१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
संकटाविरुद्ध सातदोबाटो क्लबका मिडफिल्डर सुदीप गुरुङ बल अगाडि लैजाँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

संकटाले दोस्रो स्थान उक्लने मौका गुमायो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:३९:oo

नवप्रवेशी सातदोबाटोलाई हराउँदा संकटा सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा पुग्ने थियो, बराबरी नतिजापछि संकटा १४ अंकका साथ तेस्रो स्थानमै रह्यो 

उत्कृष्ट फर्ममा रहेको संकटा क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थान उक्लने मौका गुमाएको छ । संकटाले नवप्रवेशी सातदोबाटो क्लबसँग १–१ को बराबरी खेल्दा दोस्रो स्थान उक्लने अवसर खेर फालेको हो । सातदोबाटोलाई हराउँदा संकटा १७ अंकका साथ दोस्रो स्थानमा पुग्ने थियो । साथै शीर्ष स्थानमा रहेको संकटाले मच्छिन्द्र क्लबसँग अंक बराबरी गर्‍यो । लिगमा पाँचौँ बराबरी खेलेपछि अपराजित संकटाले आठ खेलबाट १४ अंक जोड्दै तेस्रो स्थान बलियो बनाएको छ । 

साविक उपविजेता त्रिभुवन आर्मी ११ अंकका साथ चौथो स्थानमा छ । यता तीन बराबरी निकालेको सातदोबाटो नौ अंकका साथ आठौँ स्थानमा छ । संकटाका लागि जय गुरुङ तथा सातदोबाटोका सुशील राईले एक–एक गोल गरेका थिए । खेलको २३औँ मिनेटमा सातदोबाटोले संकटाविरुद्ध १–० को अग्रता लियो । शुशीलकै गोलको सहयोगमा सातदोबाटोले अग्रता लिएको हो ।

संकटाका गोलरक्षक राजाबाबुको गल्तीमा शुशीलले गोल गरेका हुन् । तर, सातदोबाटोले अग्रता धेरैबेर टिकाउन सकेन । संकटाले निरन्तर बराबरी गोल फर्काउने प्रयास गरिरहँदा खेलको ३२औँ मिनेटमा सम्भव पार्‍यो । जयले पोस्टभन्दा ३० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै संकटालाई १–१ को बराबरीमा पुर्‍याएका हुन् । दीपेश आलेमगरको सटिक पासमा जयले दोस्रो बारमा गोल गरेका थिए । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा मात्र गोल भयो । दोस्रो हाफमा दुवै क्लबका खेलाडीले गोल प्रयास गरेका थिए । 

तर, संकटा र सातदोबाटोका खेलाडीले उत्कृष्ट फिनिसिङ गर्न सकेनन् । यद्यपि खेलमा सातदोबाटोले संकटामाथि दबाब राखेको थियो । खेलको चौथो मिनेटमै सातदोबाटोका सुदिप गुरुङले डिबक्सबाहिरबाट प्रहार गरेको बललाई संकटाका गोलरक्षक राजाबाबु थापाले क्रसबारबाट पञ्च गर्दै संकट टारे । खेलको १९औँ मिनेटमा निरज बस्नेतको फ्रिकिक सातदोबाटोका गोलरक्षक अभिषेकले बार नजिक क्लियर गरे ।

खेलको ३०औँ मिनेटमा सातदोबाटोका सुदिप गुरुङको डिबक्सबाहिरबाट प्रहार गरेको बल क्रसबारमा लागेको थियो । यसैगरी खेलको ५२औँ मिनेटमा दीपकराज सिंहले गोलरक्षकविरुद्ध वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल दोस्रो बारनजिक हुँदै बाहिरिएको थियो । संकटाले लिगमा लगातार तीन जित निकालेको छ । सातदोबाटोले लिगमा दुई जित, तीन बराबरी र तीन हारको सामना गरेको छ । 

एपिएफ र जावलाखेल बराबरी
शुक्रबारबाट सुरु भएको आठौँ चरणको खेलमा स्पष्ट नतिजा आएन । पहिलो खेलमा संकटा र सातदोबाटोबीच बराबरी भएको खेलपछि एपिएफ र जावलाखेल युथ क्लबले पनि अंक बाँडेका छन् । दशरथ रंगशालामा एपिएफ र जावलाखेलले गोलरहित बराबरी खेल खेलेका हुन् । बराबरीपछि जावलाखेल आठ खेलबाट आठ अंक जोडेर नवौँ स्थानमा यथावत् रहेको छ । दशौँ स्थानमा रहेको एपिएफले आठ खेलमा सात अंक बटुलेको छ । जावलाखेलले दुई जित, दुई बराबरी र चार हार आत्मसात् गरेको छ । पछिल्लो समय लयमा देखिएको विभागीय क्लब एपिएफ एक जित, चार बराबरी र तीन हारको नतिजा निकालेको छ ।

मनाङ आज पोखरामा तेस्रो खेल खेल्दै 
सर्वाधिक आठपटकको विजेता मनाङ मस्र्याङ्दी क्लबले शनिबार पोखरा रंगशालालाई घरेलु मैदानका रूपमा तेस्रो खेल खेल्दै छ । मनाङले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबबीच प्रतिस्पर्धा गर्नेछ । शुक्रबार पोखरामा आयोजित प्रि–म्याच कन्फरेन्समा मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले खेलाडीहरूको मनोबल नघटेको बताएका छन् । लिगको छैटौँ चरणमा मच्छिन्द्रसँग १–० ले पराजित भएको मनाङ एएफसी कप छनोटमा पुग्न सकेन । ‘एएफसी कप छनोटमा नपुगे पनि खेलाडीहरूको आत्मविश्वास बलियो छ,’ मनाङका प्रशिक्षक फुजाले भने । 

लिगमा मनाङले सात खेलबाट १६ अंक बटुल्दै दोस्रो स्थान बलियो बनाएको छ । मनाङले पाँच जित, एक हार र एक बराबरी नतिजा निकालेको छ । रेलिगेसन क्षेत्रमा रहेको च्यासलले पाँच अंक मात्र बटुलेको छ । लिगको १३औँ स्थानमा रहेको च्यासलले एक जित, दुई बराबरी तथा चार हार नतिजा निकालेको छ । 

पछिल्लो संस्करणमा मनाङले च्यासललाई हराएको थियो । यो वर्ष पनि जितका लागि प्रतिस्पर्धा हुने मनाङका प्रशिक्षक फुजाले बताए । ‘हामीले गत सिजनमा पनि च्यासलमाथि जित निकालेका थियौँ, यो सिलसिला शनिबार पनि हुनेछ,’ उनले भने, ‘स्पष्ट तीन अंकका लागि सोही रणनीति बनाएको छु ।’ मनाङले पोखरा रंगशालामा पाँचौँ चरणमा पुलिस र सातौँ चरणमा बिग्रेड ब्वाइज क्लबलाई हराएको थियो ।

यता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले काठमाडौंबाहिर पहिलोपटक लिग खेल्न पाउँदा खुसी लागेको बताएका छन् । ‘हामी पहिलोपटक काठमाडौंबाहिर खेल्न आइरहेका छौँ,’ साहुखलले भने, ‘फरक मैदान र वातावरणमा खेल्न रमाइलो हुनेछ ।’ च्यासल रेलिगेन क्षेत्रमा रहेकाले क्लबलाई ए डिभिजनमै टिकाइरहन खेलाडीहरूले मिहिनेत गरिरहेको साहुखलले बताएका छन् । ‘रेलिगेसनको खतराबाट जोगिन खेलाडीहरूले सक्दो मिहिनेत गर्ने छ, मनाङविरुद्ध सोहीअनुसार आफूहरू तयार छौँ,’ उनले भने । 

नेपाललाई महिला साफ च्याम्पियनसिपको प्रस्ताव
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को शुक्रबार बसेको कंग्रेसले महिला साफ नेपालमा आयोजनाको प्रस्ताव गरिएको हो । बैठकले १२ देखि २४ अगस्टसम्म महिला साफ नेपालमा आयोजनाको प्रस्ताव गरिएको हो । नेपालले यस अघि विराटनगरमा पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । 

शुक्रबार बंगलादेशको ढाकामा भएको साफको कार्यसमितिको बैठकमा साफका अध्यक्ष काजी मोहम्मद सलाउद्दीनले २०२२ मा आयोजना हुने प्रतियोगिताको मिति परिमार्जनसमेत गरेका छन् । परिमार्जन खेले तालिकाअनुसार साफ यू–१८ महिला च्याम्पियनसिप १५ देखि २६ मार्चसम्म भारतमा हुनेछ । यसैगरी भारतले नै जुलाई २५ देखि अगस्ट ५ सम्म साफ यू–२० च्याम्पियनसिप आयोजना गर्नेछ । यस्तै साफ यू–१७ च्याम्पियनसिप श्रीलंकामा ५ देखि १६ सेप्टेम्बरसम्म हुनेछ ।

ad
ad