मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
आफ्ना उम्मेदवारको पक्षमा नृत्यमार्फत भोट माग्दै समर्थक ।
हिमाल पौडेल काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार ०६:०९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचनको अघिल्लो दिन महाधिवेशनस्थलमा जे देखियो...

Read Time : > 4 मिनेट
हिमाल पौडेल, काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार ०६:०९:००
  • उम्मेदवारहरूलाई महाधिवेशन प्रतिनिधिसँग भोट माग्न भ्याइ–नभ्याई  
  • बाजागाजा, झाँकीसहितको नृत्यले उत्सवको झल्को 

कांग्रेसको १४औँ महाधिवेशनको तेस्रो दिन आइतबार । निर्वाचन कार्यतालिकाअनुसार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो । प्रदर्शनीमार्गमा बिहानैदेखि चहलपहल थियो । बिहान १० बजे पद्मोदय पुग्दा मौसम चिसो थियो । तर, विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रचारले प्रदर्शनीमार्ग बिस्तारै तात्दै थियो । सुरक्षाकर्मीले प्रदर्शनीमार्गको उत्तर र दक्षिण दुवैतर्फबाट सवारीसाधनको आवातजावत बन्द गरिसकेका थिए ।

प्रदर्शनीमार्गको उत्तरतर्फबाट दक्षिणतर्फ जाँदै गर्दा सडक कहीँ खाली थियो त कहीँ उम्मेदवारका समर्थकले नारा लगाइरहेका थिए । रत्नराज्य क्याम्पसको गेटनजिकै सभापति शेरबहादुर देउवा समर्थकले स्पिकरमा गीत बजाएर प्रचार गरिरहेका थिए । पदाधिकारीमा उठेकाभन्दा बढी तडकभडक विभिन्न समूहबाट केन्द्रीय सदस्य उठेकाको थियो । 
केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी नागिना यादव आफ्नो फोटोसहितको कार्ड झुन्ड्याएर राष्ट्रिय सभागृहअगाडि प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । ‘तपाईंको उम्मेदवारी किन ?’ उनले भनिन्, ‘राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दामा सूक्ष्म ढंगले अनुसन्धान गरेर सम्पूर्ण नेपाली समाजको हितमा काम गर्नका उम्मेदवारी दिएकी हुँ ।’ ठूलो साइजको ब्यानर नबनाई साना फोटा र भिजिटिङ कार्ड बनाएर प्रचार गरेको उनले बताइन् । 

भृकुटीमण्डपको गेटअगाडि सभापतिका उम्मेदवार देउवा र सहमहामन्त्रीका उम्मेदवार किशोरसिंह राठौरको ठूलो ब्यानर बोकेर सडकको किनारमा लामो लाइन बनाएर एक ठाउँमा बसिरहेका थिए । राना–थारूको संस्कृति झल्काउने वेषभूषासहित आएका केही युवतीसँग कसैकसैले सेल्फी लिइरहेका थिए । केही फरक तरिकाको प्रचार भएर होला, केही समय भिड त्यहीँ केन्द्रित भयो । राना–थारूको वेषभूषामा सजिएका युवतीले विशेषगरी सुदूरपश्चिमका नेताहरूको प्रचार गरिरहेका थिए । उनीहरूले रमेश लेखक, देउवा, राठौर, नैनसिंह महरलगायतका प्रचार सामग्री बोकेका थिए । 

उम्मेदवारका समर्थकले उनीहरूसँग सेल्फी खिच्दै भोट मागिरहेका थिए । समर्थक सभागृहदेखि टुकुचा र टुकुचादेखि पुनः सभागृह ओहोरदोहोर गरिरहेका थिए । करिब ११ः१५ मा ललितपुरका नेता मदन अमात्य पञ्चेबाजासहित रत्नराज्य क्याम्पस आइपुगे । अगाडि–अगाडि पञ्चेबाज र पछाडि–पछाडि धिमे बाजासहित केन्द्रीय सदस्यका उम्मेदवार अमात्यका समर्थक नाँच्दै–गाउँदै भृकुटीमण्डपतिर गइरहेका थिए । त्यसैेवेला सभागृहतर्फबाट देउवाका समर्थक नारा लगाउँदै रत्नराज्य क्याम्पसतर्फ आइरहेका थिए । 

दुई र्‍यालीबीच ल क्याम्पसअगाडि जम्काभेट भयो । सबै एक–अर्कामा हाँस्दै एकछिन बाजाको तालमा नाँचे र अगाडि बढे । अमात्यको र्‍यालीमा सहभागी ललितपुरका मेयर चिरिबाबु महर्जनले संस्कृति झल्काउने गरी प्रचार गरेको बताए । उनले धिमे बाजालाई देखाउँदै भने, ‘यो त हाम्रो संस्कृति हो ।’ उनले धिमे बाजा महादेवलाई मनपर्ने बाजामध्ये एक भएको प्रतिक्रिया दिए । 

सबै आ–आफ्नो प्रचारमा व्यस्त थिए । करिब ११ः३० मा प्रहरीको एउटा टोली आचारसंहिता लागू भएको भन्दै प्रचारप्रसार रोक्नका लागि माइकिङ गर्दै हिँडिरहेको थियो । टोपी, ज्याकेट, फोटो, ब्यानरजस्ता कुनै पनि प्रचार सामग्री प्रयोग नगर्न भन्दै प्रहरी यताउता हिँडिरहेको थियो । तर, पञ्चेबाजा र लाउडस्पिकरको सामुन्ने प्रहरीको माइकिङले प्रभाव पार्न सकिरहेको थिएन । 

प्रचारमा लिप्त भएका समर्थक एकोहोरो आफ्नो काम गरिरहेका थिए । प्रचारप्रसार गर्नेको भिडका एकजनाले भने, ‘यस्तो बढी किन गर्नुपर्ने थियो र ? सादा पन्नामा आफ्नो नाम लेखेको पर्चा बाँडेको भए भइहाल्थ्यो नि !’ उनी चितवनका कृष्णप्रसाद ढकाल थिए । उनले अगाडि भने, ‘आफैँ आएर भोट माग्दा भइहाल्थ्यो नि ! यस्तो टडकभडक आवश्यक थिएन । प्रचारप्रसारमा सादा, सानो साइजमा पर्चा बाँडेको भए भइहाल्थ्यो नि !’

करिब ११ः३५ मा आरजु राणा भृकुटीमण्डप आइपुगिन् । उनी देउडा गाउँदै उनकै प्रचार गरिरहेकालाई हात जोड्दै ल है भन्दै भृकुटीमण्डप छिरिन् । सुदूरपश्चिमका अधिकांश उम्मेदवारले देउडासहितका सुदूरपश्चिमको संस्कृति झल्कने गरी प्रचार गरिरहेका थिए । कोही गोलो घेरा बनाएर उम्मेदवारका फोटो र ब्यानर हातमा लिएर देउडा नाँचिरहेका थिए ।

सभागृहअगाडि फर्मुल्लाह मन्सुरका समर्थकले भोजपुरीमा नाराबाजी गरिरहेका थिए । ‘हाम्रा नेता कैसन, फर्मुल्लाह मन्सुर जैसन’जस्ता नारा लगाइरहेका थिए । त्यतिन्जेलसम्म भिडभाड बाक्लिइसकेको थियो । करिब १२ बजेको आसपासमा भृकुटीमण्डपमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा देखिए । प्रतिनिधिहरूको आग्रहमा फोटो खिचाइरहेका शर्मा उत्साहित देखिए । तयारी कस्तो भइरहेको छ त ? उत्साहित हुँदै उनले भने, ‘एकदम उत्साहपूर्वक तवरमा प्रतिस्पर्धात्मक वातावरण तयार भइरहेको छ । भोलि हार्दिक वातावरणमा चुनाव हुन्छ ।’ 

उनी प्रतिनिधिहरूसँग हात जोड्दै भृकुटीमण्डपको पार्कभित्र छिरे । प्रतिनिधिसँग बोल्ने क्रममा शर्मालाई एक प्रतिनिधिले ‘कम्तीमा विश्वप्रकाशले सबैको फोनको रेस्पोन्स गर्ने’ बताए । शर्माले ठट्यौली शैलीमा भने, ‘बल्ल राम्रो मान्छे भेटेँ ।’ प्रकाशमान सिंह पार्कभित्रै थिए । शर्मा पुगेपछि बसिरहेका प्रकाशमान उठे र दुवैजना प्रतिनिधिलाई नमस्कार गर्दे हिँड्न थाले । प्रतिनिधिहरू कोही उठेर, कोही बसेर, कोही एक्लै, कोही समूहमा गोलो घेरा बनाएर खाना खाइरहेका देखिन्थे । उनीहरूबीच कसैले सभापतिको निर्वाचन दोस्रो चरणमा जाने बताइरहेका थिए । कसैले पहिलो चरणमै नतिजा निस्कने सम्भावना पनि रहेको भन्दै गफिइरहेका थिए । कोही चौरमा बसेर बदाम खाइरहेका देखिन्थे ।

१२ः३० सम्म आरजु राणा भृक्ुटीमण्डपभित्रै भोट मागिरहेकी थिइन् । कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि आफ्ना समर्थक लिएर भोट मागिरहेका थिए । त्यसैबीचमा सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङ एक्लै हिँडिरहेका देखिए । प्रचारप्रसार गर्नुपर्ने वेलामा किन एक्लै हिँड्नुभएको भन्दा उनले आफ्ना साथीहरूले प्रचार गरेको बताए । कुराकानीकै क्रममा उनलाई कसैले ‘ओ सभापति, यता, यता’ भन्दै बोलायो । उनी ‘ल है’ भन्दै त्यतैतिर गए । 

पार्कभित्र दुई–चारजना भने बदामको डालो बोकेर हिँडिरहेका देखिन्थे । तिनैमध्ये एक रामेछापका हेमबहादुर नेवार रहेछन् । दिउँसो भित्र छिर्न दिँदैन कि भनेर उनी बिहान ७ः३० मै भृकुटीमण्डप छिरेका रहेछन् । तर, १ बज्न लागिसक्दा पनि बोहनी नै नभएको उनले सुनाए । बदाम बेचिरहेका रौतहटका सुबोध यादवले भने यस्तो कार्यक्रम हुँदा व्यापार बढ्ने गरेको अनुभव सुनाए । ‘धेरैजना हुँदा धेरैले किन्छन्,’ यादवले भने । त्यहाँ के भइरहेको छ भन्नेबारे यादव जानकार रहेछन् । रौतहटका एक–दुईजना नेतालाई आफूले चिन्ने भए पनि उनीहरू यहाँ आए–नआएको थाहा नभएको यादवले बताए । 

त्यत्तिकैमा सभापतिका अर्का उम्मेदवार शेखर कोइराला र उनको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका चन्द्र भण्डारी देखिए । उनीहरू पनि प्रतिनिधिलाई हात जोड्दै घुमिरहेका थिए । उनीहरूको नजिकै मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विनोद चौधरी प्रतिनिधिसँग भोट मागिरहेका थिए । प्रतिनिधि भने उनीसँग फोटो खिचाउन चाहन्थे । केहीले भने देशको आर्थिक रूपान्तरणका लागि भूमिका खेल्न चौधरीलाई सुझाव दिइरहेका थिए । 

यत्तिकैमा चन्द्र भण्डारी ‘एसियाको ठूलो मान्छे पनि यहीँ, हामी साना मान्छे पनि यहीँ’ भन्दै चौधरी भएको ठाउँमा पुगे । चौधरीले त्यस्तो नभन्न आग्रह गरे । भृकुटीमण्डपभित्र–बाहिर सञ्चारकर्मी नेता तथा प्रतिनिधिसँग कुरा गरिरहेका देखिन्थे । रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङलगायतले सञ्चारकर्मीसँग संवाद गरिरहेका देखिन्थे । ‘प्रचारप्रसार कसरी गरिरहनुभएको छ त ? निकै हतारमा देखिएका गुरुङले भने, ‘एकछिनको प्रचारले हुने त खासै केही होइन । तर, धेरैसँग भेट भइरहेको छ, आशीर्वाद पाइरहेका छौँ ।’

हास्य कलाकार शिवशंकर प्रसाद रिजाल (जोगिन्दर) महाधिवेशन प्रतिनिधि भएर आएका छन् । उनी बाजागाजासहित भोट मागिरहेकाको समूहमा गएर वेलावेला नाचिरहेका देखिन्थे । कसैको पक्षमा भोट मागिरहनुभएको छ ? जवाफमा उनले सभापतिमा अनुभवले जित्नुपर्ने र महामन्त्रीमा युवा जोसले जित्नुपर्ने प्रतिक्रिया दिए । ‘सेवामुखी, जनमुखी, भूगोलमुखी, राष्ट्रियता, प्रजातन्त्र र समाजवादमुखी नेतृत्व आउनुपर्छ,’ उनले भने । 

भृकुटीमण्डपबाहिर मानिसको ठेलमठेल अवस्थामा पुगिसकेको थियो । जनजाति उम्मेदवारले आफ्नो संस्कृति झल्कने बाजागाजा र झाँकीसहित भोट मागिरहेका थिए । आरआर क्याम्पसको अगाडिको डिस्प्लेमा गगन थापाको प्रचार थियो । डिस्प्लेमा उनले विगतमा आफूले गरेका काम, भाषण र अन्तर्वार्ताका क्लिप बजिरहेको थियो । 

उम्मेदवारभन्दा समर्थक व्यस्त थिए । उनीहरू सभागृह–टुकुचा पुल–सभागृह गर्दै नारा लगाउँदै, पम्प्लेट छर्दै हिँडिरहेका देखिन्थे । कसैले सोइ ढोले सोइ गाइरहेका थिए, कसैले हातमा तरबार बोकेर झाँकीसहित शेर्पाको सिली नृत्य देखाएर प्रचार गरिरहेका थिए । भिडकै बीचमा कपाल सेतै फुलेकी कांग्रेसकी पुरानी नतृ सावित्री बोगटी पाठक विश्वभाषा क्याम्पसअगाडि भेटिइन् । ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक योजना सहायकमन्त्री बनेकी बोगटीले महिलातर्फ खुलामा केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी रहिछन् । उनले ‘कांग्रेसको नेतृत्व सुझबुझपूर्ण, मूल्य–मान्यता र आदर्शप्रति र प्रविधि आत्मसात् गर्दै युवालाई साथमा लिएर हिँड्न सक्ने’ हुनुपर्ने बताइन् ।