मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २३ शुक्रबार ०७:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रौतहटको सामुदायिक विद्यालयको हविगत : जाडोमा खुला चउरमा, गर्मीमा आँपको रूखमुनि पढाइ

Read Time : > 1 मिनेट
२०७८ पौष २३ शुक्रबार ०७:०५:००

रौतहटको देवाहीगोनाही नगरपालिका–५ मा रहेको श्री प्राथमिक विद्यालयका विद्यार्थी चउरमा बसेर पढ्न घरबाटै बोरा बोकेर जाने गरेका छन् । विद्यालयमा पर्याप्त कक्षाकोठा र भवन अभावका कारण विद्यार्थी खुला चउरमा बोरामा बसेर पढ्न बाध्य छन् ।

जाडोयाममा बोरा ओछ्याएर पढ्ने गर्छन् भने गर्मीका वेला आँपको छहारीमा बसेर पढ्ने गरेका छन् । तीनवटा कक्षाकोठा रहेको विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुने गरेको छ । 

कक्षा ३ मा अध्ययनरत सुन्दरीकुमारी साहले आफूले किताब र कलमसँगै घरबाट बोरासमेत बोकेर आउने गरेको बताइन् । कक्षा ४ का विद्यार्थी बाबुराम साहले घरबाट बोरा बोकेर नआए चिसो चउरमा बसेर पढ्नुपर्ने बाध्यता रहेको सुनाए ।

बालबालिकाहरू विद्यालयपरिसरभित्र जाडोका वेला बोरा ओछ्याएर र गर्मीका वेला आँपका रूखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्ने गरेको शिक्षकहरू बताउँछन् । नर्सरीदेखि ३ कक्षासम्मका बालबालिकालाई खुला चउरमा राखेर पढाउने गरिएको छ । उनीहरूले आफ्ना लागि भुइँमा ओछ्याउन बोरा, गुन्द्री र पिरा घरबाटै ल्याउने गरेको प्रधानाध्यापक अच्छेलालप्रसाद साहले बताए । 

विद्यालयमा जम्मा तीनजना मात्र शिक्षक छन् । शिक्षक र कक्षाकोठा अभाव भएपछि विद्यालयले बहुकक्षा सञ्चालन गरेर विद्यार्थी पढाउँदै आएको साहले बताए ।  कक्षा १ र २ को एउटा कक्षाको पठनपाठन खुला चउरमा हुने गरेको छ । ३, ४ र ५ कक्षाका विद्यार्थीलाई भने कक्षाकोठामा राखेर पढाइने गरेको साहले बताए । उनका अनुसार विद्यालयमा हाल चार सय विद्यार्थी अध्ययनरत छन् । ‘कक्षाकोठा अभावमा ३ कक्षासम्मका झन्डै दुई सय विद्यार्थीलाई खुला चउरमा राखेर पढाउँदै आएका छौँ,’ उनले भने । हाल उपलब्ध भवनमा कार्यालय सञ्चालन र कक्षा ३ देखि ५ सम्मका विद्यार्थी मात्रै राख्न सकिने अवस्था छ ।

गत २२ मंसिरमा देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले विद्यालय भवनको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । विद्यालयको आठकोठे भवन बनाउन ठेक्का लागिसकेको र काम चाँडै सुरु हुने पटेलले बताए ।