ले त्यस क्षेत्रमा लगाएको बाली, बत्ती, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सडकलगायत पूर्वाधारमा क्षति पुर्‍याएको थियो । पछिल्लो समय सडक अस्थायी रूपमा सञ्चालनमा आएको स्थानीयले बताए । 

विद्यालय बने बगर
अविरल वर्षाले तातोपानी गाउँपालिका वडा नम्बर ४ ठाँटाचौरस्थित नेत्रज्योति माध्यमिक विद्यालय बाढीले बगाउँदा अनुमानित ४५ लाख, पर्खाल बगाउँदा ३५ लाख र खेलकुद मैदान बगाउँदा करिब ६० लाख रुपैयाँ क्षति भएको विद्यालय प्रशासनले जनाएको छ । यस्तै, स्टोर गरिएको फर्निचरको ८ लाख, नयाँ निर्माणका लागि राखिएका फर्निचर ४ लाख, जस्तापाताको ३ लाख, निर्माण सामग्री फलामे औजार २ लाख ५० हजार, भवन निर्माणका लागि राखिएको फलामे सरिया ४५ हजार, नयाँ भवन निर्माणका लागि राखिएका काठ ५ लाख ५० हजार, राष्ट्रिय झन्डा राख्ने मञ्च ४० हजार, विद्यालयको शौचालय २ लाख ५० हजार गरी १ करोड ६६ लाख ३५ हजार रुपैयाँबराबरको क्षति अनुमान गरिएको छ । 

यसको प्रभाव विद्यार्थीमा पनि परेको छ । विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य छन् । यो विद्यालयमा ६५५ बालबालिका अध्ययनरत छन् । केही विद्यार्थी टेन्ट, पालमुनि, केही विद्यार्थी आकाशमुनि र १–३ कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर बहुकक्षा शिक्षण दिने गरिएको छ ।

खाद्य सुरक्षामा चुनौती
बेमौसमी वर्षाका कारण जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार बेमौसमी वर्षाले १३ हेक्टर खेतीयोग्य जमिन पूर्ण रूपमा कटान भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ४, ७, ८ र तिला गाउँपालिका वडा नम्बर ४ मा खेतीयोग्य जमिन बाढीले कटान गरेकोे हो । २१ हेक्टरमा लगाएको धान खेतीमा क्षति पुगेको छ । १३ हेक्टरमा लगाएको धानसँगै जमिन पनि बगाएको छ । तिला गाउँपालिका वडा नम्बर ४ मा १३ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ । यसमध्ये १० हेक्टर जमिनसँगै धान पनि बगेको छ । ३ हेक्टर जमिनमा लगाएको धान पहिरोमा डुब्यो । तातोपानी वडा नम्बर ४ मा ५ हेक्टर जमिनमा लगाइएको बाली नष्ट भएको छ । 

यसमध्ये ३ हेक्टर कटान गरिसकेको छ । १ हेक्टरमा गरिएको खेती डुबेको कृषि विकास कार्यालयको प्रतिवेदनमा उल्लेख छ । तिला गाउँपालिका वडा नम्बर ४ मा सामुदायिक स्याउ बगैँचा र वडा नम्बर ८ मा ओखर नर्सरीसमेत बगाएको छ । जुम्लामा धानखेती हुने जमिन २ हजार ९ सय हेक्टर छ । बाढीले २० प्रतिशत उन्नत जातको धान नष्ट भएकामा ८० प्रतिशत मार्सी धानमा क्षति पुगेको कृषि विकास कार्यालयको तथ्यांक छ । 

सिँचाइ नहरमा क्षति 
बाढीले जुम्लाका २३ सिँचाइ नहर (कुलो) मा क्षति पुर्‍याएको छ । बाढीले विशेषगरी तातोपानी र तिला गाउँपालिकामा रहेका सिँचाइ नहरमा क्षति पु¥याएको हो । बाढीले तिला वडा नम्बर ४ अन्तर्गत माथिल्लो लासी सिँचाइ कुलोमा १५ लाख, नाङगाँडा सिँचाइ योजनामा १५ लाख, किमीरुख सिँचाइ कुलोमा १५ लाख, बालु सिँचाइ कुलोमा १५ लाख, बिडुल्ली सिँचाइ नहरमा १० लाख रुपैयाँको क्षति गरेको छ । यस्तै, नाउला सिँचाइ योजना १५ लाख, अडाडी सिँचाइ योजना १० लाख, भुडारीज्युला सिँचाइ आयोजनामा १० लाख, सिमकुलो सिँचाइ योजनामा १५ लाख रुपैयाँको क्षति गरेको छ । 

बाढीले भारखेत सिमकुलो सिँचाइमा १५ लाख, रावतवाडा सापुल्ली सिँचाइ योजनामा २५ लाख, गाडापाडी सिँचाइ योजनामा १० लाख, तलिचौर सिँचाइ कुलोमा १५ लाख, दाप्ले सिँचाइ कुलोमा १५ लाख, हप्पलीघट्ट सिँचाइ योजनामा २० लाख, लिडाला सिँचाइ योजनामा १५ लाख, लामीडाँडा सिँचाइ योजनामा ४ लाख रुपैयाँबराबरको क्षति पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ । 

चन्दननाथ नगरपालिका वडा नम्बर १ र २ माझकुलो सिँचाइ योजनामा २० लाख, चन्दननाथ वडा नम्बर १ ठिन्केकुलो सिँचाइ योजनामा १५ लाख, चन्दननाथ नगरपालिका वडा नम्बर ३ डिल कुलो सिँचाइ योजनामा १५ लाख, चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहरागाउँ घट्टेखोला सिँचाइ योजना र माछीखेत पखुलो सिँचाइ योजनामा १० लाख रुपैयाँ बाढीले क्षति गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । क्षतिपूर्तिको कार्यविधि बनेको छ । यस विषयमा स्थानीय तहले अध्ययन गरिरहेकाले छिट्टै क्षतिपूर्ति वितरण गरिने कृषि विकास कार्यालय जुम्लाले बताएको छ । 

जलविद्युत् आयोजनामा क्षति 
बाढीले जुम्लाका १० साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा रहेका साना जलविद्युत् आयोजनामा क्षति पु¥याएको हो । तातोपानी वडा नम्बर ४ स्थित साना दियार लघु जलविद्युत् आयोजनाको इन्टेक र ३ सय मिटर नहर बगाएपछि क्षति पुगेको छ । क्षति लागत अनुमान २५ लाख रुपैयाँ गरिएको आयोजनाले बताएको छ । यस्तै, ४ नम्बर वडाकै जाल्पादेवी लघु जलविद्युत् आयोजनाको विद्युतगृह रहेको स्थानमा कटान गरेको छ । १५ लाख रुपैयाँ क्षति अनुमान गरिएको छ ।

 सोही गाउँपालिका वडा नम्बर ८ घट्टेखोला लघु जलविद्युत् आयोजनाको विद्युतगृह र २ सय मिटर नगरमा बाढीले ६० लाख रुपैयाँबराबरको क्षति गरेको छ । इमिल्चा लघु जलविद्युत् आयोजनाको विद्युतगृह र २ सय मिटर नहर बाढीले बगाउँदा ४० लाख रुपैयाँबराबरको क्षति भएको विद्युत् प्राधिकरण जुम्लाले जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

सोही गाउँपालिका वडा नम्बर ७ स्थित दारिम टाकुला जलविद्युत् आयोजनामा ४० लाख रुपैयाँबराबरको क्षति अनुमान गरिएको प्रतिवेदनमा जनाइएको छ । यस्तै, तिला गाउँपालिका वडा नम्बर ४ स्थित सापुल्ली लघु जलविद्युत् आयोजनाको बाढीले विद्युतगृह र नहरमा बाढी पसेपछि ५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

सोही वडाको नुवाकोट लघु जलविद्युत् र नाड्खखोला लघु जलविद्युत् आयोजनाको विद्युतगृहमा बाढी पस्दा झन्डै ८० लाख रुपैयाँ बढीको क्षति अनुमान गरिएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ३ स्थित घुघुत्ती जलविद्युत् आयोजनाको बाढीले नहरमा क्षति पुर्‍याउँदा १० लाख रुपैयाँबराबरको क्षति अनुमान गरिएको छ । हिमा गाउँपालिका वडा नम्बर ६ स्थित खागलखोला जलविद्युत् आयोजनाको बाँध, नहर र विद्युतगृहमा बाढी पसेपछि ४५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले तातोपानी क्षेत्रमा विपद्ले ठूलो मात्रामा क्षति पुर्‍याएको र पुनर्स्थापनाका लागि गाउँपालिकाले पहल गरिरहेको बताए । उनले भने, ‘गाउँपालिका र वडापालिकाले विस्तृतमा क्षतिको प्रतिवेदन जिल्ला र सम्बन्धित निकायमा बुझाई आवश्यक सहयोगको पहल गरिरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बाढी प्रभावित क्षेत्रमा खानेपानीसहित आधारभूत सुविधा पुर्‍याइएको बताइन् ।