मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २७ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २७ मंगलबार १४:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड र विप्लवसँग एकताको सम्भावना छैन : मोहन वैद्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २७ मंगलबार १४:२६:oo

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन्।  मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र)लगायतका पूर्वमाओवादी घटकहरूबीचमा एकताको सम्भावना नरहेको बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे। आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो। 

‘उहाँहरूले पार्टी एकता हुन सक्छ, पूर्वमाओवादीहरूसँग पार्टी एकता हुन सक्छ भनेर लगातार भन्नुभएको छ। तर, हाम्रो पार्टीसँग सम्भव छैन। नेकपा (क्रान्तिकारी माओवादी)सँग सम्भव छैन। किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनिराखेका छौँ,’ उनले भने।

उनले मोहनविक्रम सिंह नेतृत्वको  नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए। ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाइ छ। कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसिसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए। त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी ओली नेतृत्वको सरकारजति पनि बोल्न नसकेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो विस्तारको काम जारी छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए। 

उनले राष्ट्रिय स्वाधीनताको निम्ति सशक्त रूपमा उभिनुपर्ने आवश्यकता औँल्याए। महासचिव वैद्यले आगामी संसदीय निर्वाचनमा आवश्यकताअनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा बहिष्कारको नीति लिइने उल्लेख गरे।