१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
भारतबाट उखु तस्करी हुन थालेपछि नेपाली किसानले कञ्चनपुरको बेलौरी नपा–१० शिवनगरमा रहेको महाकाली चिनी मिलमा बेच्न लगेका उखु सडकमै
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ३ बिहीबार १o:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतबाट लाखौँ क्विन्टल उखु तस्करी, नेपाली किसान मारमा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३७:oo

कञ्चनपुरका बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, शुक्लाफाँटालगायतका किसानका खेतमा लटरम्म फलेको उखु बेच्नका लागि तयारी अवस्थामा छ । तर, कञ्चनपुरका दुई चिनी उद्योगले चिनी उत्पादन गर्न मंसिरबाट नै उखु खरिद गरिरहेका छन् । उद्योगले नेपाली उखु खरिद गर्न आलटाल गरेर भारतबाट तस्करी भएर ल्याइएको उखु खरिद गर्ने गरेको किसानहरूले बताएका छन् ।

सरोकारवाला निकायकै मिलोमतोमा भारतबाट उखु तस्करी भएर नेपाली उद्योगमा बिक्री–वितरण भइरहेको छ । बेलडाँडीका स्थानीय उखु किसान पदम रानाले भारतबाट उखु तस्करी भएर चिनी मिलमा आउन थालेपछि नेपाली किसान मारमा परेको बताए । भारतबाट उखु ल्याउन सीमा क्षेत्रमा खटिने प्रहरीदेखि चिनी मिलकै मिलेमतो हुने उनको दाबी छ । ‘सीमाबाट धमाधाम उखु नेपाल भित्रिन्छ,’ उनले भने, ‘भारतबाट उखु तस्करी भएर नेपाल आएपछि हाम्रो उखु खरिदमा आलटाल गर्छन् ।’

बेलौरीका किसान प्रेम चौधरीले सीमा क्षेत्रबाटै सेटिङ गरेर रातको समयमा ट्याक्टरमा उखु ल्याइने उनले बताए । ‘सबैतिर मिलोमतो छ, भारतबाट लाखौँ क्विन्टल उखु नेपाल भित्रिरहेको छ,’ उनले भने, ‘कसैले पनि नियन्त्रणका लागि चासो दिँदैनन्, सबै मिलेका छन् ।’ भारतबाट उखु तस्करी हुन थालेपछि नेपाली किसानले चिनी मिलमा बेच्न लागेको उखु सडकमै थन्किएको छ । 

भारतबाट तस्करी भएर भित्रिने उखु रोक लगाउन जनता समाजवादी पार्टी नेपाल कञ्चनपुर क्षेत्र नं–१ ले  महाकाली सुगर इन्डस्ट्रिज प्रालिसहितका चार सरकारी निकायमा ज्ञापनपत्र बुझाएको छ । जसपा कञ्चनपुरका नेता अमरसिंह विष्टले भारतबाट उखु तस्करी हुँदा नेपाली किसान मारमा परेको बताए । ‘भारतबाट धमाधाम उखु तस्करी भइरहेको छ, ‘उनले भने, ‘सीमा क्षेत्रमा रोक्ने प्रयाससमेत भएन, हाम्रा किसानको पिरमर्का बुझेर चिनी मिलसहितका सरकारी निकायको ध्यानाकर्षण गराएका छौँ ।’

उनका अनुसार बेलौरी नगरपालिका, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल (बिओपी) किसान युनियनलाई ज्ञापनपत्र बुझाएको छ । महाकाली सुगर इन्डिस्ट्रिजका अधिकारीले भारतबाट उखु आउने स्वीकार गरेको जसपा नेता विष्टले बताए । ‘हामीसँग चिनी मिलका अधिकारीले भारतबाट उखु आउने स्वीकार गरेका छन्,’ उनले भने, ‘नेपाली पर्चीमा ल्याउँदा भारत वा नेपाल कहाँबाट आएको यकिन गर्न नसकिने बतायो ।’ 

ad
ad