Skip This
काठमाडौं विश्वविद्यालयमा  १० प्रतिशत विदेशी विद्यार्थी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Saturday, 27 July, 2024
२o७८ मङ्सिर २८ मंगलबार o८:o५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं विश्वविद्यालयमा  १० प्रतिशत विदेशी विद्यार्थी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार o८:o५:oo

युरोप, अमेरिका, दक्षिण अफ्रिकासहित ४६ देशका विद्यार्थी पढ्दै, सबैभन्दा धेरै मेडिकल र सोसल साइन्सका 

काठमाडौं विश्वविद्यालय (केयू) मा १० प्रतिशत विद्यार्थी विदेशबाट अध्ययन गर्न आउने गरेको पाइएको छ । विश्वविद्यालयबाट विभिन्न तहको अध्ययन सकेर दीक्षित भई फर्किने विद्यार्थीको संख्या १० प्रतिशतभन्दा बढी छ । मास्टर्सदेखि पिएचडीसम्म फेलोसिप दिने भएपछि विदेशी विद्यार्थीको संख्या अझ बढ्ने अपेक्षा केयूले गरेको छ । विश्वविद्यालयमा मेडिकल र सोसल साइन्समा धेरै विदेशी विद्यार्थी आउने गरेका छन् ।

केयूमा प्रथम चरणमा बुधबार हुन लागेको दीक्षान्त समारोहमा दीक्षित हुन लागेका एक हजार चार सय ४९ विद्यार्थीमध्ये एक सय २३ जना विदेशी छन् । केयूमा युरोप, अमेरिकाबाट पनि विद्यार्थी आउने गरेका छन् । तर, सबैभन्दा बढी भारतबाट ९७ विद्यार्थी अध्ययन गर्न आएका छन् । माल्दिभ्सका १०, श्रीलंकाका नौ, अमेरिका दुई, बंगलादेशका एक, बेनिनका एक, रुसका एक, नेदरल्यान्डका एकजना विद्यार्थी दीक्षित हुँदै छन् । अहिले दीक्षित हुन लागेको विद्यार्थी संख्याको साढे ८ प्रतिशत हो । 

काठमाडौं विश्वविद्यालयका विदेश सम्बन्ध महाशाखाका सहनिर्देशक तथा सहप्रवक्ता डा.उद्धव प्याकुरेलले गत वर्षसम्म दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान मालदिभ्स, बंगलादेशसहित अमेरिका, क्यानडा, बेलायत, जर्मनी, नर्वे, रसिया गरी ४६ देशका विद्यार्थी केयूबाट दीक्षित भएका छन् । जाम्बियाका १८ र दक्षिण अफ्रिकाका १४ जनाले काठमाडौ विश्वविद्यालयबाट उच्च शिक्षा लिएको प्याकुरेलले बताए । 

रिसर्च फेलो दिएर विदेशी विद्यार्थी बढाउने तयारी
काठमाडौं विश्वविद्यालयले सबै तहका गरी एक सय ५० भन्दा बढी कार्यक्रममा १० प्रतिशत कोटा विदेशी विद्यार्थीका लागि छुट्याउने निर्णय गरेको छ । अहिले चिकित्सा शिक्षा र ननक्रेडिट कार्यक्रममा मात्र विदेशी विद्यार्थी आउने गरेकामा फेलोसिपसमेत दिएर ‘एकेडेमिक’ कार्यक्रममा समेत कोटा छुट्याएर ल्याउने तयारी गरेको हो । केयूका उपकुलपति प्रा.डा. भोला थापाले चालू वर्षमा झन्डै दुई सयले रिसर्च फेलो पाउन सक्ने बताए । केयूले दिने रिसर्च फेलोलाई नेपाल सरकारले कूटनीतिक सम्बन्ध भएका देशमा उपलब्ध गराउन सक्ने उनले बताए ।

विश्वविद्यालयमा कार्यरत एक प्राध्यापकले एकपटकमा मास्टर्स, एमफिल, पिएचडीका एक विद्यार्थीलाई निःशुल्क अनुसन्धान गराउनुपर्ने भएको छ । विश्वविद्यालयका अनुसन्धानको दायरा फराकिलो बनाउन र क्षमता विकासका लागि निःशुल्क सुपरभाइजको व्यवस्था गरेको हो । काठमाडौं विश्वविद्यालयमा मास्टर्स बाई रिसर्च, एमफिल र पिएचडीमा अनुसन्धान गर्न पाइनेछ । यसरी छनोटमा परेका ‘रिसर्च फेलो’ले केयूले मास्टर्सदेखि पिएचडीसम्मको निर्धारण गरेको शुल्क तिर्नुपर्नेछैन । केयूले निर्धारण गरेको सबैभन्दा कम एमएस बाई रिसर्चको तीन लाख ९५ हजारदेखि सबैभन्दा महँगो पिएचडी बायोटेकमा सात लाख ३५ हजार रुपैयाँ फेलोसिप पाउनेछन् ।

प्याकुरेलका अनुसार स्नातकदेखि पिएचडीसम्ममा एक सय ५० भन्दा बढी कार्यक्रम रहेको र सबै कार्यक्रममा भर्नाको समयमा विदेशी विद्यार्थीका लागि कोटा छुट्याउनुपर्ने व्यवस्था गरेको छ । अन्तर्राष्ट्रियस्तरको कोर्स र त्यहीअनुसार अंग्रेजी माध्यममा पढाइ, शैक्षिक क्यालेन्डरको पालनालगायत आधार निर्माण भएका छन् । ‘विदेशीले नेपालको कला, संस्कृति, कृषिलगायतको अध्ययन गर्न चाहने र केयूले उनीहरूले चाहेकै स्तरीय शिक्षा दिने, शैक्षिक क्यालेन्डर लागू गर्ने, सेमेस्टर सिस्टममा अंग्रेजी माध्यममा पढाइ हुने भएकाले विद्यार्थी धेरै आउने गरेका छन्,’ उनले भने ।

काठमाडौं विश्वविद्यालयले नेपाली, सार्क र अन्य देशका विद्यार्थीका लागि फरक–फरक शुल्क निर्धारण गरेको छ । सार्कका विद्यार्थीलाई नेपालीभन्दा १ दशमलव ५ गुणा बढी र अन्य देशका लागि दोब्बर निर्धारण गरेको छ । केयूले विदेशी विश्वविद्यालयसँग सम्झौता गरी संयुक्त कार्यक्रम सञ्चालनको तयारीसमेत गरेको छ । संयुक्त कार्यक्रम सञ्चालन भएमा चार वर्षे कार्यक्रममा दुई वर्ष नेपाल र दुई वर्ष विदेशी विश्वविद्यालय रहेको देशमा अध्ययन गर्न पाउनेछन् । अहिले अस्ट्रेलियाको वेस्ट्रन सिड्नी युनिभर्सिटीसँग सम्झौता भइसहेको र अब पिएचडी कार्यक्रम सुरु हुने प्याकुरेलले बताए । 

नयाँ कार्यक्रम थप गर्दै केयू
काठमाडौं विश्वविद्यालयले पूर्वीय दर्शनलाई जोडेर नयाँ कार्यक्रम सञ्चालन गर्दै छ । पूर्वीय धर्म संस्कृतिलाई जोडेर आगामी फेब्रुअरीदेखि योगिक साइन्स एन्ड वेल बिंग विषय सञ्चालन गर्दै छ । त्यसैगरी, केयूले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) विषयमा समेत कक्षा सञ्चालन गर्दै छ । स्कुल अफ एजुकेसनमा बिटेक–एडको पढाइ हुँदै छ । विद्यालय तहका प्राविधिक विषय पढाउने जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्न लागेको उपकुलपति भोला थापाले बताए । त्यसैगरी मास्टर्स इन बिजनेस इकोनोमिक्स (एमबिइ), मास्टर्स इन फाइन आर्ट, बिबिइएलएलबिलगायत नयाँ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

रिसर्च फेलोले विदेशी विद्यार्थीको आकर्षण बढ्छ : डा. उद्धव प्याकुरेल, सहनिर्देशक, विदेश सम्बन्ध महाशाखा 
प्राध्यापक र सहप्राध्यापकअन्तर्गत रहेर विश्वविद्यालयमा एमफिल, पिएचडी वा अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा भर्ना भएका विदेशी विद्यार्थीलाई पनि रिसर्च फेलो हुने सुविधा प्राप्त हुने भएको छ ।

रिसर्च फेलो हुन चाहने ती विदेशी विद्यार्थीले तिर्नुपर्ने शुल्कका साथै उनीहरूलाई विश्वविद्यालयभित्र उपलब्ध होस्टल शुल्कसमेत प्राध्यापक र सहप्राध्यापकको सिफारिसमा विश्वविद्यालयले मिनाह गरिदिने व्यवस्था गरेको छ । स्थानीय आवास र विश्वविद्यालयको शुल्क मिनाहाले विदेशी विद्यार्थीलाई ठूलो राहत हुने र यसले काठमाडाैं विश्वविद्यालयप्रति विदेशी विद्यार्थीको आकर्षण अझ बढ्नेछ ।

३० देशका एक सय ४५ अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संस्थाहरूसँग सहकार्य छ । विश्वविद्यालयले पछिल्ला दिनमा संयुक्त रूपमा गरिने अध्ययन अनुसन्धानका साथै संयुक्त रूपमा पढाउने र विभूषित गर्ने प्रकारको सहकार्यमा जोड दिँदै आएको छ ।