१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दिपेश शाही काठमाडौँ
२o८१ बैशाख २० बिहीबार o६:४२:oo
Read Time : > 5 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादी केन्द्रको आठौँ महाधिवेशन : पदाधिकारी १५ पुर्‍याउने विधान केन्द्रीय समितिबाट पारित

Read Time : > 5 मिनेट
दिपेश शाही, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४२:oo

केन्द्रीय कमिटी बैठकले गरेको प्रस्ताव आठौँ महाधिवेशनबाट पारित भएपछि पार्टीको पदाधिकारी संख्या १५ जनाको हुनेछ । जसमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एकजना रहनेछन् ।


माओवादी केन्द्रले आठौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी र त्यसको पदाधिकारी संख्यालाई बढाउने गरी विधान संशोधन गर्ने भएको छ । आइतबार आठौँ महाधिवेशनको उद्घाटनपूर्व बसेको पार्टी केन्द्रीय कमिटी बैठकले विधान संशोधन कमिटीले गरेको सिफारिस अनुमोदन गरेको छ । केन्द्रीय कमिटी बैठकले गरेको प्रस्ताव आठौँ महाधिवेशनबाट पारित भएपछि पार्टीको पदाधिकारी संख्या १५ जनाको हुनेछ । महाधिवेशनले प्रस्तावित विधान पारित गरेपछि सोहीअनुसारको पदाधिकारी माओवादी केन्द्रको बन्नेछ । जसमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एकजना रहनेछन् । 

बैठकले पदाधिकारीलाई बहुपदमा लैजाने र केन्द्रीय कमिटीको आकारलाई बढाउन विधान संशोधन प्रस्ताव छलफलका लागि महाधिवेशनमा लैजाने निर्णय गरेको हो । माओवादी केन्द्रको अन्तरिम विधानले यसअघि नै पदाधिकारीको संरचना कस्तो हुने भन्ने व्यवस्था गरे पनि आकार स्पष्ट गरेको थिएन । यसअघि राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रले स्थायी कमिटी सदस्य देव गुरुङ नेतृत्वमा पाँच सदस्यीय विधान संशोधन तथा परिमार्जन सिफारिस समिति बनाएको थियो । कमिटीमा गुरुङसहित पम्फा भुसाल, जनार्दन शर्मा, मातृका यादव र लीलामणि पोखरेल सदस्य थिए । समितिले तयार पारेको उक्त सिफारिस गुरुङले महाधिवेशनको बन्दसत्रमा समेत छलफलका लागि पेस गर्नेछन् । 

प्रस्ताव पारित भए माओवादी केन्द्रको यस महाधिवेशनबाट केन्द्रीय कमिटीको आकार पनि बढ्ने भएको छ । यसअघि एक सय ७९ जनाको केन्द्रीय कमिटी रहेकोमा अब उक्त आकारलाई बढाएर दुई सय ९९ जनाभन्दा बढीको केन्द्रीय कमिटी बनाउने प्रस्तावलाई महाधिवेशनको बन्दसत्र हलमा पेस हुने भएको छ । साथै, संविधानले निर्दिष्ट गरेको समानुपातिक समावेशिताका आधारमा विभिन्न क्लस्टरबाट केन्द्रीय कमिटीमा दलित, जनजाति, मधेसी, मुस्लिम, महिला र युवाहरूको सहभागितालाई पनि सुनिश्चित गर्ने भएको छ । त्यसो हुँदा अबको माओवादी केन्द्रीय कमिटीमा करिब एक सय २४ जना खुला प्रतिस्पर्धाबाट र बाँकी दलित, जनजाति, मधेसी, मुस्लिम, महिला तथा युवाहरूको कोटाबाट केन्द्रीय कमिटीमा पुग्नेछन् ।

माओवादीले पार्टीको केन्द्रीय समिति बन्दसत्र हलमा प्रस्ताव गर्ने भएको छ । माओवादीले नेतृत्व चयन निर्वाचनबाट गर्छ वा सर्वसम्मतबाट गर्छ भन्ने चासो बढेका वेला अन्तिम केन्द्रीय कमिटी बैठकले हलमा पहिले कमिटीको प्रस्ताव गर्ने र सहमति नजुटे चुनावमा जाने निर्णय गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महाराले सहमति हुन नसके निर्वाचनमा जाने बताए । ‘केन्द्रीय कमिटी संख्या दुई सय ९९ भन्दा बढी हुन्छ । विधान पारित भएपछि केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव हुन्छ । त्यसमा असहमत भएका साथीहरूले आफ्नो मत राख्न सक्नुहुन्छ । सहमति भयो भने निर्वाचनमा जाँदैन,’ महराले भने, ‘सहमति भएन भने निर्वाचनबाटै नेतृत्व छानिन्छ ।’

यसपटक आफैँलाई चिरफार गरेको छु : प्रचण्ड

प्रधानमन्त्रीजीले आज बडो सुन्दर बोल्नुभयो । उहाँले सजिलै भन्दिनुभयो, यो सब प्रचण्डले गर्दा नै भएको हो है, नत्र हुन्थेन । म उहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंले इतिहासका खास–खास मोडमा ठूला–ठूला स्टेटमेन्ट दिनुभएको छ । हामी शान्ति–प्रक्रियामा आउने तयारी गर्दै थियौँ । उहाँले भन्दिनुभो– प्रचण्ड एउटा बहादुर नेता हो । म युद्ध गरिराखेको छु, प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भनेर भन्दिनुभयो । त्यसको जबर्जस्त प्रभाव देशमा पर्‍यो ।  

पछिल्लोपटक हामीले प्रधानमन्त्री आलोपालो गर्‍यौँ, केही समय । जतिवेला जे गर्ने भनेर उहाँको र मेरो जे सहमति भएको थियो, त्यतिवेला त्यसरी नै मैले प्रधानमन्त्री छोडेर उहाँलाई प्रस्ताव गरेँ । उहाँले संसद्को मञ्चबाट सम्बोधन गर्नुभयो र सजिलै भन्नुभयो– प्रचण्ड त राजनेता नै रहेछन् । राजनेता भेटियो भन्नुभयो । सजिलै भन्नुभो, तर ठूलो स्टेटमेन्ट भन्नुभयो । 
आज बडो इमानदारीका साथ आजको परिवर्तनका निम्ति, संविधानसभाका निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति, शान्तिसम्झौताका निम्ति, माओवादीको भूमिका, त्यसको नेतृत्वको हैसियतले प्रचण्डको भूमिकाबारे जे भन्नुभयो, म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । मलाई अलि–अलि डर के लागेको छ भने कांग्रेसभित्र उहाँले अलिअलि आलोचना खेप्नुपर्ने त होइन ? तर, उहाँले धेरै अनुभव हासिल गरिसक्नुभएको छ । सानातिना आलोचना र विरोधले उहाँलाई केही फरक पर्दैन । 

आज फेरि उहाँले सजिलै भनिदिनुभयो, म त गठबन्धन चाहन्छु । चुनावपछि पनि चाहन्छु भन्नुभयो सजिलै । तपाईं–हामीले सुन्न चाहेको त्यही थियो, उहाँको मुखबाट । गठबन्धन जान्छ भन्दिनुभयो । त्यो पनि ठूलो स्टेटमेन्ट भन्दिनुभयो, उहाँले । हामी सबैलाई चाहिएकै त्यही हो ।  अर्को, उहाँले आफ्नो विचार भन्नुभयो । त्यो स्वतन्त्रता उहाँलाई छ । एमसिसीबारे उहाँले आफ्नो कुरा भन्नुभयो । उहाँले कहाँ हो राष्ट्रघाती भएको, त्यो देखाइदिनुपर्‍यो मलाई ? के म राष्ट्रघात चाहन्छु त ? म पनि देशभक्त हो भन्ने त प्रमाणित छ भन्नुभयो । र, हामी छलफल गर्दै छौँ, छलफल गरेर हामी समझदारी बनाउँछौँ भन्नुभयो । यो पनि ठूलो कुरा नै भन्नुभयो । 

जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो । शान्तिसम्झौतामा हस्ताक्षर गर्ने, बाह्रबुँदे समझदारी गर्ने, संयुक्त जनआन्दोलन उठाउने, यी सबै अवसर पनि मलाई प्राप्त भयो । अहिले माओवादी पार्टी कमजोरजस्तो देखिनुमा मैले अरूलाई आरोप गरेर हुँदैन । प्रमुख नेताको हैसियतले मभित्र नै खोज्नुपर्छ भनेर म आफैँलाई चिरफार गरेको छु । 

एमालेबाट महासचिव आउनुभयो । महासचिवको हैसियतले उहाँले जे कुरा राख्नुभयो, त्यो हामी सबैका लागि मननयोग्य नै छ । मलाई मनभित्र लागेको हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ भन्ने छ । म शंकर पोखरेल र उहाँमार्फत सिंगो एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ । फेरि एकपटक आत्मसमीक्षा गरौँ । कहाँ थियो त गल्ती ? के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ ? के कारणले त्यत्रो सपना हामी आफैँले भत्कायौँ ? त्यसको समीक्षा गरौँ । हाम्रो उद्देश्य गलत थिएन । हामीले यो देशलाई स्थायित्व र समाजवादतिर लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ ।

उद्घाटन सत्रमा कसले के भने ?

इतिहास अघि बढ्यो, पछाडि फर्किन सक्दैन : नेपालको राजनीतिमा विभिन्न राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्दा सफलता हासिल गरेका छन् ।

अहिले पनि हामीले एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ । विभिन्न राजनीतिक दलहरूका आ–आफ्ना मान्यता हुन सक्छन्, एक–अर्काका कुरामा सहमति नहुन पनि सक्छ, तर मूल कुरामा हाम्रो सहमति छ भने बाँकी कुरालाई थाती राख्न सकिन्छ । एउटा कुरा प्रस्ट छ– नेपालको इतिहास अघि बढिसकेको छ । अब यो पछाडि फर्किन सक्दैन । राजनीतिक क्रान्तिको काम हामीले सम्पन्न गरिसकेका छौँ । राजतन्त्रलाई ढालेका छौँ, गणतन्त्र ल्याएका छौँ, संघीयता प्राप्त गरेका छौँ र त्यसैको जगमा हामीले संविधान निर्माण गरेका छौँ । देश चलाउन संविधान चाहिए झैँ पार्टी चलाउन विधि चाहिन्छ । हामी विधिबाट बाँधिनुपर्छ ।

नेकपा जोगाउन नसकेकोमा पछुतो छ : हामीले एकताका लागि गरेका प्रयास इमानदार थिए । नेकपा गठन कुनै गलत थिएन । त्यो ऐतिहासिक आवश्यकता थियो । तर, त्यसलाई हामीले जोगाउन नसकेकोमा मलाई पछुतो छ । त्यस अर्थमा हामी हिँड्ने बाटो इतिहासको शिक्षाको रूपमा ग्रहण गर्नुपर्नेछ । पार्टी बलियो बनाउने कुराको मात्रै कुनै अर्थ हुँदैन । मुख्य उद्देश्य भनेको बलियो पार्टीले समाज बदल्न सक्छ कि सक्दैन भन्ने हो । समाजलाई बदल्न सक्छौँ, हामी हुनुको अर्थ हो, गठबन्धन गर्नुको अर्थ छ । यदि समाजलाई लाभ हुने काम गर्न सक्नुहुन्न भने पाँच दल वा ६ दल मिलेको कुनै अर्थ हुनेवाला छैन । मिल्नुको अर्थ भनेको समाजलाई बदल्ने हो ।

संविधान सर्वस्वीकार्य बनाऔँ : माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए यो मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन । यो मुलुकमा निरंकुश शासनको अन्त्य पनि हुने थिएन । एउटा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा रुमल्लिएर बस्ने थियो होला । यो ऐतिहासिक विद्रोह, सशस्त्र विद्रोहको नेतृत्व गर्नुहुने प्रचण्डको कुशल कमान्डरसिपमा यो पार्टी अघि बढोस् । र, यसले नयाँ गति लिओस् । विगतका आन्दोलन, विद्रोहका उपलब्धिहरू संघीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महत्‍वपूर्ण उपलब्धिहरू आज पनि कतैकतै धरापमा पर्ने हो कि, अलमलिएर जाने हो कि भन्ने आशंका उत्पन्न भएको छ । अहिले गठबन्धनको सरकार छ । विगतका सरकार र प्रधानमन्त्रीहरूले गरेका गल्तीलाई गनेर मात्रै अब समस्याको समाधान हुँदैन । अब हामीले विगतमा भएका कमी–कमजोरी र गल्तीलाई सच्याउनुपर्छ र सुधार्नुपर्छ । त्यसको अनुभूति जनताले गर्न पाउनुपर्छ । अब संसद् अवरुद्ध गरेर केही प्राप्त हुँदैन । माधवजी संसद्मा हुनुहुन्छ, त्यही कारण अवरुद्ध गरेँ भनेर कमरेडहरू भन्नुहुन्छ । यस किसिमका हठ त्यागौँ । संविधान संशोधन गरेर सबैलाई स्वीकार्य हुने बनाऔँ ।

 आधार तयार भए पार्टी एकता सम्भव छ : हामी कुनै समयमा नेकपा माओवादी हुँदा वर्षौँसम्म सँगै बसेको अनुभूति पनि मलाई भइरहेको छ । यहाँ सहभागी भइरहँदा पुराना दिनहरू पनि सम्झना भइरहेको छ । तपाईंहरूले र तपाईंका पार्टीका अध्यक्षले वेलावेला भन्नुभएको ‘पुराना माओवादी एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ’ यतिवेला राम्रोसँग सम्झिरहेको छु । हामीले यसलाई नकारात्मक होइन, सकारात्मक अर्थमा बुझ्ने गरेका छौँ । हामी नेपालमा भएका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ र लक्ष्य हासिल गर्न जनताले बगाएको रगतलाई सार्थकता दिन हामी सबै प्रयत्नशील हुनुपर्छ । पूर्वमाओवादीबीच एकता जरुरी रहेको र एकता नै गर्ने हो भने केही महत्‍वपूर्ण आधार तयार गर्नुपर्ने हुन्छ । महाधिवेशनले त्यो आधार तयार पार्ने आशा छ । जनयुद्धको लक्ष्य अधुरो र अपूरो छ । जनयुद्धअघिका बैठकको निर्णय कार्यान्वयन गर्दै मुलुकलाई जनगणतन्त्र बनाउने, स्वाधीनताका विषयमा र गुमाएको भूमि फिर्ता गर्नेजस्ता विषयमा ठोस निर्णय गरे मात्रै पार्टी एकतामा बहस गर्न सकिन्छ । 

राष्ट्रियताको सवालमा एक ठाउँ आउन सकिन्छ : माओवादी र हाम्रो विचार फरक छ । तर, म विश्वस्त छु, आफ्नै मुलुकको संस्कृतिलाई समृद्ध बनाउने, स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने, राष्ट्रियतालाई बलियो बनाउने, विदेशीको चलखेल पूर्ण रूपले निस्तेज गर्ने विचारमा तपाईं र हाम्रो पूर्ण सहमति रहन्छ । ठूलो संख्यामा युवाशक्ति खाडीमा पसिना बगाइरहेका छन् । तिनलाई स्वदेशमै  रोजगारी दिएर देशको विकासमा समेट्न जरुरी छ ।

 

 

 

ad
ad