मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर २३ बिहीबार ०९:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा जोखिमपूर्ण स्थानका सडक मर्मत सुरु

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २३ बिहीबार ०९:०४:००

सडक डिभिजन कार्यालय नुवाकोटले रसुवाको जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरु गरेको छ । कार्यालयले जिल्लाको स्याउबारीदेखि धुन्चेसम्मको जोखिमपूर्ण स्थानका सडकको मर्मतको काम सुरु गरेको हो । सडक साँघुरो र अप्ठ्यारो हुँदा सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम सुरु गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए ।

मुलखर्कमा सडक साँघुरो र असहज भएसँगै तत्काल मर्मतको कार्य अघि बढाइएको उनले बताए । ‘राम्चेदेखि मुलखर्कसम्मको बाटो अलि बढी जोखिम छ, सवारी आवतजावतमा समस्या भएकोले हाम्रो कार्यालयले तत्काल आकस्मिक रुपमा काम गरेको हो उनले भने, मुलखर्कमा उकालो सडक, सवारी आवतजावतमा समस्या भएकाले तत्काल मर्मतको काम गरेकोे छौ अब ठेक्कामार्फत सडक मर्मतको काम सुरु हुन्छ ।'

सडक डिभिजन कार्यालय नुवाकोटका अनुसार मुलखर्क–राम्चे खण्डको सडकमा जोखिम रहेको छ । हरेक वर्ष वर्षायाममा बाटो भत्किने, धसिने हुने गरेको छ । रिमालले नयाँ पत्रिकासँग भने, 'पानी परेपछी यो सडकमा बाटो बिग्रने गरेको छ, जति मर्मतको कार्य गरेपनि हरेक वर्ष समस्या दोहोरिरहेको छ, त्यसलाई अस्थायी रुपमा काम गर्ने हो, तत्काल आकस्मिक रुपमा हामीले अहिले मुलखर्कमा ग्राभेल गरि सवारी आवतजावतमा सहज बनाएका हौ ।' 

स्याउबारीदेखि धुन्चेसम्मको सडक साँघुरो तथा अप्ठ्यारो हुँदा केहि दिन अघि मात्रै चिनबाट स्याउ बोकेर आएको मालबाहक कन्टेनर र टाटासुमो दुर्घटनामा परेका थिए । सवारी दुर्घटना र सवारी संचालनमा समस्या भएसँगै सडक डिभिजन कार्यालय नुवाकोटले जोखिमपूर्ण स्थानको सडक मर्मतको कार्यलाई अघि बढाएको हो । 

बेत्रावतीदेखि स्याफ्रुबेशीसम्मको सडक स्तरोन्नतीका लागि सडक डिभिजन कार्यालय नुवाकोट मार्फत चालु आर्थिक वर्ष २०७८/०७९ मा करिब १० करोड बजेट बिनियोजन भएको जनाइएको छ । जसमध्ये ८ करोड सडक मर्मतका लागि बजेट बिनियोजन भएको बताइएको छ । डिभिजन प्रमुख रिमालका अनुसार सडक मर्मतका लागि दुई वटा ठेक्का लागिसकेको र बाँकि पनि ठेक्का प्रक्रियामा रहेको छ । 

यो वर्ष बेत्रावती देखि धुन्चेसम्मको ४ किलोमिटर अप्ठ्यारो सडक ढलान गरिने जनाइएको छ । त्यसैगरी सडक ढलान गर्ने, कालोपत्रे सडक मर्मत गर्ने, सडक ग्राभेल गर्ने, साइड ड्रेन मर्मत, टेवा पर्खाल लगाउने, खाल्डाखुल्टी पुर्ने लगायतका कार्य गरिने रिमालले बताए । 

बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेशी सडक चिनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक पनि हो । नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेशी सडक पनि रहेको छ । वर्षायाममा मैलुङ–स्याफ्रुबेशी सडक अबरुद्ध भई बन्द हुने हुँदा बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेशी सडकबाटै आवतजावत बढ्ने गरेको छ । बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेशी सडक भने बाह्रै महिना सञ्चालन हुन्छ ।