१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
सुजन तिमल्सिना
२o८१ बैशाख २३ आइतबार o८:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बालबालिकामा इन्टरनेटको बढ्दो लत

Read Time : > 2 मिनेट
सुजन तिमल्सिना
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:o५:oo

बालबालिकामा सामाजिक सञ्जालको बढ्दो लतको निदान समयमै खोजिएन भने त्यसले बिकराल स्थिति निम्त्याउन सक्छ


कोभिड–१९ का कारण अस्तव्यस्त रहेका हरेक क्षेत्रमध्ये एक हो, शैक्षिक क्षेत्र । पछिल्लो समय यस क्षेत्रमा केही सामान्य परिवर्तन देखिए पनि खासै ठूलो सुधार भने हुन सकेको छैन । शैक्षिक संस्थाहरू बन्द रहँदा भर्चुअल माध्यमबाट कक्षाहरू सञ्चालन गरिए । जुनसुकै सभा, गोष्ठी तथा अन्य भेटघाट पनि जुम प्रविधिमार्फत हुन थाले । सुरुवाती तीन–चार महिना अस्तव्यस्त रहे पनि बिस्तारै मानिसहरू प्रविधिसँग नजिकिँदै गए । 

त्यसको प्रत्यक्ष असर अहिले बालबालिकादेखि वयष्कसम्म देख्न थालिएको छ । हाल विद्यालयहरू सञ्चालनमा आइसकेको परिपे्रक्ष्यमा पनि बालबालिकाहरू अलमलमा देखिन्छन् । यसको एक मात्र कारण हो, सामाजिक सञ्जाल र इन्टरनेट । २१औँ शताब्दीमा प्रविधिसँगसँगै अगाडि बढ्नु स्वाभाविक पनि हो । हरेक कुराको सही र समुचित प्रयोग भएमा मात्र हामीले त्यसबाट लाभ लिन सक्छौँ । अन्यथा, हामी हरेक बेथिति र विसंगतिलाई आत्मसात् गर्दै अगाडि बढिरहेका हुन्छौँ । 

हालको परिस्थिति नियाल्ने हो भने कोभिड संक्रमण र निषेधाज्ञाका कारण लामो परिस्थितिसम्म पनि बालबालिका विद्यालय जानबाट वञ्चित रहे । यस समयमा हुर्किंदै गरेका बालबालिकादेखि वृद्धवृद्धासम्मको समय व्यतीत गर्ने, मनोरञ्जन लिने एक मात्र साधन बन्यो मोबाइल । जसले गर्दा अहिलेको सामान्य परिस्थितिमा पनि त्यसको कुलतले हामीलाई छाडेको छैन । हिजो के थियो होइन, आज के भइरहेको छ भन्नेले ठूलो प्रभाव पार्छ । हामीले हिजो के गर्यौं होइन, भोलि कसरी अगाडि बढ्छौँ भन्नेले जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । लामो समय प्रविधिसँग नजिक रहेका बालबालिका हिजोआज सामाजिक सञ्जालको प्रभावमा फसेका छन् । समयमै यसको निदान खोजिएन भने त्यसले कुनै दिन बिकराल स्थिति ननिम्त्याउला भन्न सकिन्न । 

पछिल्लो समय हामीकहाँ मोबाइल फोन र इन्टरनेटको माग ह्वात्तै बढेको विभिन्न तथ्यांक सार्वजनिक भइरहेका छन् । जसले गर्दा अनलाइन कक्षाका नाममा सामान्य परिवारदेखि हुनेखाने परिवारसम्म ल्यापटप र इन्टरनेटको पहुँच पुगेको देखिन्छ । भर्चुअल कक्षाका रूपमा दिनभर घरभित्रै बसिरहँदा बालबालिका मोबाइल र ल्यापटपमै झुन्डिरहे । जसको प्रत्यक्ष असर हरेक घरघरमा हाल देखा परिरहेको छ । बालबालिकाहरू दिनरात मोबाइलमा झुन्डिइरहँदा यसले पार्ने असरबारे कसैलाई पनि ख्याल भएन । कम्तीमा बालबालिकाले केही न केही सिक्ने अवसर पाएकोमा सबै खुसी भए । 

अलमलमा रहेका अभिभावक र हातहातमा फोन भएका बालबालिकालाई मोबाइलको लत बसेको पत्तै भएन । जसले गर्दा आज घरमा केहीबेर फुर्सद हुँदा मोबाइल हेर्ने र भर्चुअल गेम खेल्ने बानी हाबी भयो । जसले गर्दा उनीहरूसित परिवारसँग गफगाफ गर्ने फुर्सद र केही नयाँ सिक्ने वा बोल्ने समय पनि भएन ।

परिस्थितिसँगसँगै अगाडि बढ्नु हाम्रो दायित्व र कर्तव्य हो भने हामीले गरेका कामले हामीमाथि पार्ने असरलाई पहिचान गर्न नसक्नु हाम्रो दुर्भाग्य हो । हाल घरभित्रकै परिवेश नियाल्ने हो भने पनि सँगै बसेका छोराछोरीलाई बुबाआमासँग बोल्ने फुर्सद छैन, न त बुबाआमालाई छोराछोरीसँग बोल्ने समय नै छ । यो एउटा समस्या हो र चुनौती पनि । आजको यस परिवेशबाट कहिले सुध्रिने हामी । 

युनिसेफद्वारा पछिल्लो समय उपलब्ध गराइएको तथ्यांकका आधारमा हेर्ने हो भने ‘लकडाउन र निषेधाज्ञाका कारण विश्वव्यापी रूपमा सातमध्ये कम्तीमा एकजना बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । विश्वभर एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएको तथ्यांक सार्वजनिक भएको छ । 

युवा तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र पर्यावरणीय क्षेत्रलाई ध्यानमा राखी उनीहरूको मस्तिष्कमा नराम्रा भावना या विचार पैदा हुनबाट रोक लगाउन सके हामीले बालबालिकामा सुधार ल्याउन सक्छौँ । पछिल्लो समयमा नेपाललगायत विभिन्न देशमा बालबालिकामा देखिएको भौतिक तथा अभौतिक प्रभावले गर्दा नै उनीहरू सामाजिक सञ्जाल तथा अन्य मनोरञ्जनका साधनतर्फ बढी आकर्षित भएको र त्यसमै लत बसेकाले अहिलेको अवस्थामा उनीहरूलाई प्रत्यक्ष अथवा भौतिक कक्षामा पनि निकै समस्या भइरहेको देखिन्छ ।

ad
ad