१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर २४ शुक्रबार ०८:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ट्राफिक जरिवाना अब कारबाही स्थलमै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर २४ शुक्रबार ०८:५१:००
  • तत्काल भुक्तानी गर्न ‘पे फाइन अन द स्पट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ सेवा
  • मादक पदार्थ सेवन, लेन अनुशासन र रातो बत्ती उल्लंघनकर्ताको हकमा यो सेवा लागू नहुने 

ट्राफिक कारबाहीमा पर्नेहरूले अब कारबाहीस्थलबाट जरिवानाबापतको रकम भुक्तानी गर्न सक्ने भएका छन् । ‘पे फाइन अन द स्पट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ नाम दिइएको यो प्रणाली बिहीबारबाटै सुरु गरिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पहिलोपटक प्रयोगमा ल्याएको यो सुविधा पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा ट्राफिक प्रहरी कार्यालयबाट सुरु हुनेछ । सेवा सुरु भएपछि कारबाहीमा पर्नेहरूले कागजात पनि कारबाहीस्थलमै प्राप्त गर्न सक्नेछन् । यसअघि, ट्राफिक प्रहरीले कारबाहीमा पर्नेहरूलाई कागजात नियन्त्रणमा लिएर चौबीस घन्टे पुर्जी दिने गथ्र्यो । महाशाखाले यो सेवालाई ‘पे फाइन अन द स्पट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ नाम दिएको छ । 

ट्राफिक कारबाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो सेवा सुरु गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । ‘ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै छ । अबदेखि चिट लिएर जरिवाना तिर्न ट्राफिक कार्यालय गइरहनुपर्दैन । कारबाहीस्थलमै पेमेन्ट गर्ने र कागजात त्यहीँ फिर्ता लिने व्यवस्था सुरु भएको छ । यसले सबैलाई सहज बनाउनेछ,’ उनले भने ।

एसएसपी जनक भट्टराई प्रमुख, ट्राफिक महाशाखा 

ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै छ । अबदेखि चिट लिएर जरिवाना तिर्न ट्राफिक कार्यालय गइरहनुपर्दैन । कारबाहीस्थलमै पेमेन्ट गर्ने र कागजात त्यहीँ फिर्ता लिने व्यवस्था सुरु भएको छ । यसले सबैलाई सहज बनाउनेछ ।

ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधिमैत्री बनाउँदै आमसेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानतर्फ अघि बढिरहेको अवस्थामा सेवा सुरु गरिएको महाशाखाले जनाएको छ । सवारीचालकहरूले ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले जारी गर्ने २४ घन्टे पुर्जीबापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाहीस्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सक्नेछन् ।

यो सेवा मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकका हकमा लागू हुनेछैन । अनिवार्य रूपमा ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिनुपर्ने भएकाले यो सेवा उनीहरूको हकमा लागू नगरिएको प्रहरीले जनाएको छ । यस्ता कारबाहीमा परेकाहरू ट्राफिक प्रहरी महाशाखामा अनिवार्य रूपमा गई चेतनामूलक कक्षा लिनुपर्नेछ । त्यसपछि मात्रै कागजात फिर्ता लिन सक्नेछन् । 

यसरी गर्न सकिन्छ भुक्तानी 
महाशाखाले मातहतका ट्राफिक प्रहरीलाई विशेष सुविधायुक्त मोबाइल फोन उपलब्ध गराउनेछ । फोनमा ‘पे फाइन अन द स्पट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’युक्त एप्स जडान हुनेछ । कारबाहीपछि काटिएको पुर्जीको चलानी नम्बर ट्राफिक प्रहरीले सोही एप्समा ‘लक’ गर्नेछ । जसको संकेत तुरुन्तै महाशाखास्थित कार्यालयमा पुग्नेछ । महाशाखाले संकेतअनुसार ‘लक’लाई स्वीकार गर्नेछ । जसको संकेत ट्राफिक प्रहरीले बोक्ने मोबाइलमा पुग्नेछ । सोही आधारमा ट्राफिक प्रहरीले जफत गरिएको कागजात चालकलाई दिनेछ । 

रकम भुक्तानीका लागि ट्राफिक प्रहरीले नै ‘क्युआर कोड’ उपलब्ध गराउनेछ । सोही कोडअनुसार चालकले भुक्तानी गर्नेछ । महाशाखाका प्रवक्ता एसपी दासले यी सबै काम दुई मिनेटभित्र पूरा हुने बताए । ‘ट्राफिक प्रहरीले जरिवाना लिन प्रविधिको उच्चतम प्रयोगलाई कार्यान्वयनमा ल्याएको छ । दुई मिनेटभित्रै चालकले भुक्तानी र नियन्त्रणमा लिइएको कागजात फिर्ता लिन सक्नेछन् । पाँच ठाउँबाट सुरु गरिएको यो सुविधा अब अन्य ठाउँमा पनि लागू हुनेछ,’ उनले भने ।

‘क्युआर कोड पेमेन्ट’ महिना दिनअघिबाटै 
ट्राफिक प्रहरीले ‘क्युआर कोड’बाट जरिवाना भुक्तानी गर्ने व्यवस्था भने महिना दिनअघिबाटै सुरु गरेको हो । ट्राफिक प्रहरीले भुक्तानीका लागि कारबाहीमा परेका चालकलाई ‘क्युआर कोड’ उपलब्ध गराउँछ । सोही आधारमा चालकले ई–सेवा वा मोबाइल बैंकिङमार्फत तोकिएको जरिवाना भुक्तानी गर्दै आएको छ । जसले चालकलाई बैंकको लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त गराएको छ । 

रकम भुक्तानीपछि नियन्त्रणमा लिइएको कागजात लिन भने सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा नै पुग्नुपर्छ । तर, ‘पे फाइन अन द स्पट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ लागू भएपछि भने कारबाहीमा परेका चालकले कागजात लिन ट्राफिक कार्यालयसम्म पुग्नु पर्दैन । चालकले कागाजत पनि ‘अन द स्पट’ नै पाउँछन् । 

‘क्युआर कोडमार्फत जरिवानाबापतको रकम तिर्ने सुविधा त हामीले महिना दिनअघिबाटै सुरु गरेका हौं । यो सुविधा निकै लोकप्रिय बनेको प्रतिक्रिया हामीले पायौं । भुक्तानीपछि कागजात लिन भने चालक सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमै पुग्नुपर्ने हुन्थ्यो । तर, ‘पे फाइन अन द स्पट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ लागू भएपछि कारबाहीमा परेका चालकले भुक्तानी पनि ‘अन स्पट’ र कागजात पनि ‘अन द स्पट’ नै पाउँछन्,’ महाशाखाका प्रवक्ता एसपी शर्माले भने । केही गरी ट्राफिक नियम उल्लंघन गर्दा पनि धेरै समय कागजपत्र लिन र जरिवाना तिर्दा बित्ने भएको भन्दै आमसर्वसाधारणले ट्राफिक नियमप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।