Skip This
कांग्रेस महाधिवेशनबाट उठेका प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २७ मंगलबार
  • Saturday, 27 July, 2024
गुरुराज घिमिरे
२o७८ पौष २७ मंगलबार o८:११:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशनबाट उठेका प्रश्न

Read Time : > 4 मिनेट
गुरुराज घिमिरे
नयाँ पत्रिका
२o७८ पौष २७ मंगलबार o८:११:oo

पहिलो चरणको नतिजाअघिसम्म कामै नलाग्ने भनेर चित्रण गरिएका नेता पछि कसरी सुयोग्य भए ? क्षणभरमै त्यस्तो चमत्कार के भयो ?


नेपाली कांग्रेसले आफ्नो चौधौँ महाधिवेशन सम्पन्न गरी नयाँ कार्यकालसमेत प्रारम्भ भइसकेको छ । यो महाधिवेशनबाट नेतृत्व परिवर्तनको ठूलो अपेक्षा गरिए पनि पुरानै नेतृत्व अर्थात् शेरबहादुर देउवा नै पुनः सभापतिमा निर्वाचित हुनुभएको छ । यद्यपि, सबैजसो पदाधिकारीमा युवानेता निर्वाचित हुनुलाई भने निकै सुखद र उत्साहजनक घटनाको रूपमा लिइएको छ । यसले पार्टीको आन्तरिक संगठनात्मक जीवनमा नयाँ रक्तसञ्चार गरेको छ । केन्द्रीय समितिमा पनि युवाहरू उल्लेखनीय संख्यामा पुगेका छन् । यसबाट पार्टीको तारुण्यता वृद्धि भई कांग्रेसको युवाकरण भएको छ । यस पृष्ठभूमिमा महाधिवेशन समापनपछिका घटनाक्रमले केही पेचिला प्रश्न खडा गरेका छन्, जसको यथोचित उत्तर आवश्यक देखिन्छ । अन्यथा, कांग्रेसको पन्ध्रौँ महाधिवेशनसम्मको यात्रा सुखद नहुन सक्छ । त्यसैले, पार्टी सञ्चालनको जिम्मेवारी प्राप्त मूल नेतृत्व र खासगरी पदाधिकारीहरूले यसतर्फ वेलैमा गम्भीर समीक्षा गर्नु अत्यावश्यक देखिन्छ । ढिलो गरी पछुताउने हाम्रो बानी यसपटक सुधार्नु जरुरी छ ।

महाधिवेशनमा प्रतिस्पर्धाका दौरान केही आश्चर्यजनक गतिविधि र घटनाबारे थोरै चर्चा गरौँ । हुन त, तेह्रौँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको पार्टी सञ्चालन कार्यशैलीबारे प्रारम्भबाटै टीकाटिप्पणी सुरु भएको हो । नेतृत्व बदल्न भनेर मात्रै विरोध सुरु भएको भने थिएन । विधानले निर्दिष्ट गरेको सीमाभित्र रही संगठन सञ्चालन गर्नुपर्ने यथार्थलाई नजरअन्दाज गरी पार्टी अघि बढ्न थालेपछि नै आलोचनाको क्रम सुरु भएको हो । पार्टीको मुख्य नेताले विधानको व्यवस्थालाई उल्लंघन गर्न लाग्दा प्रतिस्पर्धी नेता वा समूहको तत्कालीन मौनताका कारण पार्टीमा विधिविहीनताले प्रश्रय पाउँदै गयो । एउटा समुन्नत र जीवन्त लोकतान्त्रिक पार्टीको आन्तरिक जीवन अस्तव्यस्त हुन पुग्यो । पार्टीको वैधानिक प्रबन्धलाई बेवास्ता गरी मनोगत एवं गुटगत रूपमा कांग्रेस चलाउन खोज्दा पार्टीमा भद्रगोल बढ्दै गयो । त्यो अन्ततः अराजकतामा बदलियो । त्यसले पार्टीका होनहार र निष्ठावान् साथीहरूमा निराशा छायो । तैपनि यी र यस्ता बेथितिको शृंखला रोकिएन, चल्दै गयो । यसको दुष्प्रभाव भ्रातृ एवं शुभेच्छुक संघसंस्थामा पर्ने नै भयो । यसको नकारात्मकता संगठनभित्र सर्वत्र फैलन पुग्यो, रोक्न कसैले आवश्यक ठानेन ।

०७४ सालको आमनिर्वाचनसम्म त पार्टीले हलचलसमेत गरेन । कांग्रेस कहाँ छ भन्ने धारिलो प्रश्न जताततै उठ्यो । पार्टीभित्रका प्रतिस्पर्धी नेता त एक सामान्य ‘स्थायी प्रतिक्रियात्मक’ पात्रका रूपमा मात्र देखा परे । कुनै वैकल्पिक ठोस कार्ययोजना प्रस्तुतै भएन, न मुलुक चलाउने, न पार्टी चलाउने । तेह्रौँ महाधिवेशनका प्रतिस्पर्धी नेताहरूले त पार्टीमा सामन्तवाद हाबी रहेकोसम्म भन्न बाँकी राखेनन् । एकजना ठूलै नेताले पार्टी गुटले होइन, गिरोहले चलाएको पनि भन्न भ्याए । केन्द्रीय समितिका युवा नेताहरूले बारम्बार ध्यानाकर्षण गराउँदा र लिखित ‘दस्ताबेज’ पेस गर्दासमेत नेतृत्व चटपटाएन । तैपनि मुख्य नेताहरूको होस खुलेन ।

परिणामस्वरूप पार्टीका गतिविधिबाट आमसाथीहरूमा चरम निराशा पैदा भयो, जसको निरन्तरता आजपर्यन्त छ । पार्टीका भ्रातृ संस्थाहरू प्रभावशाली नेताका आदेशपालक झुन्डको रूपमा परिणत भए । उनीहरूले आफ्नो कर्तव्य र भविष्य बिर्सिए । पार्टी नेतृत्वलाई दबाब र सुझाब दिन आवश्यकै ठानेनन् । पार्टीका उच्चपदस्थ नेताहरू टीकाटिप्पणी र विरोधमा एकअर्काको उछिनपाछिन गर्ने तर कांग्रेस सुधार्ने विषयमा बिल्कुलै उदासीन देखिए । यसले कांग्रेसको मूल चरित्र र पहिचानमा स्खलन सुरु भयो । पार्टी मूल धर्म र प्रमुख कर्ममा नराम्ररी चुक्यो । नेपाली कांग्रेस चौधौँ महाधिवेशनतर्फ अग्रसर हँुदै गर्दा नेतृत्वमा पुग्न चाहने नेताबीच तीव्र ध्रुवीकरण र आलोचनाको क्रम पनि बढ्यो । सभापतिबाहेकका सबै नेताको अभिव्यक्तिमा विचित्रको समानता देखिन थाल्यो । यसबाट पार्टीभित्रको नेतृत्व परिवर्तनको माग गर्ने ठूलो जमात उत्साहित बन्न पुग्यो । यही जगमा चौधौँ महाधिवेशन खडा भएको थियो । 

नेतृत्व बदल्नैपर्ने, अन्यथा पार्टी र लोकतन्त्रको समेत भविष्य खतरा र अन्योलमा पर्ने निष्कर्ष सुनाएका नेतृत्वका दाबेदार नेताहरूका अभिव्यक्तिले सम्पूर्ण युवापुस्ता उत्साहित र अभिप्रेरित थियो । नेपाली कांग्रेसका समस्त शुभेच्छुक पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरण चाहन्थे । यो चाहना र भावनालाई नेताहरूको धारणाले बल पु¥याएको थियो । पार्टीमा धेरै ठूलो सुधार र परिवर्तनको आवश्यकतालाई महसुस गरेर नै रूपान्तरणको नारा दिइएको थियो । कांग्रेसमा सक्रिय पहिलो पुस्ता परम्परागत र शास्त्रीय थियो । कार्यशैलीका दृष्टिले पुरातन थियो । यसबाट वर्तमान युगका चुनौती सामना गर्न सम्भव थिएन । त्यसैले नेतृत्व फेर्ने कुरा सबैलाई तर्कपूर्ण र जायज लागेको थियो । रूपान्तरणको नारामा होमिएका नेताहरूको लोकप्रियता उच्च थियो । उनीहरूतर्फ सबैको ध्यान खिचिएको थियो ।

संस्थापनइतरको परिवर्तनकारी समूहमा एक से एक नेता थिए । पार्टीमा लामो समय काम गरेका, संकट झेलेका र जनताले राम्रोसँग चिनेका व्यक्तिहरू नेताको रूपमा नेतृत्वको दाबा गरिरहेका थिए । उनीहरूसँग राष्ट्रले पत्याएका युवाहरूको पंक्ति थियो, जसले नेपाली समाजलाई आफ्नो योग्यताको परिचय दिइसकेका थिए । देशमा चौतर्फी चुनौती व्याप्त भएको स्थितिमा पार्टीलाई घस्रेर हिँड्ने सुविधा थिएन र छैन पनि । समयको गतिसँगै चाल मिलाउनु अत्यावश्यक थियो ।

महाधिवेशनसँगै उठेका प्रश्नहरूको जवाफ नेतृत्वले पार्टीभित्र सिर्जना गर्ने बृहत् एकता र मेलमिलापले दिने या जितको अहंकार प्रदर्शन र चरम गुटबन्दीले दिने हेर्न बाँकी नै छ । तर, संकेत गतिला छैनन् ।

प्रतिद्वन्द्वीहरू सशक्त र धूर्त थिए । यस्तो स्थितिमा ऐतिहासिक निर्णयमा पुग्नु अर्थात् निर्णायक कदम चाल्नु आवश्यक नै हुन्थ्यो । समूहभित्रका नेताबीच प्रतिस्पर्धा पनि चलिरहेको थियो । प्रतिस्पर्धा चल्दा नेताहरूका आ–आफ्ना तर्क थिए, जुन स्वाभाविकै थियो । तर, आपसी एकता प्रमुख सर्त थियो, अन्यथा परिणाम प्रतिकूल हुन सक्थ्यो । त्यसैले नेताबीच समझदारी बढाउनु अति आवश्यक थियो । जसका स्पष्ट आधार र तर्क थिए । केही सैद्धान्तिक र केही व्यावहारिक पक्ष थिए । युवा नेतामा कुनै स्वार्थ थिएन, त्यागको भावनाले उनीहरू निर्देशित थिए । त्यसैले, मेलमिलाप र एकताका निम्ति प्रयासरत थिए । तर, अपेक्षा गरेअनुरूप भएन । पहिलो चरणको निर्वाचन सकियो । वैधानिक नतिजाका लागि दोस्रो चरणमा जानुपर्ने भयो । यही बिन्दुमा पुगेर नया आश्चर्यको पटाक्षेप भयो । 

कांग्रेस र लोकतन्त्रको सुनिश्चित भविष्यका निम्ति नेतृत्व परिवर्तनको अनिवार्य आवश्यकता देख्ने नेतृत्वका दाबेदार नेताहरू कसरी एकाएक ‘युटर्न’ भए ? पहिलो चरणको नतिजाअघिसम्म कामै नलाग्ने भनेर चित्रण गरिएका नेता पछि कसरी सुयोग्य भए ? क्षणभरमै त्यस्तो चमत्कार के भयो ? आफ्ना विगतका अभिव्यक्ति र कर्म गलत रहेको निष्कर्षमा उनीहरू रातारात कसरी पुगे ? यो विचित्रको परिघटना, यो उदाहरण संसारका अन्य कुनै लोकतान्त्रिक दलमा सायदै होला । यो दुर्लभ राजनीतिक दृष्टान्त भएको छ । यसलाई एउटा पौराणिक कथाको सारबाट बुझ्न खोज्दा अझ छर्लंग होला । गुरुकुलमा उच्च शिक्षा प्राप्त गरेर घर फर्किएको छोरालाई पिताले सोधेछन् –बाबु, कस्तो भो पढाइ, के–के पढ्यौ त ? छोराले आफूले एकदम राम्रो पढेको, सबै शास्त्र कण्ठस्थ पारेको र अरू साथीहरूभन्दा अब्बल बनेको बताएछ । पिताले भनेछन्– त्यसो भए एउटा प्रश्नको जवाफ दिन सक्छौ त ? छोराले सहजै भनेछ– किन नसक्नु ? पिताले सोधेछन्– त्यसो भए भन त, पापको पिता को हो ? यसो सोचिहेर्दा त आफूसँग जवाफ छैन । छोराले अलमलिँदै भनेछ– सोचेर बताउँछु । आजभोलि गर्दागर्दै एक हप्तासम्म खोज्दा पनि जवाफ त भेटिएन । अनि हैरान हुँदै पितालाई भनेछ– पिताजी म जवाफ खोज्न जान्छु, पत्ता लगाएर मात्र फर्किन्छु ।

ऊ परदेश हिँडेछ, हिँड्दाहिँड्दा भोकप्यासले लखतरान भएर एउटा सुन्दर नगरमा चिटिक्क परेको घरछेउ पुगेर रोकिएछ र पानी मागेछ । एउटी सुन्दरीले पानी दिइछन् । पानी पिएर सन्तुष्ट मुद्रामा उसले सोधेछ– तिमी के काम गछ्र्याै ? महिलाले निश्छल जवाफ दिइछन्– म यस नगरकी प्रतिष्ठित नगरवधू हँु । यो जवाफले तिलमिलाएको बाल ब्रह्मचारी ब्राह्मणले रिसले क्रुद्ध हुँदै ती महिलालाई भनेछ– पापिनी यो के अपराध गरिस्, आफ्नो पेसा नबताई मलाई पानी पिलाइस् । हे भगवान् ! मबाट यो के भयो ? अब कसरी प्रायश्चित गर्ने ? ती महिलाले सुस्तरी बोल्दै भनिछन्– ब्राह्मण माफ पाऊँ, मैले जानिनँ, तर एउटा बिन्ती गर्छु, म यसको क्षतिपूर्ति दिन्छु, एक सय असर्फी, बरु खाना पनि खाएर जानुहोला । थप एक सय असर्फी पनि दिन्छु अनि मजाले प्रायश्चित गर्नुहोला । ब्राह्मणले मनमनै सोचेछ, यत्रो जटिल प्रश्नको जवाफ खोज्न हिँडेको छु, नजाने कति समय लाग्ने हो, ठिकै छ दुई सय असर्फी भए बाटो खर्च पनि पुग्छ । ऊ खाना पनि खान तयार भयो । महिलाले फेरि भनिछन्– ब्राह्मणदेव, मेरो एउटा अर्काे इच्छा छ कि तपाईंलाई मेरै हातले खुवाऊँ । यसका लागि थप एक सय असर्फी दिउँला । ब्राह्मण त्यसमा पनि तयार भएछ । जब महिलाले खुवाउन लाग्दा उसले मुख आँ मात्र के गरेको थियो, जमाएर थप्पड लगाउँदै ती महिलाले भनिछन्– लोभी ब्राह्मण ! असर्फीको लोभमा जे पनि गर्न तयार हुने, अनि पाप भयो भन्ने ? थप्पड खाएपछि ब्राह्मण झल्यास्स भएर भनेछ– माता ! मैले जवाफ भेटँे, पापको पिता त लोभ पो रहेछ । तिमी त मेरी महान् गुरु रहिछ्यौ !

यो प्रसंग कांग्रेसको चौधौँ महाधिवेशनको परिघटनासँग मेल खाला–नखाला तर पापको पिता त लोभ नै रहेछ । लोभ जागेपछि ठुल्ठूला पाप र अपराध गराउँदो रहेछ । महाधिवेशनसँगै उठेका प्रश्नहरूको जवाफ नेतृत्वले पार्टीभित्र सिर्जना गर्ने बृहत् एकता र मेलमिलापले दिने या जितको अहंकार प्रदर्शन र चरम गुटबन्दीले दिने हेर्न बाकी नै छ । तर, संकेत गतिला छैनन् ।