१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा ल्होसारको रौनक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:३८:oo

गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार अर्थात् (नयाँ वर्ष) धुमधामका साथ मनाइएको छ । लमजुङका गुरुङ समुदायले यसवर्ष विशेष रौनकका साथ ल्होसार मनाएका छन् । गतवर्ष कोरोना संक्रमण जोखिमका कारण ल्होसार मनाउन नपाएका गुरुङ समुदायले यसवर्ष केही दिनअघिदेखि नै विविध कार्यक्रम गरी मनाएका छन् । 

गुरुङहरूले यो वर्ष ल्वोँ ल्हो अर्थात् गाई वर्गलाई विदाइ गरी तो ल्हो अर्थात् बाघ वर्गलाई स्वागत गर्दै ल्होसार भव्यताका साथ मनाइरहेका छन् । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर धुमधामका साथ मनाउने तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङले बताए । 

वर्गचक्र फेरिएसँगै गुरुङ समुदायमा नयाँ वर्षको रूपमा धुमधामसँग तमु ल्होसार पर्व मनाउने गरिन्छ । गुरुङहरूको जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्ड ल्हो अर्थात् वर्गको महत्व भएकोले ल्होसारलाई ठूलो पर्वका रूपमा मनाउने गरिएको गुरुङ समुदायका अगुवा पूर्णसिंह गुरुङ बताउँछन् । पहिलेपहिले गाउँघरमा रोधी बसेर मनाउने ल्होसार पछिल्लो समय लोप भएको गुरुङ समुदायकी अगुवा पदममाया गुरुङ बताउँछिन् । 

पुस १५ गते ल्होसारको मुख्य कार्यक्रम सकिए पनि टोलटोलमा ल्होसार मनाउने कार्यक्रम भने जारी छ । बेँसीसहरको मनाङे चौतारा टोल, प्रगति टोल, सहजी टोल, शान्ति टोल र सेरा टोलमा  १७ र १८ गते दिनभरि नाचगान गरी टोलका स्थानीय एकआपसमा भेला भएर स्योकैं अर्थात् सामुहिक भोज खाने कार्यक्रम भएको प्रगतिटोलका खुसीमाया गुरुङले बताइन् । 

प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरी ल्होसार मनाउने गरिएको तमु ह्युला छोज धीँ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष ठाकुरप्रसाद गुरुङले बताए । ल्होसारको अवसरमा जिल्लाका विभिन्न गाउँमा विविध सांस्कृतिक कार्यक्रम र प्रतियोगिता, शुभकामना तथा स्योकै खाने कार्यक्रम आयोजना गरिएका छन् । सदरमुकाम बेँसीसहरसहित जिल्लाका भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ, सिउरुङ, ढंगै, राइनास, पाचोक, इलमपोखरी, सुन्दरबजारलगायतका गाउँमा धुमधामका साथ ल्होसार मनाउने गरिन्छ । ल्होसारको अवसरमा रोधी बस्ने, परम्परागत संस्कृति प्रदर्शन गर्ने तथा एकसाथ भोज खाने (स्योकैँ) गर्ने गर्दछन् । ल्होसार मनाउन घरबाहिर रहेकाहरू पनि आफ्नो गाउँघर फर्किएका छन् । 

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङमा पहिलेपहिले गाउँघरतिर मात्र ल्होसार मनाउने गरिन्थ्यो भने पछिल्लो समय बजारतिर पनि केन्द्रित हुन थालेको तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य एवं क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घले बताउँछन् । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग प्रतीकका रूपमा लिइन्छ । ल्होसारको अवसरमा लमजुङको सदरमुकाम बेँसीसहरसहित जिल्लाका गुरुङ बाहुल्यता रहेका गाउँहरूमा विशेष रौनक छाएको छ । ल्होसारका अवसरमा लमजुङका गुरुङ बस्तीहरूमा मेला महोत्सवसमेत आयोजना भएका छन् ।

ad
ad