मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २३ शुक्रबार १९:३४:००
Read Time : > 1 मिनेट
खेलकुद

ए डिभिजन लिग : संकटा हारबाट जोगिँदा एपिएफ र जावलाखेलले अंक बाँडे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २३ शुक्रबार १९:३४:००

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । उपाधि होडमा रहेको अपराजित टोली संकटाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवप्रवेश सातदोबाटो युथ क्लब पुनरागमनमा गोल गर्दै १–१ को बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने सातदोबाटोले लिएको थियो। २३औँ मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए । संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गरेको बल सुशीललाई लाग्दै गोल भएको थियो । तर, खेलको ३२औँ मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीको अवस्थामा ल्याएका थिए । दीपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

बराबरीसँगै संकटाले जारी सिजन ८ खेलमा पाँचौँ बराबरी खेलेको छ । बराबरीपछि संकटा अपराजित रहँदै १४ अंकका साथ तेस्रो स्थानमा कायम रहेको छ । सातदोबाटोले पनि संकटासँग एक अंक खोस्दै ९ अंक बनाएर आठौँ स्थानमा कायम रहेको छ ।

यस्तो शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय फुटबल क्लब एपिएफ र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। तालिकामा सम्मानजनक स्थान हासिल गर्न जितको खोजीमा रहेका दुवै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अंक बाँड्दै आठौँ चरणको आफ्नो खेल सकाएका छन् ।

बराबरीपछि  एपिएफले ८ खेलमा ७ अंक जोडेको छ । एपिएफ दशौँ स्थानमा यथावत रहँदा ललितपुरे टोली जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल नवौँ स्थानमा यथावत रहेको छ । लिगमा शनिबार तीन खेल हुँदै छन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेल साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई आतिथ्यता गर्नेछ ।