१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o८:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–अमेरिका प्राविधिक प्रतिस्पर्धा कसले जित्ला ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:४३:oo

अमेरिकाले चीनको प्राविधिक चुनौतीलाई सफलतापूर्वक जवाफ दिने हो भने देशभित्र अनुसन्धानमा लगानी बढाउनुपर्छ 


प्राविधिक आधिपत्यका लागि अमेरिका र चीनबीच प्रतिस्पर्धा चलिरहेको छ । अमेरिका धेरै लामो समयदेखि जैविक, सूक्ष्म तथा सूचना प्रविधिमा अग्रस्थानमा रहँदै आएको थियो । यी प्रविधिले २१औँ शताब्दीको आर्थिक विकासलाई अगाडि बढाइरहेको छ । अमेरिकी अनुसन्धान विश्वविद्यालय विश्वमै अग्रणी शैक्षिक सस्थानमा पर्छ । सांघाई जियायो टोङ विश्वविद्यालयले बर्सेनि सार्वजनिक गर्ने ‘एकेडेमिक र्‍याकिंङ अफ वल्र्ड युनिभर्सिटी’मा विश्वका शीर्ष २० उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थानमध्ये १६ अमेरिकाका विश्वविद्यालय छन् । जब कि शीर्ष २० मा एउटा पनि चीनका संस्थान छैनन् । पछिल्लो समय चीनले अनुसन्धान तथा विकास (आर एन्ड डी) मा खर्च उलेख्य बढाएको छ । 

कृत्रिम बौद्धिकता (एआई) लगायत कैयौँ क्षेत्रमा चीनले अमेरिकालाई कडा चुनौती दिइसकेको छ । एआई क्षेत्रमा चीनले सन् २०३० सम्म सबैभन्दा आगाडि रहने लक्ष्य लिएको छ । केही विज्ञले चीनको विशाल तथ्यांक स्रोत र कमजोर गोपनीयतासम्बन्धी कानुनका कारण उसले सो लक्ष्य हासिल गर्ने पनि विश्वास गरेका छन् । मेसिन लर्निङ (यान्त्रिक सिकाइ) अन्य धेरै क्षेत्रलाई प्रभाव पार्ने प्रविधि भएकाले एआई क्षेत्रमा चीनको अग्रताको विशेष महत्व रहन्छ । विगतमा चीनले अन्य देशको प्रविधिको सिको गथ्र्यो, तर पछिल्ला प्राविधिक उन्नतिमा उसको घरेलु प्राविधिक अनुसन्धानको भूमिका देखिन्छ । चीनमा पछिल्लो समय कैयौँ नयाँ आविष्कार भइरहेका छन् ।

सन् २००८ को विश्वव्यापी वित्तीय संकट र त्यसपछिको महामन्दीपछि चिनियाँ नेताले अमेरिकाको हैसियतमा ह्रास आएको विश्वास गर्न थाले । उनीहरूले देङ सियाओ पिङको मध्यमार्गी नीति त्यागेर आक्रामक नीति अंगीकार गरे । त्यसपछि दक्षिणी चिनियाँ सागर क्षेत्रमा कृत्रिम टापु बनाउने र तिनमा सैनिक संयन्त्र खडा गर्ने, अस्ट्रेलियालाई आर्थिक रूपमा धम्क्याउने र हङकङसँग गरेको वाचा खारेज गर्ने कदम उठायो । अमेरिकामा चिनियाँ अर्थतन्त्रसँग आफूहरूको अन्तरनिर्भरता अलग गर्नुपर्ने बहस यही समयमा सुरु हुन थाल्यो । तर, आर्थिक क्षतिविना अमेरिकाले आफ्नो अर्थतन्त्रलाई चिनियाँ अर्थतन्त्रबाट पूर्ण अलग गर्न सक्दैन । 

अमेरिका र चीनको सम्बन्ध शीतयुद्धकालीन अमेरिका–सोभियत संघबीचको सम्बन्धभन्दा फरक छ । सोभियत संघसँग अमेरिकाले एक आयामिक चेस खेलिरहेको थियो । दुई मुलुक सैन्य क्षेत्रमा अन्तरनिर्भर रहे पनि आर्थिक अथवा अन्तरदेशीय सम्बन्धमा स्वतन्त्र थिए । तर, अमेरिका र चीनबीच गहिरो आर्थिक अन्तरनिर्भता छ । अमेरिकाले चीनसँग सैन्य, आर्थिक तथा अन्तरदेशीय तहमा गरेर तीन आयामिक चेस खेल्नु परिरहेको छ । अमेरिकाले आर्थिक अथवा अन्तरदेशीय क्षेत्रको शक्ति सम्बन्धलाई बेवास्ता गर्‍यो भने उसले दुःख पाउँछ । चीनविरुद्ध लिइने सही रणनीतिले सबै तीन आयामको अन्तरनिर्भतालाई स्विकारेको हुनुपर्छ । 

पहिले, आर्थिक सम्बन्धलाई निर्देशित गर्ने कानुनलाई संशोधन गर्नुपर्छ । महामारीअघि चीन ‘राज्य पुँजीवाद’मार्फत विश्व व्यापार संगठनको नियमलाई बेवास्ता गर्दै अगाडि बढिरहेको थियो । यसले पश्चिमी लोकतन्त्रमा लोकप्रियतावादको उदय गराउन योगदान गर्‍यो । आज अमेरिकाका मित्रशक्तिहरू चिनियाँ गुप्तचरी, जबर्जस्ती प्राविधिक हस्तान्तरण, रणनीतिक वित्तीय सुरक्षा तथा राजनीतिक जोखिमबारे परिचित भइसकेका छन् । भविष्यमा राष्ट्रिय सुरक्षा जोखिममा हुने प्रविधि क्षेत्रमा चीन र अमेरिकाका मित्रहरूले अलग मार्ग अपनाउन सक्छन् । नयाँ व्यापारिक नियममाथि छलफल चलाएर यो छुट्टिने प्रक्रियालाई कम गर्न सकिन्छ । 

आणविक अप्रसार, शान्ति सेना, जनस्वास्थ्य र जलवायु परिवर्तनका क्षेत्रमा अमेरिका र चीनको स्वार्थ मिल्न सक्छ । तर, अन्य क्षेत्रमा अमेरिका आफ्नो प्रजातान्त्रिक मूल्यमा अडिग हुनु उचित हुन्छ । व्यापार र प्रविधि क्षेत्रमा उदारवादी मूल्य हाबी गराउन अमेरिकाले आफ्ना विचार मिल्ने साझेदारसँग सहकार्य गर्न सक्छ । यो शताब्दीभर प्रजातान्त्रिक मुलुकको अर्थतन्त्रको कुल योग चीनको भन्दा ठूलै रहन्छ । त्यसैले चीन–अमेरिकाको भावी शक्ति सन्तुलनलाई प्रविधिले भन्दा गठबन्धनले बढी प्रभावित बनाउनेछ । अमेरिकाले चीनको प्राविधिक चुनौतीलाई सफलतापूर्वक जवाफ दिने हो भने देशभित्र अनुसन्धानमा लगानी बढाउनुपर्छ । 

आप्रवासनसम्बन्धी कानुनले अमेरिकाको प्राविधिक अग्रता कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । सन् २०१५ को एक भेटमा सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान युसँग चीनले अमेरिकालाई किन जित्न सक्दैन भन्ने उनको विचारबारे प्रश्न गरेको थिएँ । जवाफमा उनले अमेरिकाले सम्पूर्ण विश्वबाट प्रतिभाशालीहरूलाई स्वागत गर्ने गरेको तथ्यमा इंगित गरे ।

चीनको जातीय हान राष्ट्रवादले आप्रवासनलाई स्विकार्ने सम्भावना छैन । आजको दिनमा सिलिकन भ्यालीका कम्पनीका अधिकिांश संस्थापक वा प्रमुख कार्यकारी अधिकृत एसिया क्षेत्रका हुनु कुनै संयोग हो । प्रविधिको स्वभाव नै विस्तार हुने हो । अमेरिकाले प्राविधिक चुहावटको डरमा यति महत्वपूर्ण निर्यातलाई बन्द गर्‍यो भने उसले सबैभन्दा ठूलो लाभलाई तिलाञ्जली दिनेछ । अत्यन्त कठोर आप्रवासनसम्बन्धी कानुनले प्राविधिक नवप्रवर्तनलाई कमजोर बनाउनेछ । यो कुरालाई रणनीतिक प्रतिस्पर्धाको उग्र राजनीतिमा गुम्न दिनुहुँदैन । प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad