निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ ३ शुक्रबार
  • Friday, 19 August, 2022
कमल मादेन
२०७८ पौष ८ बिहीबार ०९:३०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अनुसन्धानविनाको आरोप कहिलेसम्म ?

Read Time : > 2 मिनेट
कमल मादेन
२०७८ पौष ८ बिहीबार ०९:३०:००

क्यारोल इन्स्किप र टी. इन्सक्रिपले रुफ्स–नेक्ड हर्नबिल सम्भवतः नेपालबाट लोप भयो भनेर लेखेयता नेपालबारे लेखिएका पुस्तकमा सो पक्षी यहाँबाट लोप भयो भनेर अन्धाधुन्ध लेखियो

झापा बिर्तामोडका वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेलले इलामको सूर्योदय नगरपालिकास्थित जंगलमा ६ पुस २०७८ मा रुफ्स–नेक्ड हर्नबिलको तस्बिर खिचे । यो पक्षी सर ब्राइन हड्सनले सन् १८२९ मा नेपालबाट विश्वका निम्ति नयाँ खोजी गरेका थिए । त्यसपछि सन् १८५० तिर नेपालमा सो पक्षी थप केही संख्यामा भेटिएका थिए । 

पछिल्लो समय नेपालमा यो पक्षी अस्तित्वमा छ भन्ने जानकारी थिएन । यसकारण, नेपालमा अन्य वाइल्ड लाइफ फोटोग्राफरबाट यसको तस्बिर खिचिएको थिएन । खरेल नेपालमा रुफ्स–नेक्ड हर्नबिल पुनः खोजी गर्ने र पहिलो तस्बिर खिच्ने व्यक्ति बनेका छन् । रुफ्स–नेक्ड हर्नबिललाई हङरायो भनिन्छ र यो नेपालमै अझै हुनुपर्छ भन्ने पंक्तिकारको अनुमान थियो । पूर्वी नेपालका पहाडी जिल्लामा हङरायोको अझै चर्चा हुन्छ । हङरायोले पांग्रो नै निल्छ भन्ने गरिन्छ । पांग्रो निल्ने आकारको अर्को चरा राजधनेश हो । राजधनेश उच्च पहाडी भूभागमा पाइन्न । यसकारण, त्यो पक्षी हङरायो नै हुनुपर्छ भन्ने दाबी गरिएको हो । 

लोप भएको आशंका : आइयुसिएनले सन् २०२० मा जारी गरेको एक सामग्रीमा नेपालमा रुफ्स–नेक्ड हर्नबिल लोप भएको लेखेको छ । जसअनुसार यो पक्षी भुटान, उत्तरपूर्व भारत, म्यान्मार, दक्षिणपूर्व तिब्बत, चीन, थाइल्यान्ड, लाओस र भियतनाममा पाइन्छ । भियतनाममा चाहिँ चाँडै लोप हुने आशंका गरिएको छ । आइयुसिएनले सन् १९९४ यता यो पक्षीलाई लोपोन्मुखमा सूचीकृत गरेको छ । 

भारतमा असाम, मेघालय, मिजोरम, मनीपुर आदि प्रान्तमा यो पक्षी न्यून संख्यामा पाइन्छ । भारत र भुटानमा यसको खोज अनुसन्धान तथा संरक्षणका निम्ति उल्लेख्य काम भएको छ । थाइल्यान्डले यसबारे विशेष चासो राख्दै आएको छ । क्यारोल इन्स्किप र टि. इन्सक्रिपले सन् १९८५ मा लेखेको ‘अ गाइड टु द बडर््स अफ नेपाल’ शीर्षकको पुस्तकमा पहिलोपटक नेपालबाट रुफ्स–नेक्ड हर्नबिल सम्भवतः लोप भयो भनेर लेखेका छन् । यसपछिका धेरै पुस्तकमा नेपालमा लोप भएको पक्षीको सूचीमा यसलाई पनि समावेश गरिएको छ ।

क्यारोल इन्स्किप, हेमसागर बराल र अन्यले सन् २०२० मा ‘रेयर बर्डस् इन नेपाल’ शीर्षक लेख लेखेका छन् । लेखमा रुफ्स–नेक्ड हर्नबिललाई दुर्लभ पक्षीका रूपमा समावेश गरिएको छ । नेपालमा १० वा त्यसभन्दा कमपटक देखिएका पक्षीलाई रेयर बर्डस् कमिटीले ‘भ्याग्रेन्ट’ सूचीमा समावेश गर्ने गरेको छ । इन्स्किपले नै सन् १९८५ मा रुफ्स–नेक्ड हर्नबिल सम्भवतः नेपालमा लोप भयो भनेर लेखिएको प्रजाति त्यसपछि कतिपटक देखियो, चर्चा नै नगरी एकैचोटि उनबाट दुर्लभ सूचीमा समावेश गरिनु सान्दर्भिक होइन । सो लेखमा ब्राइन हडसनले सन् १८२९ मा भेटेको र त्यसपछि उनैबाट लेखिएका थप सामग्रीमा क्रमशः सन् १८२९, १८३२ र १८३३ मा चर्चा गरिएको छ । लेखमा नेपालबाट संकलन गरिएको रुफ्स–नेक्ड हर्नबिलको नमुना बेल्जियम, नेदरल्यान्ड र अस्ट्रियाका संग्रहालयमा राखिएको छ भन्ने उल्लेख गर्न छुटेको छ । 

रिजनल्ली इक्स्टिङ : आइयुसिएनले रुफ्स–नेक्ड हर्नबिल नेपालमा लोप भयो भनेर लेखेका नेपालसम्बद्ध प्रकाशित सामग्रीअनुसार हो । ‘गाइडलाइन्स फर एप्लिकेसन अफ आइयुसिएन, रेडलिस्ट क्राइटेरिया एट् रिजनल एन्ड नेसनल लेभल्स’ (सन् २०१०) शीर्षक पुस्तकमा कस्तो प्रजातिलाई ‘रिजनल्ली इक्स्टिङ’ मानिन्छ भन्ने अवधारणा प्रस्तुत छ । सो अवधारणाअनुसार कुनै निश्चित भूगोलभित्र कुनै प्रजातिको प्रजनन गर्न सक्ने संख्या जीवित रहेको आधार सकिएपछि त्यस्ता प्रजाति लोप भएको मान्नुपर्छ । यस्तो अवस्थामा देश विशेषका निकायले कुनै प्रजाति सम्बन्धित देशबाट लोप भयो भन्ने लेख्न सक्छ । तर, यसका निम्ति सम्बन्धित प्रजातिको खोज अनुसन्धान भएको जानकारी प्रकाशित हुनुपर्छ । 

इन्स्किप र टि. इन्सक्रिपले अध्ययन नगरी नेपालमा रुफ्स नेक्ड हर्नबिल लोप भयो भनेर लेखे । त्यसपछि प्रकाशित नेपालसम्बन्धी लेखिएका पुस्तकमा रुफ्स–नेक्ड हर्नबिल नेपालबाट लोप भयो भन्ने अन्धाधुन्ध सार्न थालियो । तर, हालैको प्रकाशनमा भने दुर्लभ पक्षी लेखियो । अहिले देवेन खरेल यस्ता गडबड कुरालाई किनारा लगाइदिन सफल भए । अब आइयुसिएनदेखि पक्षी अध्ययन अनुसन्धानसम्बन्धी संघसंस्थाका तथ्यांक फेरिने भयो ।