१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सुजन तिमल्सिना
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड–१९ ले निम्त्याएका शैक्षिक चुनौती

Read Time : > 2 मिनेट
सुजन तिमल्सिना
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo

हाल विश्वभर फैलिएको कोभिड–१९ का कारण हरेक क्षेत्र अस्तव्यस्त भएका छन् । हरेक क्षेत्रमा चुनौती नै चुनौती थपिएका छन् । कोभिड–१९ का कारण देशभर लगाइएको निषेधाज्ञाका कारण अझै व्यापार, व्यवसाय, रोजगार तथा शिक्षा क्षेत्र अस्तव्यस्त बनिरहेका छन् । शून्यप्रायः गतिविधि रहेका हरेक क्षेत्रले बिस्तारै गति लिँदै छन् । कोभिड संक्रमण अझै खासै घटेको छैन । सबैको पहुँचमा खोप पुग्ने कहिले हो, टुंगो छैन । कोभिड संकटका कारण आधारभूत आवश्यकतामध्येको गाँस जुटाउनु अहिलेको मुख्य चुनौती बनिरहेको छ । नेपालमा रोजगारीका अवसरहरू पनि खुम्चिँदै गएको छ । महामारीकै बीचमा अनलाइन तथा डिजिटल प्लेटफर्मको महत्व बढ्दै जाँदा नेपालमा भोलिका दिनमा अझै बेरोजगारी बढ्ने देखिन्छ । 

कोभिड–१९ ले असर नपारेको क्षेत्र कुनै छैन । तीमध्ये सबैभन्दा ठूलो असर परेको र अस्तव्यस्त भएको स्वास्थ्य तथा शैक्षिक क्षेत्र नै हो । महामारीका कारण लामो समयदेखि विद्यालय जानबाट वञ्चित बालबालिका हिजोआज सामाजिक सञ्जालका माध्यमबाट विद्यालय र शिक्षक–शिक्षिकासित जोडिएका त छन्, तर तिनको सिकाइको गुणस्तरीयतामा भने क्रमिक ह्रास आइरहेको देखिन्छ । 

परिष्कृत समाज निमार्णका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । एउटा समाजलाई सुसंस्कृत बनाउन शिक्षाको ठूलो भूमिका रहेको हुन्छ । हालको प्रविधिमैत्री युगसँगसँगै हरेक मानिस मोबाइल फोन, ल्यापटप, इन्टरनेटविना बस्न नसक्ने भएको छ । यी साधनमार्फत पनि मानिस शैक्षिक गतिविधिमा जोडिन सक्छ । तर, हामीकहाँ राज्यको कमजोर शैक्षिक नीति र ग्रामीण क्षेत्रका नागरिकको मोबाइल, ल्यापटप तथा इन्टरनेटमा कमजोर पहुँचका कारण पनि अहिले लाखौँ विद्यार्थी देशको शैक्षिक कार्यक्रमबाट बाहिरै छन् ।

इन्टरनेटको सहयोगमा शैक्षिक गतिविधि सञ्चालन गर्नु अहिलेको आवश्यकता हो । तर, त्यसका लागि सर्वसाधारणको पनि डिजिटल प्लेटफर्मसम्म सहज र सुलभ पहुँच आवश्यक छ । यसका लागि राज्यले समेत आवश्यक पहल गर्नुपर्छ । तर, हामीकहाँ राज्यलाई देशको शैक्षिक दुरवस्थाबारे कुनै चासोसम्म देखिन्न । शिशुकक्षादेखि विश्वविद्यालयसम्मको शैक्षिक क्रियाकलाप कसरी अघि बढिरहेका छन्, विद्यालयदेखि विश्वविद्यालयसम्मको अवस्था कस्तो छ ? परीक्षा प्रणाली कसरी अघि बढिरहेका छन् ? विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिन सरोकारवाला निकायले के–कस्ता योजना र कार्यक्रम ल्याएका छन्, यसबारे हाम्रो सरकारलाई कुनै चासो र चिन्ता छैन । 

राजधानीलगायत सहरी क्षेत्रमा अनलाइन कक्षाहरू कामचलाउ रूपमा चलिरहेका भए पनि ग्रामीण इलाकामा नाम मात्रका कक्षा पनि सञ्चालन हुन सकिरहेका छैनन्

आज सरकारले अनलाइन कक्षाहरू सञ्चालन गर्ने त भनेको छ । तर, त्यस्ता कक्षा कसरी चलिरहेका छन् ? ती कक्षामा बालबालिकाको पहुँच छ कि छैन ? भन्नेतर्फ उसले कुनै चासो दिएको छैन । यतिखेर देशको कुनै पनि इन्टरनेट सेवा प्रदायकको सेवा गुणस्तरीय छैन । लाखौँलाख विद्यार्थीले ल्यापटप देखेका पनि छैनन्, प्रयोग गर्नु त परैको विषय भयो । ससाना मोबाइल स्क्रिनमा कमजोर इन्टरनेट सेवाका कारण शिक्षक र विद्यार्थीबीच दोहोरो संवादसमेत हुन नसकी चलिरहेका छन् अधिकांश अनलाइन कक्षाहरू । राजधानी र तुलनात्मक रूपमा सुविधासम्पन्न सहरी क्षेत्रमा अनलाइन कक्षाहरू कामचलाउ रूपमा चलिरहेका भए पनि दूरदराजका ग्रामीण इलाकामा यस्ता कक्षा नाम मात्रका लागि पनि हुन सकिरहेका छैनन् । 

देशका ग्रामीण भेगका शिक्षकहरू पनि अनलाइन कक्षाका लागि तयार छैनन् । उनीहरूसित न प्रविधिको सहज पहुँच छ, न ल्यापटपलगायत अत्यावश्यक उपकरण नै छन् । न उनीहरूमा प्रविधिको पर्याप्त ज्ञान नै छ । जसले गर्दा अनलाइन कक्षाहरू नामका लागि मात्र सञ्चालन भइरहेका छन् । यसको प्रभावकारिता भने अत्यन्त न्यून छ । 

कोभिड–१९ महामारीको सबैभन्दा बढ्ता प्रभाव भर्खरै स्कुल जाने उमेरका बालबालिकाको सिकाइमा परेको छ । आजभन्दा तीन वर्षअघि नर्सरी कक्षामा भर्ना भएका बालबालिकाले आजसम्म साउँ अक्षर सिक्न पाएका छैनन् । उनीहरूका लागि अनलाइन कक्षाहरू प्रभावकारी छैनन् । जसले गर्दा उनीहरूको उमेरसँगै बढ्नुपर्ने सिकाइ क्रियाकलाप निकै पछाडि नै छुटेको छ ।

 अनलाइन कक्षाको मूल्यांकन प्रक्रियामा पनि समस्या देखिन्छ । परीक्षाहरू एकपछि अर्को गरी स्थगित भइरहेका छन् । विशेषगरी कक्षा ११ र १२ तथा विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक वर्षहरू नै खेर गइरहेका छन् । चार वर्षमा सकिनुपर्ने पढाइ ६ वर्षमा पनि नसकिने स्थिति छ । त्यसैले पनि नियमित अनलाइन कक्षा र निरन्तर मूल्यांकन प्रक्रिया अनुसरण नगर्ने हो भने हाम्रो देशको शैक्षिक क्षेत्रहरू अझै अस्तव्यस्त भइरहने छन् र भविष्यका कर्णधार मानिने विद्यार्थीको सिकाइ क्रियाकलाप झन्झन् कमजोर हुँदै जाने निश्चित छ । 

महामारीमा प्रविधिले हामीलाई चुनौती र अवसर दुवै दिएको छ । हामीले चुनौतीहरू पन्छाउँदै प्राप्त अवसरको सदुपयोग गर्न सकियो भने देशको शैक्षिक क्षेत्रले पुनः गति लिन सक्छ । अन्यथा, हाम्रो शैक्षिक क्षेत्र महामारीसँगै धराशयी हुनेमा कुनै शंका छैन । त्यसैले, देशको शैक्षिक क्षेत्र बचाउन तात्कालिक तथा दीर्घकालीन योजनाहरू बनाएर अघि बढ्न ढिलो गर्नु हुँदैन । 

ad
ad